नेभिगेशन
विश्व

चिनियाँ बजारमा हुवावेले गति लिँदा एनभिडिया कमजोर

हङकङ (एपी)– विश्वको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रतिस्पर्धामा अमेरिका र चीनबीच हार्डवेयर तथा कम्प्युटिङ क्षमताको संघर्ष थप बढेको छ । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले लामो समयदेखि प्रभुत्व जमाएको चीनको एआई चिप बजारमा अहिले चिनियाँ कम्पनी हुवावेले आफ्नो स्थान बनाउँदै गएको छ ।
एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ चीन भ्रमणका क्रममा बेइजिङको सडकमा स्थानीय परिकार ‘झाजियाङम्यान’ खान जाँदा सर्वसाधारणको ठूलो भीडले घेरेको थियो । तर चीनमा उनको लोकप्रियताले कम्पनीको अत्याधुनिक एआई चिप बिक्रीमा भने अपेक्षित सफलता दिलाउन सकेको छैन ।
अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै उन्नत प्रविधियुक्त चिप चीन निर्यातमा लगाएको प्रतिबन्धका कारण एनभिडियाको अत्याधुनिक एच–२०० चिपको बिक्री प्रभावित भएको थियो । पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही छुट दिएर बिक्रीको बाटो खुला गरे पनि त्यतिबेलासम्म चीनले स्वदेशमै विकास गरिएका चिप प्रयोगलाई प्राथमिकता दिन थालेको थियो ।
हुआङले समेत चीनको एआई चिप बजारमा अमेरिकाले आफ्नो अग्रता गुमाउँदै गएको स्वीकार गरेका छन् । उनका अनुसार कुनै समय एनभिडियाको चीनमा करिब ९५ प्रतिशत बजार हिस्सा थियो । तर निर्यात नियन्त्रणपछि चिनियाँ प्रतिस्पर्धी कम्पनीहरू निकै बलिया बनेका छन् ।
सन् २०१९ मा अमेरिकाले हुवावेलाई अत्याधुनिक चिप र चिप निर्माण उपकरण खरिदमा प्रतिबन्ध लगाएपछि चीनले आफ्नै सेमिकन्डक्टर उद्योग विकासमा जोड दिएको थियो । त्यसपछि चिनियाँ कम्पनीहरूले घरेलु प्रविधिमा आधारित चिप निर्माण र अनुसन्धानलाई तीव्र बनाएका छन् ।

अमेरिकामा एनभिडिया र एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) एआई चिप बजारका प्रमुख कम्पनी भए पनि चीनमा हुवावेले उल्लेख्य प्रगति गरेको छ । चिनियाँ एआई कम्पनीहरू, विशेषगरी डीपसिकजस्ता संस्थाहरूले कम लागतमा उच्च क्षमताका एआई प्रणाली विकास गर्ने प्रयास गरिरहेका बेला हुवावेका चिपको माग बढेको हो ।
अनुसन्धान संस्था बर्नस्टिनको अनुमानअनुसार सन् २०२५ मा चीनको एआई चिप बजारमा एनभिडिया र हुवावेको हिस्सा करिब बराबर अर्थात् ४० प्रतिशत आसपास थियो । तर आगामी समय एनभिडियाको बजार हिस्सा घटेर करिब ८ प्रतिशतसम्म पुग्न सक्ने र हुवावेको हिस्सा ५० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिएको छ ।
सेमिकन्डक्टर क्षेत्रका विश्लेषकहरूले हुवावेले घरेलु बजारमा एनभिडियालाई पछाडि पार्न थालेको बताएका छन् । हुवावेका सबैभन्दा उन्नत व्यावसायिक एआई चिप ‘एससेन्ड ९५० सिरिज’ केही क्षमतामा एनभिडियाको शक्तिशाली एच–२०० चिपसँग तुलना गर्न सकिने बताइएको छ ।
तर विश्वको सेमिकन्डक्टर आपूर्ति शृंखला अझै अन्तर्राष्ट्रिय भएकाले कुनै पनि देशले एक्लै अत्याधुनिक एआई चिप उत्पादन गर्न नसक्ने विज्ञहरूको भनाइ छ । चीनमा एआई चिपको माग अझै आपूर्तिभन्दा बढी रहेको र एनभिडियाका चिपको आवश्यकता कायमै रहेको विश्लेषकहरूले बताएका छन् ।
एनभिडियाका अत्याधुनिक चिप बनाउन नेदरल्यान्ड्सको एएसएमएल कम्पनीले उत्पादन गर्ने विशेष उपकरण र ताइवानको टीएसएमसीजस्ता कम्पनीको उत्पादन क्षमतामा निर्भर रहनुपर्छ । चीनलाई यी अत्याधुनिक उपकरण तथा केही उच्च क्षमताका चिप खरिदमा प्रतिबन्ध छ ।

हुवावेले प्रगति गरे पनि एनभिडियाको प्रविधि अझै धेरै क्षेत्रमा अगाडि रहेको बताइएको छ । डीपसिकजस्ता एआई मोडलको प्रशिक्षणमा अझै एनभिडियाका चिप प्रयोग भइरहेको छ । चिनियाँ विश्वविद्यालय र ठूला प्रविधि कम्पनीहरूले समेत उच्च क्षमताका एनभिडिया चिपमा रुचि देखाइरहेका छन् ।
यसैबीच, चीनको एआई क्षेत्रमा हुवावे र डीपसिकबीच सहकार्य बढ्दै गएको संकेत देखिएको छ । डीपसिकले आफ्नो नयाँ एआई मोडल हुवावेका एससेन्ड चिपका लागि अनुकूल बनाइएको जनाएको छ । यसले भविष्यमा चिनियाँ चिपले एनभिडियाको विकल्प बन्न सक्ने सम्भावना देखाएको विश्लेषकहरूको भनाइ छ ।
एनभिडियाले चीनका लागि अमेरिकी प्रतिबन्धअनुसार कम क्षमताका एच–२० चिप विकास गरेर बिक्री गरेको थियो । तर पछिल्लो समय यसको बिक्री पनि घट्दै गएको बताइएको छ । एनभिडियाले चीनमा एच–२०० चिप बिक्रीबाट अहिलेसम्म आम्दानी नभएको र आयात अनुमति पाउने विषय अनिश्चित रहेको जनाएको छ ।
हुवावेले दूरसञ्चार उपकरण क्षेत्रमा विश्वव्यापी प्रभाव कायम गरिसकेको छ र अब चिप बजारमा पनि विस्तार गर्ने लक्ष्य राखेको छ । चीनको घरेलु उत्पादन क्षमता अझै मागअनुसार पर्याप्त नभए पनि उत्पादन बढ्दै गए र मूल्य प्रतिस्पर्धी बनेमा दक्षिणपूर्वी एसियालगायत क्षेत्रमा चिनियाँ चिपको बजार विस्तार हुन सक्ने अनुमान गरिएको छ ।
चीनको प्रविधि आत्मनिर्भर बनाउने रणनीति एनभिडियाले चीनमा चिप बिक्री गर्न पाउँछ वा पाउँदैन भन्ने विषयले मात्र परिवर्तन नहुने विश्लेषकहरूको निष्कर्ष छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्