नेभिगेशन
विश्व

सूर्यास्त हेर्नु स्वास्थ्यका लागि किन राम्रो ?

हामीमध्ये धेरैका लागि सूर्यास्त सुन्दर दृश्य मात्र हो । तर अनुसन्धानहरूले देखाएका छन् कि सूर्यास्त र सूर्योदय हेर्नु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि निकै लाभदायी हुन सक्छ । यसले तनाव, चिन्ता र निराशा कम गर्न, स्मरणशक्ति सुधार्न, राम्रो निद्रा ल्याउन र अरूप्रति सहयोगी भावना बढाउन मद्दत गर्छ । 
आफ्नो विवाहअघिको साँझ मैले अमेरिकाको केप कोडमा परिवारसँग बसेर हेरेको आकर्षक सूर्यास्त सम्झिन्छिन् । त्यो अनुभवले विवाहको तयारीका सबै चिन्ता केही समयका लागि हराएजस्तो महसुस गराएको थियो । वैज्ञानिकहरूका अनुसार यस्तो अनुभूति केवल भावनात्मक मात्र होइन, त्यसका पछाडि जैविक र मनोवैज्ञानिक कारण पनि छन् । 
‘विस्मय’ को प्रभाव
सूर्यास्तले मानिसमा ‘विस्मय’ (एव) पैदा गर्छ । यो यस्तो भावना हो, जुन कुनै विशाल, सुन्दर वा गहिरो अनुभव देख्दा उत्पन्न हुन्छ । अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटीकी सामाजिक मनोविज्ञानकी प्राध्यापक मिसेल सियोटाका अनुसार यस्तो अनुभूतिले आफ्ना व्यक्तिगत समस्या संसारको विशाल परिप्रेक्ष्यमा साना लाग्न थाल्छन् । यसले अत्यधिक चिन्ता र नकारात्मक सोचको चक्र तोड्न मद्दत गर्छ । 
अनुसन्धानले यस्तो अनुभव भएका मानिसहरूमा अरूलाई सहयोग गर्ने, स्वयंसेवा गर्ने र जीवनको उद्देश्यबोध बढ्ने देखाएको छ । अधिकांश मानिसका लागि प्रकृति नै विस्मयको सबैभन्दा ठूलो स्रोत हो, र सूर्यास्त तथा सूर्योदय त्यसका उत्कृष्ट उदाहरण हुन् । सन् २०२३ मा २,५०० भन्दा बढी सहभागीमाथि गरिएको अध्ययनले पनि प्राकृतिक दृश्यमध्ये सूर्यास्तले सबैभन्दा बढी विस्मय जगाउने देखाएको थियो । 
स्मरणशक्ति र मानसिक स्वास्थ्यमा लाभ
विस्मयको अनुभूतिले मस्तिष्कलाई बढी एकाग्र बनाउँछ । एउटा प्रयोगमा विस्मय जगाउने विज्ञानसम्बन्धी चलचित्र हेरेका सहभागीहरूले त्यसपछि सुनाइएको कथाका विवरण अरूभन्दा धेरै सही रूपमा सम्झिएका थिए । वैज्ञानिकहरूका अनुसार यस्तो अनुभवले ध्यान केन्द्रित गराउने भएकाले जानकारी राम्रोसँग स्मरण रहन सक्छ । 
नियमित रूपमा यस्तो अनुभूति गर्ने मानिसहरूमा तनाव कम हुने पनि अध्ययनहरूले देखाएका छन् । कोभिड–१९ महामारीका बेला गरिएको अनुसन्धानमा विस्मय अनुभव गर्ने मानिसहरूले तीव्र र दीर्घकालीन तनाव कम महसुस गरेका थिए । अर्को अध्ययनमा वृद्धवृद्धालाई आठ हप्तासम्म हरेक साता छोटो प्रकृति भ्रमणमा जाँदा विस्मय जगाउने दृश्य खोज्न लगाइयो । त्यसपछि उनीहरू वातावरणप्रति बढी सचेत, सकारात्मक र खुसी देखिए । 
शरीरलाई पनि फाइदा
अनुसन्धानले नियमित रूपमा आनन्द र विस्मय अनुभव गर्ने मानिसहरूको शरीरमा इन्फ्लेमेशनसँग सम्बन्धित ‘साइटोकाइन’को मात्रा कम हुने देखाएको छ । यी पदार्थ धेरै हुँदा मधुमेह, मुटुरोग र डिप्रेसनको जोखिम बढ्न सक्छ । वैज्ञानिकहरूका अनुसार विस्मयले तनाव घटाउने र सामाजिक सम्बन्धको भावना बलियो बनाउने भएकाले यस्तो प्रभाव देखिएको हुन सक्छ । 
यस्तै, एउटा अध्ययनमा विशाल रुख हेरेर विस्मित भएका विद्यार्थीहरूले प्रयोगका क्रममा भुइँमा खसेका कलम टिप्न अरूभन्दा बढी सहयोग गरेका थिए । यसले विस्मयले मानिसलाई अझ दयालु र सहयोगी बनाउन सक्ने संकेत गर्छ । 
राम्रो निद्राका लागि पनि उपयोगी
सूर्यको उदयदेखि अस्तसम्मको प्राकृतिक प्रकाशले हाम्रो ‘सर्केडियन रिदम’ अर्थात् २४ घण्टे जैविक घडीलाई व्यवस्थित राख्छ । यसले मस्तिष्कलाई सही समयमा मेलाटोनिन उत्पादन गर्न संकेत दिन्छ, जसले राम्रो निद्रामा सहयोग पु¥याउँछ । 
सूर्योदयले शरीरलाई सक्रिय बनाउने कोर्टिसोल र सेरोटोनिनको उत्पादन बढाउँछ भने सूर्यास्तको राताम्य र सुनौलो प्रकाशले स्नायु प्रणालीलाई शान्त बनाउँदै कोर्टिसोल घटाउँछ । यसको विपरीत राति मोबाइल, कम्प्युटर वा अन्य स्क्रिनबाट आउने नीलो कृत्रिम प्रकाशले शरीरको प्राकृतिक घडी बिगार्न सक्छ । यसले निद्रा कमजोर हुने, चिन्ता, डिप्रेसन, स्मरणशक्ति कमजोर हुने र मुटुसम्बन्धी समस्या बढ्न सक्ने जोखिम हुन्छ । 
वैज्ञानिकहरूले मानिसको शरीर सूर्योदय र सूर्यास्त दुवै अनुभव गर्ने गरी विकसित भएको हुन सक्ने अनुमान गरेका छन् । यदि दुवै हेर्न सम्भव नभए पनि सन् २०२४ को एक अध्ययनले सूर्यास्त र सूर्योदयजस्तै प्रकाश दिने विशेष एलईडी बत्तीले पनि जैविक घडीलाई व्यवस्थित राख्न सहयोग गर्न सक्ने देखाएको छ । 
लेखिकाले अन्त्यमा आफ्नो विवाहलाई १० वर्ष पुग्न लागेको बताउँदै आफू र श्रीमान् सकेसम्म हरेक सूर्यास्त सँगै हेर्ने गरेको उल्लेख गरेकी छन् । अनुसन्धानका आधारमा हेर्दा, ती सूर्यास्तहरूले उनीहरूको मन र शरीरलाई आफूले सोचेभन्दा धेरै फाइदा पु¥याइरहेका हुन सक्छन् । बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्