नेभिगेशन
विश्व

अर्बौं डलरको वर्षा तर भान्सासम्म राहत पुग्न अझै प्रतीक्षा

दुबई, (एजेन्सी) । अमेरिकाले हर्मुज जलडमरुमध्यमा जहाजहरूको निर्बाध आवागमन सुनिश्चित गर्न इरानसँग गरेको सहमतिले तेहरान सरकारलाई छोटो अवधिमै ठूलो आर्थिक राहत दिने अपेक्षा गरिएको छ । तर सामान्य इरानी नागरिकले त्यसको प्रत्यक्ष लाभ महसुस गर्न अझै धेरै समय कुर्नुपर्ने देखिएको छ ।
गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानलाई तेल बेच्न र त्यसबापत अमेरिकी डलरमा भुक्तानी लिन छुट दिएपछि युद्ध र वर्षौंदेखिको कडा प्रतिबन्धले थलिएको अर्थतन्त्रमा अर्बौं डलर विदेशी मुद्रा भित्रिने बाटो खुलेको छ ।
हालैका सैन्य तनावका बाबजुद इरानको तेल निर्यात बढ्न थालेको ट्यांकर निगरानी गर्ने संस्थाहरूले बताएका छन् । केही विश्लेषकका अनुसार आगामी दुई महिनामै तेल बिक्रीबाट मात्रै इरानले ८ देखि १० अर्ब डलरसम्म आम्दानी गर्न सक्छ । साथै अमेरिका र इरानले पछिल्लो सैन्य भिडन्त अन्त्य गरी फेरि वार्ता सुरु गर्ने सहमति गरेको संकेत पनि सकारात्मक मानिएको छ ।
तर तीव्र महँगी नियन्त्रण गर्ने, उपभोक्ता खर्च बढाउने र रोजगारी सिर्जना गर्ने काम तत्काल सम्भव छैन । त्यसका लागि शान्ति सम्झौताप्रतिको विश्वास कायम रहनुका साथै नयाँ आम्दानी सैन्य खर्च वा इरान समर्थित क्षेत्रीय सशस्त्र समूहमा खर्च नहुने सुनिश्चित हुनुपर्ने विश्लेषकहरूको भनाइ छ ।
युद्धले इरानलाई सयौं अर्ब डलर बराबरको पुनर्निर्माणको बोझ थपेको छ, जुन प्रारम्भिक तेल आम्दानीले धान्न सक्नेभन्दा धेरै ठूलो छ । त्यसैले सरकारी आम्दानी केही सातामै बढे पनि सर्वसाधारणको आर्थिक अवस्था सुधारिन महिना वा अझ बढी समय लाग्न सक्छ ।
युरेसिया ग्रुपका वरिष्ठ विश्लेषक ग्रेगरी ब्रुका अनुसार यो तेल बिक्रीबाट आउने रकम तत्कालका लागि ठूलो राहत भए पनि समग्र अर्थतन्त्रलाई पुनर्जीवित गर्न पर्याप्त छैन । उनका अनुसार उद्योग, पूर्वाधार र प्रमुख सहरहरूमा व्यापक क्षति भएकाले सरकारलाई दीर्घकालीन शान्तिको वातावरण सिर्जना गर्नुपर्ने चुनौती छ ।
युद्धका क्रममा एक अटो पाट्र्स आयातकर्ताले कर्मचारी कटौती गर्नुपरेको, ऋण तिर्न सामान बिक्री गर्नुपरेको र खर्च घटाउन बाध्य भएको बताए । अहिले अस्थायी शान्ति आए पनि अन्तिम सम्झौता नभएसम्म व्यावसायिक योजना बनाउन असम्भवजस्तै रहेको उनको भनाइ छ ।
युद्धअघि नै चर्को महँगी, कमजोर मुद्रा र अन्तर्राष्ट्रिय प्रतिबन्धले थलिएको इरानी अर्थतन्त्र युद्धपछि झन् संकटमा परेको छ । जुन महिनामा वार्षिक मुद्रास्फीति ८८.६ प्रतिशत पुगेको थियो । लाखौं मानिस बेरोजगार भएका छन् भने इन्टरनेट अवरोधका कारण अनलाइन व्यापारसमेत प्रभावित भएको छ ।
इरानी अधिकारीहरूले युद्धबाट २७० अर्ब डलर बराबरको क्षति भएको दाबी गरेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार करिब १ लाख ५० हजार नागरिक भवनमा क्षति पुगेको छ, जसमा तेहरानका ५१ हजार घर पनि छन् । ऊर्जा क्षेत्रमा मात्र मर्मतका लागि १९ अर्ब डलरसम्म खर्च लाग्न सक्ने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यस वर्ष इरानको अर्थतन्त्र ६.१ प्रतिशतले खुम्चिने र औसत मुद्रास्फीति करिब ७० प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
तेहरानमा रोटीको मूल्यसमेत झन्डै दोब्बर भएको छ । युद्धका कारण जागिर गुमाएकी २६ वर्षीया एक महिलाले खर्च कटौती गरेको बताउँदै अमेरिका–इरान सम्झौता टिक्नेमा आफूलाई विश्वास नरहेको र भविष्यको कुनै योजना बनाउन नसकिरहेको बताइन् ।
सन् २०१५ को आणविक सम्झौतापछि केही समयका लागि प्रतिबन्ध खुकुलो हुँदा इरानको अर्थतन्त्रमा सुधार देखिएको थियो । तर ट्रम्प प्रशासनले पछि उक्त सम्झौताबाट अमेरिका बाहिरिँदै पुनः प्रतिबन्ध लगाएपछि त्यो सुधार टिक्न सकेन । त्यसैले अहिले पनि धेरै इरानीहरू नयाँ राहत अस्थायी मात्रै हुने र त्यसको फाइदा सर्वसाधारणभन्दा सरकार र उसका सहयोगी समूहले बढी उठाउने आशंकामा छन् ।

इरानद्वारा आगामी प्रत्यक्ष वार्ता अस्वीकार
इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने पुष्टि गर्दै इरानी प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने जनाइएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तेहरानले नयाँ राजनीतिक वार्ता सुरु गर्नुको सट्टा विद्यमान एमओयूको प्राविधिक कार्यान्वयनलाई कडाइका साथ प्राथमिकता दिएको स्पष्ट पारेको जनाएको छ । 
इरान सम्झौता कार्यन्वयनमा प्रतिवद्ध रहको विषयमा जोड दिदै बाघाईले इरानको एक विशेषज्ञ प्रतिनिधिमण्डल यस हप्ता कतारको दोहामा पठाइने घोषणा गरेका छन् । 
सम्झौता अनुरूप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै, बाघाईले इरानले सम्झौताको अनुच्छेद–११ मा ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताएका छन् । जसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रण गर्दछ ।
अमेरिकी प्रतिनिधिहरूद्वारा कतारको भ्रमण इरानी प्रतिनिधिमण्डलको कार्यभारसँग पूर्ण रूपमा ‘असम्बन्धित’ भएको भन्दै बाघाईले यो समयमा थप कूटनीतिक कार्यक्रमहरू गर्ने बारे भएको अनुमानलाई अस्वीकार गर्नु भएको छ ।
अन्तिम सम्झौतामा वार्ताको सम्भावित सक्रियताको बारेमा सोधिएको प्रश्नमा बाघाईले प्रक्रिया अझै सुरु नभएको उल्लेख गर्दै अहिलेसम्म अन्तिम सम्झौताका लागि वार्ताको चरणमा प्रवेश नगरेको बताउनु भएको छ । 
उनले सहमति अन्तर्गत अन्तिम सम्झौताका लागि औपचारिक वार्ता गर्दा विशेष गरी धारा १,४,५,१० र ११ को सफल पहल र दिगो कार्यान्वयन आवश्यक रहेको कुरामा जोड दिएका छन् । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कतारको दोहामा मंगलबार इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने घोषणा गरेपछि अमेरिकी विशेष दूत स्टिभ विटकोफ कतारको दोहा जाँदै गर्दा उनको यस्तो टिप्पणी आएको हो ।
दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले विटकोफ हाल कतारको राजधानीको यात्रामा रहेको बताएको छ । 
यसैबीच, इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले जवाफ दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मुर्त रुप दिने बताएका छन् । 
सोमबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पेजेस्कियनले आपसी समझदारी दुईतर्फी मार्ग दर्शन भएको बताउँदै यदि अमेरिकी पक्षले सम्झौताको पालना गरे पछि आफुहरू पनि सम्झौता प्रति प्रतिबद्ध रहेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्