नेभिगेशन
प्रदेश

मङ्गलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७ मङ्गलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा आएको छ । 
    जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कास्कीले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गरेको हो । मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको आयोजनाका इञ्जिनियर नरजङ गुुरुङले बताए । 
    उनका अनुसार नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसिसी र माथिल्लो भागमा तीन मिटर अग्लो ग्यावियन पर्खाल निर्माण भएको छ । योजना निर्माणका लागि निर्माण कम्पनीसँग २०८२ फागुुन १० गते रु. ९९ लाख १९ हजार २९५ मा ठेक्का सम्झौता भएको थियो । 
    यही असार १९ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेकोमा लक्ष्य अघि नै सम्पन्न भएको हो ।  इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद उपकरण र मजदुुर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर समयमै योजना निर्माण गरेको व्यवसायीले बताएका छन् । 
    यसअघि मंगलाघाटमा आयोजना मार्फत विभिन्न चरणमा ५०० मिटरभन्दा बढी लामो पर्खाल निर्माण भइसकेको छ । बेनी बजारको पश्चिमी भागमा रहेको मङ्गलाघाटमा २०० भन्दा बढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन् । 
    आयोजनाले बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न विगतदेखि नै आयोजना सञ्चालन भएको छ । बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । 
    योजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटान र पहिरोको जोखिममा रहेका म्याग्दी, मुुस्ताङ र पर्वतका १७ स्थानमा सालबसाली योजनाहरु निर्माण सम्पन्न हुने चरणमा रहेका बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्