नेभिगेशन
अर्थतन्त्र

पेट्रोल २० र डिजल ३० रुपैयाँ सस्तियो

काठमाडौं । विश्वबजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य बुधबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २० र डिजल, मट्टितेल ३०÷३० रुपैयाँ घटाएको छ ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य घटेर आएकाले आन्तरिक बजारमा पनि मूल्य घटाइएको हो । 
नयाँ निर्णय अनुसार हवाई इन्धनमा पनि आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ घटाइएको छ । यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर १०० रुपैयाँ कटौती गरिएको छ । 
हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर २६५ घटाइएको छ भने पोखरा र भैरहवाको हकमा भने ब्रेकइभन पोइन्ट अर्थात् नाफा–नोक्सानरहित विन्दुमा बिक्री मूल्य कायम गरिएको छ ।  मूल्य समायोजन भएसँगै काठमाडौं, पोखरा र दिपायल लगायतका तेस्रो वर्गका क्षेत्रमा अब पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १९७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ र डिजेल÷मट्टितेल प्रतिलिटर २२५ रुपैयाँमा बिक्री भइरहेको थियो । त्यस्तै, सुर्खेत र दाङ लगायतका दोस्रो वर्गका क्षेत्रमा पेट्रोल १९६ रुपैयाँ र डिजेल÷मट्टितेल १९४ रुपैयाँ पुगेको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगंज सहितका पहिलो वर्गका क्षेत्रमा भने पेट्रोल १९४ रुपैयाँ ५० पैसा र डिजेल÷मट्टितेल १९२ रुपैयाँ ५० पैसामा पाइनेछ ।  यसैगरी देशभर हवाई इन्धन आन्तरिकतर्फको नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि २६९ रुपैयाँ थियो । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रति किलोलिटर १५६६ अमेरिकी डलर कायम भएको छ । उपभोक्ताले अब खाना पकाउने एलपी ग्यास १४.२ केजीको प्रतिसिलिन्डर २०६० रुपैयाँ र ७.१ केजीको प्रति सिलिन्डर १०३० रुपैयाँमा खरिद गर्न सक्नेछन् । 
विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुन नसकेको भए पनि हाल अन्तर्राष्ट्रिय बजारमा सुधार आएकाले यो राहत प्रदान गरिएको निगमद्वारा जारी विज्ञप्तिमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्