नेभिगेशन
खेलकुद

राष्ट्रिय क्रिकेट टोलीका लागि आयो नयाँ जर्सी  

काठमाडौं, २५ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी आइतबार सार्वजनिक गरिएको छ । यसपटक टोलीको जर्सीलाई आगामी एक वर्षका लागि नासा सेक्युरिटिजले प्रायोजन गरेको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जर्सी अनावरण गरेका हुन् ।

कार्यक्रममा क्यानका अध्यक्ष चन्द र नासा सेक्युरिटीजका निर्देशक मदन पौडेलबीच जर्सी प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । यसअघि नेपाली टोलीको जर्सी प्रायोजकमा स्पोट्र्स ब्रान्ड केल्मी थियो । नयाँ जर्सीमा क्यान र नासा सेक्युरिटीज दुवैको लोगो राखिएको छ ।

टप एन्ड टी–२० सिरिजका लागि बिदाइ 

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अस्ट्रेलियामा अगस्ट १४–२४ हुने टप एन्ड टी–२० सिरिजका लागि औपचारिक बिदाइ गरिएको छ । कार्यक्रमकै क्रममा बिदाइ गरिएको हो । क्यानले यसअघि नै रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

अस्ट्रेलियाको नर्दन टेरिटरीमा हुने यस सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । नेपालले पहिलो खेल अगस्ट १५ मा स्ट्राइकविरुद्ध खेल्दै अभियान सुरु गर्नेछ । टप एन्ड टी–२० सिरिजमा अस्ट्रेलियाका घरेलु टिमसँगै विभिन्न देशका राष्ट्रिय टोली र क्लब टोलीहरू सहभागी हुने गरेका छन् ।

यो सिरिजलाई नेपालले आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताको तयारीको रूपमा लिएको छ । यसअघि नेपालले घरेलु मैदानमा भएका केही अन्तर्राष्ट्रिय खेलमार्फत तयारी अघि बढाएको भए पनि अस्ट्रेलियाको यो टुर्नामेन्टलाई महत्वपूर्ण अभ्यासको अवसरका रूपमा हेरिएको छ ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले सिरिजमा सम्भावित सबै खेलाडीलाई अवसर दिने र टोलीको सन्तुलन परीक्षण गर्ने योजना रहेको बताएका छन् । प्रशिक्षक मोन्टी देसाईले पनि विदेशी कन्डिसनमा खेल्ने अनुभव टोलीको मानसिक र प्राविधिक दुवै पक्षमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्