नेभिगेशन
अर्थतन्त्र

भविष्यका चुनौती सामना गर्न तथ्यगत निर्णय र प्रविधिमैत्री वित्तीय नेतृत्वको आवश्यकतामा जोड

काठमाडौं । विश्वमा बदलिँदो आर्थिक तथा व्यावसायिक परिवेशमा वित्तीय नेतृत्वलाई थप रणनीतिक, प्रविधिमैत्री र भविष्यमुखी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको सीएफओ कन्फ्रेन्स–२०२६ मा सहभागी वक्ताहरूले प्रमुख वित्त अधिकृत (सीएफओ)हरू परम्परागत लेखा व्यवस्थापनमा मात्र सीमित नरही संस्थाको समग्र नेतृत्व र दीर्घकालीन विकासमा सक्रिय भूमिका खेल्नुपर्ने बताएका हुन् । ‘वित्त व्यवस्थापनभन्दा परको नेतृत्व, भविष्य निर्माणको आधार’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा विभिन्न क्षेत्रका प्रमुख वित्त अधिकृत, उद्योगी–व्यवसायी, नीतिनिर्माता, वित्त तथा व्यवस्थापन विज्ञ, चार्टर्ड एकाउन्टेन्ट तथा पेसागत संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सम्मेलनमा वक्ताहरूले भविष्यका आर्थिक तथा व्यावसायिक चुनौती सामना गर्न वित्तीय नेतृत्वले तथ्यमा आधारित निर्णय प्रणाली अवलम्बन गर्नुपर्ने, आधुनिक प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय अभ्याससँग तालमेल मिलाउँदै संस्थागत क्षमता विकास गर्नुपर्नेमा जोड दिए । उनीहरूका अनुसार डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन, नवप्रवर्तन र सुशासनलाई सुदृढ बनाउन प्रमुख वित्त अधिकृतको भूमिका विगतभन्दा अझ महŒवपूर्ण बन्दै गएको छ । कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष सिए निलबहादुर सारुमगरले नेपालको आर्थिक विकासमा प्रमुख वित्त अधिकृतका रूपमा कार्यरत चार्टर्ड एकाउन्टेन्टहरूको योगदान महŒवपूर्ण रहेको बताए । देशभर विभिन्न सरकारी तथा निजी संस्थामा कार्यरत चार्टर्ड एकाउन्टेन्टहरूले संस्थागत वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउन उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै उनले सीएफओका रूपमा कार्यरत चार्टर्ड एकाउन्टेन्टहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न आइक्यान प्रतिबद्ध रहेको बताए । वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सीए रत्नराज बज्राचार्यले बदलिँदो आर्थिक वातावरणसँगै वित्तीय नेतृत्व पनि निरन्तर अद्यावधिक र परिष्कृत हुनुपर्ने बताए । आफ्नो व्यावसायिक अनुभव सुनाउँदै उनले प्रमुख वित्त अधिकृतहरूले नयाँ प्रविधि, विश्वव्यापी अभ्यास र व्यवस्थापनका नयाँ अवधारणालाई आत्मसात् गर्दै संस्थाको आवश्यकताअनुसार आफूलाई विकास गर्नुपर्नेमा जोड दिए । त्यसैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले पछिल्ला वर्षहरूमा प्रमुख वित्त अधिकृतको भूमिकामा व्यापक परिवर्तन आएको उल्लेख गर्दै अब सिएफओहरू केवल लेखा र वित्त व्यवस्थापनमा सीमित रहन नहुने बताए । प्रत्येक सीएफओले आफूलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतको दृष्टिकोणबाट सोच्नुपर्ने र संस्थाको दीर्घकालीन रणनीति, व्यवसाय विस्तार तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । उनले वित्तीय नेतृत्व प्राविधिक रूपमा सक्षम हुनुका साथै परिवर्तनलाई नेतृत्व गर्न सक्ने क्षमतासमेत विकास गर्नुपर्ने आवश्यकता औंल्याए । सम्मेलनमा वित्तीय नेतृत्व, संस्थागत सुशासन, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन, नवप्रवर्तन तथा दिगो व्यवसायिक विकासका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिनुका साथै ‘वित्तीय पूर्वाधार निर्माणमा प्रमुख वित्त अधिकृतको भूमिका ः चुनौतीबीच समन्वय र समाधान’ विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो । छलफलमा सहभागी विज्ञहरूले वित्तीय प्रणालीलाई थप पारदर्शी, उत्तरदायी र प्रतिस्पर्धी बनाउन प्रमुख वित्त अधिकृतहरूको नेतृत्वदायी भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्