नेभिगेशन
विश्व

बेलायती भावी प्रधानमन्त्री एन्डी बर्नह्यामको आर्थिक एजेन्डा के ?

लन्डन, (एएफपी) । बेलायतका आगामी प्रधानमन्त्रीका मुख्य उम्मेदवार एन्डी बर्नह्यामले सोमबार आफ्नो आर्थिक एजेन्डा सार्वजनिक गर्ने योजना बनाएका छन् । केही साता पहिले प्रधानमन्त्री केइर स्टार्मरले राजीनामा दिएपछि उनको यो पहिलो प्रमुख नीतिगत घोषणा हुनेछ । बर्नह्याम हाल स्टार्मरको स्थान लिनका लागि एकमात्र उम्मेदवार हुन् । यदि कुनै प्रतिद्वन्द्वी उम्मेदवार दर्ता नभएमा ग्रेटर म्यान्चेस्टरका पूर्व मेयर बर्नह्याम मध्य जुलाईमा नै प्रधानमन्त्री बन्न सक्नेछन् ।
यो महिना सांसद बन्ने अभियानका क्रममा बर्नह्यामले विशेष गरी सत्तारूढ लेबर पार्टीको नीतिलाई ‘लेफ्ट’ (वामपन्थी) तर्फ लैजाने कि नलैजाने भन्ने आफ्नो आर्थिक एजेन्डाबारे अस्पष्ट रहेको देखिएको थियो । तर सोमबार म्यान्चेस्टरस्थित आफ्नो गढमा रहेको एउटा संग्रहालयमा दिएको विशेष भाषणमा उनले आफ्नो आर्थिक नीति विस्तृत रूपमा प्रस्तुत गरेका छन् । उनले वेस्टमिन्स्टरबाट एक दशक टाढा रहेर पनि आफू देशको सरकार चलाउन पूर्ण रूपमा तयार रहेको प्रमाणित गर्ने प्रयास गरेका छन् ।
व्यवसायमैत्री समाजवादी र लेबर पार्टीको ‘सफ्ट लेफ्ट’ को प्रतिनिधित्व गर्ने मानिने बर्नह्यामले सरकारको हालको ऋण सीमालाई कायम राख्ने प्रतिबद्धता जनाएर बजारलाई आश्वस्त पार्न खोजेका छन् । मन्त्री स्टिभ रिडले आइतबार स्काई न्यूजलाई बताएअनुसार केही नीतिहरूमा ‘छलफल’ हुन सक्छन् तर बर्नह्याम दुई वर्षअघि स्टार्मरलाई ठूलो बहुमत दिलाउने घोषणापत्रप्रति पूर्ण रूपमा ‘प्रतिबद्ध’ छन् ।
मेयरको रूपमा र अहिले प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारको रूपमा बर्नह्यामको मुख्य नारा विगतदेखि नै अधिकार हस्तान्तरण अर्थात् विकेन्द्रीकरण रहँदै आएको छ । उनले यातायातदेखि आवाससम्मका विषयमा स्थानीय सरकारहरूलाई निर्णय गर्ने अधिकार दिने वकालत गर्दै आएका छन् । बर्नह्यामको सूचना तथा जनसम्पर्क कार्यालयले उनको सम्बोधनको मुख्य प्रस्ताव ह्वाइटहलबाट आधुनिक समयको सबैभन्दा ठूलो शक्ति हस्तान्तरण गर्नु रहेको बताएको छ । ह्वाइटहल भनेको लन्डनको त्यो क्षेत्र हो जहाँ सरकारका मुख्य मन्त्रालयहरू केन्द्रित छन् र निर्णय प्रक्रियालाई त्यहाँबाट हटाएर क्षेत्रीय तथा स्थानीय समुदायमा लैजाने प्रस्ताव बर्नह्यामको रहेको छ ।
यसै क्रममा बर्नह्यामले ‘नम्बर टेन नर्थ’ को स्थापना प्रस्ताव गरेका छन् । यो बेलायती प्रधानमन्त्रीको कार्यालय रहने ठेगाना ‘टेन डाउनिङ स्ट्रीट’ लाई सामान्य परिवर्तन गर्दै बनाइएको नयाँ शब्द हो । यसको मुख्य लक्ष्य केन्द्रीकृत र माथिबाट निर्देशित मोडेललाई स्थानीय रूपमा सञ्चालित आर्थिक विकासले प्रतिस्थापन गर्नु हो । बर्नह्यामकी सहयोगी तथा लेबर पार्टीकी उपनेता लुसी पावेलले आइतबार बीबीसीसँग कुरा गर्दै बर्नह्यामले बेलायतका हरेक भागका समुदायले आफ्नै एजेन्डा अघि बढाउन सक्नेगरी पूरै देशभरि यो सुधार चाहेको उल्लेख गरेकी थिइन् ।
‘म्यान्चेस्टरवाद’ शब्दको प्रयोग गर्दै बर्नह्यामले यसलाई व्यवसायमैत्री समाजवादको रूपमा परिभाषित गरेका छन् । उनी ठूला फर्म वा कम्पनी र व्यवसायीहरूलाई कर छुट र अन्य आर्थिक सुविधा दिएर अर्थतन्त्रलाई चलायमान बनाउने पुरानो सिद्धान्त र नवउदारवादको कडा विरोधमा उत्रिएका छन् । देशको गरिब उत्तर क्षेत्रमा बढी स्रोत र लगानी आकर्षित गर्नका लागि बर्नह्यामले केही महत्त्वपूर्ण सरकारी कार्यालयहरूलाई नै म्यान्चेस्टर सार्ने चाहना राखेको फाइनान्सियल टाइम्स र बेलायतका अन्य सञ्चारमाध्यमले जनाएका छन् । उनको स्पष्ट आर्थिक योजनाहरूमा यातायात, पानी र ऊर्जाजस्ता जनताका अत्यावश्यक सेवाहरूमा ‘सार्वजनिक वा जनताको नियन्त्रण’ बढाउने रणनीति सामेल छ ।
राजनीतिक अभियानका क्रममा बर्नह्यामले आफूलाई साना व्यवसायको पक्षमा उभ्याएका छन् र साङ्गीतिक कार्यक्रमस्थलका लागि व्यवसाय दर घटाउनेसम्मका प्रस्ताव गरेका छन् । स्टार्मरले राजीनामा दिएपछि बेलायती सञ्चारमाध्यम र व्यवसायिक क्षेत्रमा बर्नह्यामले कसलाई नयाँ अर्थमन्त्री (कान्सलर) बनाउछन् भन्ने ठूलो अनुमान र चर्चा चलेको छ । यो निर्णयले उनको आगामी सरकार कति बायाँपट्टि झुकाव राख्ने र राष्ट्रियतावादी हुन्छ भन्ने कुराको निर्धारण गर्नेछ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो बहसमा टिप्पणी गर्दै बर्नह्यामलाई ‘अत्यन्त उदारवादी’ राजनीतिज्ञ भनेका छन् । बर्नह्यामको नीति हेर्दा उनले ‘नर्थ सी’ लाई तेल र ग्यास ड्रिलिङका लागि सहजै ‘खुला’ गर्न नदिने सम्भावना बलियो देखिएको छ, जसका कारण अन्तर्राष्ट्रिय बजार र पर्यावरण वृत्तमा पनि उनको यो घोषणालाई निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्