नेभिगेशन
विश्व

पिता बन्नुअघि नै बदलिन थाल्छ पुरुषको शरीर र मस्तिष्क

आमाबारे एउटा कुरा हामी सबैलाई थाहा छ, गर्भधारणसँगै उनको शरीर, मस्तिष्क र हर्मोनमा ठूलो परिवर्तन आउँछ । तर बुबा बन्न लागेका पुरुषको शरीर र मस्तिष्क पनि बच्चा जन्मिनुअघि नै परिवर्तन हुन थाल्छ भन्ने थाहा छ ?
नयाँ वैज्ञानिक अध्ययनहरूले यही रोचक तथ्य सार्वजनिक गरेका छन् । अनुसन्धानका अनुसार, पितृत्व केवल सामाजिक जिम्मेवारी मात्र होइन, यो पुरुषको शरीर र मस्तिष्कमा हुने जैविक परिवर्तनसँग पनि जोडिएको प्रक्रिया हो ।
वैज्ञानिकहरूका अनुसार बच्चा जन्मनुअघि नै पुरुषको शरीरमा टेस्टोस्टेरोन, भासोप्रेसिन, अक्सिटोसिन र प्रोल्याक्टिनजस्ता हर्मोनको स्तर परिवर्तन हुन थाल्छ । यी परिवर्तनले पुरुषलाई बच्चाप्रति बढी जिम्मेवार, संवेदनशील र हेरचाह गर्ने स्वभावतर्फ उन्मुख बनाउँछन् ।
यस विषयमा अनुसन्धान गर्ने अमेरिकाको युनिभर्सिटी अफ नोट्रे डेमका वैज्ञानिक ली गेटलरले सन् २००५ मा फिलिपिन्सका ६२४ युवामाथि अध्ययन गरेका थिए । सुरुमा सबै अविवाहित थिए । चार वर्षपछि फेरि उनीहरूको परीक्षण गर्दा बुबा बनेका पुरुषमा टेस्टोस्टेरोनको स्तर उल्लेखनीय रूपमा घटेको भेटियो । अझ बच्चाको हेरचाहमा बढी समय बिताउने र बच्चासँग सँगै सुत्ने बुबामा यो परिवर्तन अझ स्पष्ट देखियो ।
वैज्ञानिकहरूको निष्कर्ष छ, टेस्टोस्टेरोन घट्नु कमजोरीको संकेत होइन, बरु पुरुषलाई आक्रामक व्यवहारबाट टाढा राख्दै बच्चाको हेरचाहमा केन्द्रित गराउने प्राकृतिक प्रक्रिया हो । यति मात्र होइन, पछिल्ला अध्ययनले यी परिवर्तन बच्चा जन्मिएपछि मात्रै होइन, गर्भ बसेको चार महिनामै सुरु हुन सक्ने देखाएका छन् । अनुसन्धानकर्ताहरूका अनुसार गर्भवती श्रीमतीसँगको भावनात्मक सम्बन्ध, मनोवैज्ञानिक तयारी वा अन्य जैविक संकेतले यस्तो परिवर्तन गराउन सक्छ । यद्यपि यसको ठोस कारणबारे अझै अध्ययन भइरहेको छ ।
अब कुरा गरौं अक्सिटोसिन अर्थात् ‘लभ हर्मोन’को । अक्सिटोसिनलाई सामान्यतया आमासँग जोडेर हेरिन्छ । बच्चा जन्माउने र स्तनपान गराउने क्रममा यो हर्मोन बढ्ने भएकाले आमा र शिशुबीचको सम्बन्ध बलियो हुन्छ । तर अनुसन्धानले देखाएको छ कि नवजात शिशुलाई पहिलो पटक काखमा लिँदा वा छातीमा राख्दा बुबाको शरीरमा पनि अक्सिटोसिनको मात्रा बढ्छ ।
यसले बुबालाई बच्चासँग अझ नजिक हुन, बढी खेल्न, बढी समय बिताउन र उसको आवश्यकताप्रति छिटो प्रतिक्रिया दिन प्रेरित गर्छ । अर्थात् बच्चासँग जति धेरै समय बिताइन्छ, त्यति नै यो हर्मोन सक्रिय हुन्छ र बुबा–बच्चाबीचको सम्बन्ध अझ गहिरो बन्दै जान्छ ।
यसैगरी, प्रोल्याक्टिन नामक हर्मोन पनि पितृत्वसँग सम्बन्धित रहेको पाइएको छ । सामान्यतया आमामा दूध उत्पादनसँग जोडिने यो हर्मोन, बच्चा जन्मिनुअघि नै आफ्ना सन्तानप्रति गहिरो भावनात्मक सम्बन्ध महसुस गर्ने पुरुषमा पनि बढी देखिएको छ । यस्ता पुरुषहरू बच्चा जन्मिएपछि हेरचाहमा बढी सक्रिय हुने अनुसन्धानले देखाएको छ ।
अनुसन्धानले अर्को रोचक तथ्य पनि उजागर गरेको छ । अमेरिकाको एमोरी विश्वविद्यालय र स्पेनका वैज्ञानिकहरूले पहिलो पटक बुबा बन्न लागेका पुरुषहरूको मस्तिष्क स्क्यान गरेर तुलना गर्दा, बच्चा जन्मिनुअघि र पछि उनीहरूको मस्तिष्कमा संरचनात्मक परिवर्तन भएको पत्ता लगाए ।
वैज्ञानिकहरूका अनुसार यो परिवर्तन किशोरावस्थामा हुने मस्तिष्क विकासजस्तै हो । जसरी किशोरावस्थामा नयाँ जिम्मेवारी र अनुभवसँग मेल खान मस्तिष्क बदलिन्छ, त्यसरी नै पितृत्वले पनि मस्तिष्कलाई नयाँ भूमिकाका लागि तयार बनाउँछ ।
अझ रोचक कुरा के भने, बच्चासँग बढी समय बिताउने, लामो बिदा लिएर हेरचाह गर्ने योजना बनाउने वा गर्भमै रहेको बच्चासँग भावनात्मक रूपमा जोडिएका पुरुषमा मस्तिष्कको परिवर्तन अझ धेरै देखिएको छ ।
वैज्ञानिकहरू भन्छन्, जति धेरै बुबाले बच्चाको हेरचाह गर्छन्, त्यति नै उनीहरूको शरीर र मस्तिष्कमा परिवर्तन गहिरो बन्छ ।
इजरायलमा गरिएको अर्को अध्ययनले समलिंगी दम्पतीका बुबाहरूको मस्तिष्क पनि विश्लेषण गरेको थियो । बच्चाको मुख्य हेरचाह गर्ने समलिंगी बुबाहरूको मस्तिष्कमा आमासँग मिल्दोजुल्दो सक्रियता देखिएको थियो । यसले सन्तानको प्राथमिक हेरचाह गर्ने जिम्मेवारी पाएपछि पुरुषको मस्तिष्क आफैं पुनःसंरचित हुने प्रमाण दिएको वैज्ञानिकहरूको भनाइ छ ।
अनुसन्धानकर्ताहरूको निष्कर्ष स्पष्ट छ, असल बुबा बन्ने क्षमता पुरुषमा जन्मजात हुन्छ । सही वातावरण, भावनात्मक सम्बन्ध र बच्चासँगको नजिकको सम्पर्कले त्यो क्षमता सक्रिय बनाइदिन्छ ।
त्यसैले आजको विज्ञानले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ, पितृत्व केवल सामाजिक भूमिका होइन, यो पुरुषको शरीर, हर्मोन र मस्तिष्कलाई समेत बदलिदिने प्राकृतिक जैविक यात्रा हो । बच्चाको जीवनमा बुबाको सक्रिय सहभागिताले केवल सन्तानको विकासलाई मात्र होइन, स्वयं बुबाको शरीर र मस्तिष्कलाई पनि नयाँ रूपमा रूपान्तरण गर्छ । बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्