नेभिगेशन
विश्व

चिनियाँ अर्बपतिलाई ३० वर्ष जेल, सम्पत्ति जफत

न्युयोर्क । अमेरिकाको एक संघीय अदालतले चीनका कट्टर आलोचक तथा अर्बपति व्यवसायी गुओ वेनगुई (अमेरिकामा माइल्स क्वोकका नामले पनि परिचित) लाई ठगी, आपराधिक गिरोह सञ्चालन (¥याकेटियरिङ) लगायतका अभियोगमा दोषी ठहर गर्दै सोमबार ३० वर्षको जेल सजाय सुनाएको छ । अदालतले उनका गतिविधिसँग सम्बन्धित ८८९ मिलियन अमेरिकी डलर पनि जफत गर्न आदेश दिएको छ ।
न्युयोर्कको म्यानहट्टनस्थित संघीय अदालतले दिएको यो फैसला जुलाई २०२४ मा भएको दोषी ठहरपछि आएको हो । त्यतिबेला जूरीले गुओविरुद्ध लगाइएका १२ आरोपमध्ये ९ वटा अभियोगमा उनलाई दोषी ठहर गरेको थियो । उनीमाथि अमेरिकामा सञ्चालन गरिएको चिनियाँ कम्युनिस्ट पार्टीविरुद्धको अभियानका लागि समर्थकहरूले उपलब्ध गराएको ठूलो रकम दुरुपयोग गरेको आरोप लागेको थियो ।
अभियोजन पक्षका अनुसार गुओले आफ्ना समर्थकबाट उठाइएको एक अर्ब डलरभन्दा बढी रकम हिनामिना गरेका थिए । सरकारी वकिलहरूले उनको अपराधलाई क्रिप्टोकरेन्सी उद्यमी साम बैंकम्यान‑फ्रायडभन्दा पनि गम्भीर भन्दै इतिहासकै चर्चित पन्जी योजनाका सञ्चालक बर्नाड मेडफसँग तुलना गरेका थिए । बैंकम्यान–फ्रायड २५ वर्षको जेल सजाय भोगिरहेका छन् भने माडोफलाई १५० वर्षको जेल सजाय सुनाइएको थियो ।
गुओले भने आफू निर्दोष रहेको दाबी गर्दै अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । उनका वकिलहरूले सरकारले दाबी गरेको आर्थिक क्षतिको हिसाब त्रुटिपूर्ण रहेको र सरकारी पक्षले पीडित भनेका धेरै व्यक्तिहरू नै गुओको पक्षमा रहेको तर्क गरेका थिए । सजाय सुनाउँदै न्यायाधीश एनालिसा टोरिसले गुओ र उनको परिवारले चिनियाँ कम्युनिस्ट पार्टीबाट दुव्र्यवहार भोगेको हुन सक्ने स्वीकार गरे पनि त्यसले उनको ठगीपूर्ण गतिविधिलाई कुनै पनि रूपमा उचित ठहराउन नसक्ने बताइन् । उनले गुओको मुद्दालाई अन्य कुनै मुद्दासँग तुलना गर्न निकै कठिन भएको टिप्पणी पनि गरिन् ।
सजाय सुनाएपछि गुओले अदालतमा उपस्थित आफ्ना समर्थकतर्फ फर्केर टाउको हल्लाउँदै हात जोडेर अभिवादन गरेका थिए । उनले आफू अमेरिकामा आएको उद्देश्य नै चिनियाँ कम्युनिस्ट पार्टीलाई कमजोर बनाउनु रहेको दाबी पनि गरे । सजायअघि अदालतमा बोल्दै गुओले अभियोजन पक्षले सत्य नबोलेको आरोप लगाए । उनले आफू सोही दिन बेहोस भएको, रगत बान्ता गरेको र अस्पतालको उपचार कक्षमा केही समय बिताउनु परेकाले सुनुवाइ ढिलो भएको बताए । अदालतमा उपस्थित हुँदा पनि उनले मुखबाट आएको रगत रुमालले पुछिरहेका थिए ।
अब गुओको भविष्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा पनि निर्भर हुन सक्ने विश्लेषण गरिएको छ । उनका समर्थकहरूले ट्रम्पसँग आममाफी (पार्डन) दिन आग्रह गरिरहेका छन् भने चीनले लामो समयदेखि गुओलाई आफ्नो नियन्त्रणमा सुम्पिन अमेरिकासँग माग गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्