मकवानपुर, २६ भदौ - भ्रष्टाचारविरुद्धको नारासहित सडकमा उत्रिएको जेनजी आन्दोलन मंगलबार देशव्यापी रूपमा उग्ररुपमा प्रस्तुत भएपछि बागमती प्रदेशको राजधानी हेटौंडा विध्वंसको केन्द्रबिन्दु बन्न पुगेको छ । आन्दोलनकारीको आक्रमणबाट सरकारी मात्र होइन, निजी सम्पत्तिसमेत जलेर खरानी भएका छन् । प्रदेश राजधानी हेटौंडा हाल भग्नावशेषमा परिणत भएको दृश्यले स्थानीय बासिन्दा स्तब्ध छन् ।
एकैदिनमा भएको प्रदर्शनमा जेनजी पुस्ताले देशभरका दर्जनौं सरकारी संरचनामा आगजनी र तोडफोड गरे । हेटौंडामा मात्र अर्बौं रुपैयाँको संरचना ध्वस्त भएको जनाइएको छ । बागमती प्रदेशका १४ मध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, र संस्कृति तथा पर्यटन मन्त्रालयबाहेकका सबै मन्त्रालयका भवनहरू जलेर नष्ट भएका छन् । वन तथा वातावरण मन्त्रालयमा आंशिक क्षति पुगेको छ ।
यससँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा उपमहानगरपालिका कार्यालय, प्रदेशसभा भवन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, यातायात सेवा कार्यालय, आपतकालीन आपूर्ति केन्द्र, मालपोत कार्यालय, नापी कार्यालय, मकवानपुर जिल्ला अदालतदेखि वडा कार्यालयहरूसम्म जेनजी आन्दोलनकारीको आक्रमणमा परेका छन् । यस्ता व्यापक आगजनी र तोडफोडका कारण हेटौंडामा सरकारी सेवा प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पुराना पुस्ताका स्थानीयहरूका लागि यो दृश्य अकल्पनीय रहेको छ । धेरै राजनीतिक आन्दोलन देखेका उनीहरूले यति विध्वंसकारी स्वरूप कहिल्यै नदेखिएको अनुभव बाँडे । स्थानीय बेदनाथ हुमागाइँ भन्छन्, ‘यस्तो उग्र र नियन्त्रित नभएको प्रदर्शन हाम्रो पुस्ताले कहिल्यै देखेको थिएन ।’ अर्का स्थानीय राजु गौतमले भने, ‘भ्रष्टाचारविरुद्धको आन्दोलन आवश्यक थियो, तर यसरी जलाउने र तोडफोड गर्ने शैलीले विकृति निम्त्याउँछ ।’
उता, जेनजी आन्दोलनमा सहभागी युवाहरू भने सार्वजनिक सम्पत्तिमा आगजनी गर्नु आफ्नो उद्देश्य नरहेको बताउँछन् । जेनजी सदस्य गौरी शंकर पटेल भन्छन्, ‘हामी भ्रष्टाचारविरुद्धको आवाज लिएर सडकमा निस्केका थियौं, तर हाम्रो आन्दोलनमा राजनीतिक दलका केही घुसपैठीहरूले स्थिति बिगारे ।’