नेभिगेशन
अर्थतन्त्र

नेपाली चिया निकासीमा भारतीय अवरोध हट्यो

काठमाडौं । नेपाली चिया भारततर्फ निर्यातमा देखिएको अवरोध हटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहल तथा निरन्तरको कूटनीतिक र प्राविधिक संवादपछि मंगलबारदेखि नेपाली चियाको निकासी पुनः सुचारु भएको हो । भारतीय पक्षले गुणस्तर परीक्षणको प्रक्रिया देखाउँदै नेपाली चियाको निकासीमा अवरोध गरेपछि विगत केही सातादेखि पूर्वी नेपालमा सञ्चालनमा रहेका चिया उद्योगहरू गम्भीर संकटमा परेका थिए । निर्यात रोकिँदा उत्पादन भएर तयारी अवस्थामा रहेको ठूलो परिमाणको चिया गोदाममै थन्किएको थियो भने उद्योगी, किसान र मजदुर सबै प्रत्यक्ष रूपमा प्रभावित भएका थिए । निकासी अवरुद्ध भएपछि झापाका ३० वटा सिटिसी (क्रस, टियर एन्ड कर्ल) चिया उद्योग र इलामका ६५ वटा अर्थोडक्स चिया उद्योग गत असार १ गतेदेखि उत्पादन बन्द गर्न बाध्य भएका थिए । उद्योग बन्द हुँदा हजारौं श्रमिकको रोजगारी प्रभावित भएको थियो भने चिया किसानले उत्पादन गरेको हरियो चियापत्तीको बिक्रीसमेत प्रभावित बनेको थियो । निर्यातमा आएको अवरोधका कारण उद्योगीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको थियो । चिया क्षेत्रको यो समस्याप्रति सरकार गम्भीर बनेपछि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले समेत यो विषयलाई प्राथमिकताका साथ उठाएको मन्त्रालयले जनाएको छ । त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतीय सम्बन्धित निकायसँग कूटनीतिक तथा प्राविधिक तहमा निरन्तर छलफल र समन्वय अघि बढाएको थियो । मन्त्रालयका अनुसार दुई देशका सम्बन्धित निकायबीच भएको संवादपछि नेपाली चिया निकासीमा लगाइएको अवरोध हटाउने सहमति भएको छ । साथै, आगामी दिनमा गुणस्तर परीक्षण वा अन्य प्रशासनिक प्रक्रियाका नाममा नेपाली चियाको निर्यातमा अनावश्यक अवरोध नगर्ने समझदारी पनि बनेको मन्त्रालयले जनाएको छ । निकासी पुनः सुरु भएसँगै लामो समयदेखि समस्यामा परेका चिया उद्योगी, किसान तथा मजदुरले काम नियमित गर्न पाउनले भएका छन् । चिया निर्यात सुचारु भएसँगै बन्द रहेका झापा र इलामका सबै चिया उद्योग पूर्ण क्षमतामा पुनः सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ । यससँगै चियापत्ती खरिद, प्रशोधन, निर्यात तथा रोजगारीका गतिविधि पनि पुनः सामान्य अवस्थामा फर्किने विश्वास गरिएको छ । नेपालको प्रमुख नगदे बालीमध्ये एक मानिने चिया विशेषगरी भारतसहित तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । भारत नेपाली चियाको प्रमुख बजार र पारवहन मार्ग दुवै भएकाले त्यहाँ देखिने कुनै पनि अवरोधले नेपालको चिया उद्योग, किसान र निर्यात व्यापारमा प्रत्यक्ष असर पार्ने गरेको छ। उद्योगीहरूले निकासी सहज भएसँगै आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन दुई देशबीच स्थायी र स्पष्ट संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्