नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

संवादहीनताले कांग्रेस विभाजनको डिलमा

नेपालको राजनीतिक क्षेत्रमा सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी नेपाली कांग्रेस यतिबेला गम्भीर आन्तरिक संकटबाट गुज्रिरहेको छ । पटक–पटक सत्ताको नेतृत्व र भागबण्डा गरेर आफ्नो राजनीतिक अस्तित्व जोगाएको कांग्रेस यसपटक संसद्मा झिनो सदस्य लिएर कमजोर प्रतिपक्षको भूमिकामा खुम्चिएको छ । प्रजातन्त्रिक ठूलो र इतिहास बोकेको पार्टीभित्र नीति, विचार र सिद्धान्तको बहस हुनुपर्ने तर पार्टीभित्र व्यक्तिगत टकराव, गुटगत स्वार्थले संस्थापन पक्ष र इतर पक्षबीच संवादहीनताको अवस्था रहेको छ ।  
आन्तरिक विवाद र शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला संस्थापन पक्ष र संस्थापनइतर समूहबीच संवादहीनताको अवस्थाले पार्टी विभाजनको डिलमा उभिएको हो । संस्थापन पक्ष इतर पक्षको मागमा पेलेरै जाने मुडमा देखिएपछि पार्टीभित्रको दूरी झन् बढेको हो ।
क्रियाशील सदस्यता अद्यावधिकको विषयमा संस्थापन पक्ष लचक हुने इतर पक्षको अनुमान रहे पनि सभापति गगन थापाको नेतृत्व पक्ष थप कडा रूपमा उत्रिएको देखिएका छ । पार्टीको सांगठनिक सुदृढीकरण र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर सभापति थापाले कडा अडान सार्वजनिक गरेका छन् । विधान कार्यान्वयन र डिजिटल प्रणालीलाई प्राथमिकता दिँदै थापाले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने कसैलाई पनि पार्टीले नचिन्ने बताएका छन् । पार्टीभित्र बढ्दो संवादहीनता र सभापति थापाको चेतावनीपछि कांग्रेसभित्र इतर पक्ष थप बिच्किएको छ । 
अहिले इतर पक्षमा पूर्वसभापति देउवाका तर्फबाट पूर्णबहादुर खड्का र नेता शेखर कोइराला समूह एक ठाउँमा आइपुगेका छन् । उनीहरूले आफूहरू एक ठाउँमा रहेको सन्देश दिन केही दिनअघि कोशी प्रदेशमा अलग्गै भेलासमेत आयोजना गरेका थिए । 
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र संस्थापन पक्षको नेतृत्व गरिरहेका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षबीच बढ्दै गएको दूरीले अन्ततः पार्टीलाई पुनः एकपटक विभाजनको संघारमा पु¥याउने खतरा बढाएको हो । संसद्को दोस्रो ठूलो दल र लोकतन्त्रको पहरेदार दाबी गर्ने पार्टीभित्र आन्तरिक लोकतन्त्र नै संकटमा पर्नु विडम्बनापूर्ण छ । पार्टीभित्र मतभेद हुनु सामान्य राजनीतिक प्रक्रिया हो । तर, ती मतभेदहरूलाई सुन्ने, छलफल गर्ने र साझा निष्कर्षमा पुग्ने थलो केन्द्रीय समिति वा कार्यसम्पादन समिति बैठकहरू हुन् । 
तर, विशेष महाधिवेशनका निर्णयहरूको कार्यान्वयन, भ्रातृ संस्थाहरूको तदर्थ समिति गठन र आगामी महाधिवेशनको कार्यदिशाका सवालमा संस्थापन पक्ष भटाभट निर्णय गरेर अघि बढेको छ । नेविसंघ, तरुण दल र महिला संघमा सभापति थापाले आफू निकटलाई मनोनीत गरिसकेका छन् । 
एउटै दलका नेताहरू सञ्चारमाध्यम र सार्वजनिक मञ्चहरूबाट एकअर्काविरुद्ध आलोचना–प्रत्यालोचनामा उत्रिएका छन् । नेता खड्काले सभापति थापा सिंगो पार्टीको नभई सानेपाको मात्र सभापति बनेको आरोप लगाउँदै पार्टी विभाजनको डिलमा पुगेको चेतावनीसमेत दिएका छन् । लामो समयसम्म कुनै संवाद नै नभएको भन्दै नेताहरूले सामाजिक सञ्जालमार्फत अविश्वास पोखिरहेका छन् । यो संवादहीनता केवल नेताहरूबीचको अहंको लडाइँमात्र होइन, यसले लाखौं कार्यकर्तामा चरम निराशा पैदा गरेको छ । 
विगतमा नेपाली कांग्रेस जब–जब आन्तरिक संवादबाट चुक्यो, तब–तब विभाजनको पीडा भोग्न बाध्य भयो । विभाजनले पार्टीलाई मात्र होइन, समग्र देशको लोकतान्त्रिक आन्दोलन र राजनीतिक स्थिरतालाई नै कमजोर बनाउँछ । तर, अहिलेको नेतृत्वले विगतको इतिहासबाट पाठ सिकेको देखिँदैन । क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषय, विशेष महाधिवेशनको समीक्षा र सांगठनिक अवसरको न्यायोचित वितरण नहुनुले पार्टीभित्र असन्तोष बढाएको छ । संस्थापन र इतर पक्षले सधैं आ–आफ्नो अडान र आक्रामक रणनीतिमात्र लिने हो भने पार्टी विभाजन हुने निश्चित छ । तर, इतर पक्षका नेताहरू संस्थापन पक्षको क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णयमा सुरुदेखि नै असहमत छन् । उनीहरूले यसअघि गरिएको क्रियाशील नवीकरणलाई नै मान्यता दिनुपर्ने बताउँदै आएका छन् ।
नेपाली कांग्रेस संसद्को दोस्रो ठूलो दलका रूपमा रहे पनि यसको आन्तरिक कलहले देशको समग्र राजनीतिलाई प्रभावित बनाएको छ । बलियो राजनीतिक शक्तिका रूपमा कांग्रेसको भूमिका संकुचित हुँदा राजनीतिक अस्थिरता बढ्ने, वैदेशिक हस्तक्षेप निम्तिने र विधिको शासन कमजोर हुने खतरा उत्तिकै छ । पार्टीभित्रका युवा तथा जिम्मेवार नेताहरूले समेत यस संवादहीनताको पर्खाल भत्काउन ठोस पहल गर्न सकेका छैनन्, जुन झन् चिन्ताको विषय हो । अतः संसद्मा आफ्नो प्रभाव बलियो बनाइराख्न र आउँदा चुनौतीहरूको सामना गर्न पनि कांग्रेसभित्र आन्तरिक एकता अनिवार्य शर्त हो । यसैमा पार्टी र समग्र देशको उज्ज्वल भविष्य रेखा कोरिनेछ । जेनजी आन्दोलन पछि जनस्तरबाट पनि पुराना दलहरू प्रति नागरिकले अविश्वास गरेको देखिन्छ । गत आम निर्वाचनको जनमतबाट पुराना दल नेपाली काग्रेसले जेनजी विद्रोहको पाठ सिकेर पार्टीलाई पुरानै सोच र मानसिकताभन्दा माथि उठेर जनस्तरमा बलियो संगठनका रूपमा उभ्याउन सक्नुपर्छ । आजको जनमत र अवस्थालाई बुझेर गुटगत स्वार्थ र समूहको हितमा भन्दा पनि बदलिएको समय र नयाँ अवस्थालाई कांग्रेसले बुझ्न सकेन भने पुराना दलहरूको अस्तित्व संकटमा पर्न सक्ने देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्