नेभिगेशन
अर्थतन्त्र

सिटिजन्स बैंकका ग्राहकलाई जय नेपाल सिनेमाजमा टिकटमा १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाजबीच बैंकका ग्राहकलाई चलचित्रको टिकट खरिदमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले दरबारमार्गस्थित जय नेपाल सिनेमाजमा चलचित्रको टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका अनुसार यस सहकार्यबाट ग्राहकले प्रत्यक्ष आर्थिक लाभ लिनुका साथै डिजिटल माध्यमबाट भुक्तानी गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ । बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ सेवाको प्रयोग विस्तार गर्ने उद्देश्यले विभिन्न व्यवसायिक संस्थासँग सहकार्य गर्दै ग्राहकमुखी छुट तथा सुविधाहरू उपलब्ध गराउँदै आएको जनाएको छ । डिजिटल कारोबारमार्फत उपलब्ध हुने अन्य छुट तथा सुविधासम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमा उपलब्ध रहेको पनि बैंकले जनाएको छ । सिटिजन्स बैंकले डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकतामा राख्दै पछिल्लो समय विभिन्न नवीन सेवाहरू सञ्चालनमा ल्याएको छ । बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । त्यसैगरी, युवापुस्तालाई लक्षित गर्दै ‘सिटिजन्स जेनजी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरका लागि ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । यस्तै, बैंकले मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन (आईपीओ) र सी–आरएन नम्बर प्राप्त गर्न सकिने सुविधा उपलब्ध गराएको छ । साथै, क्रस बैंक टेलर सेवा अन्तर्गत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखामा गई टेलर क्यूआर स्क्यानमार्फत नगद प्राप्त गर्न सक्ने सुविधा सञ्चालनमा ल्याएको जनाएको छ । विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ३९ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्