नेभिगेशन
नेपाल

प्रतिनिधिसभा विघटन, प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने

काठमाडौं, २७ भदौ -  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन् । राष्ट्रपति कार्यालयबाट शुक्रबार राति सार्वजनिक गरिएको विज्ञप्ति अनुसार भदौ २७ गते राति ११ बजेदेखि प्रतिनिधिसभा विघटनको निर्णय लागू भएको छ ।

साथै, नयाँ प्रतिनिधिसभा निर्वाचन आगामी २०८२ साल फागुन २१ गते बिहीबारका दिन हुनेगरी मिति तोकिएको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशिला कार्कीज्यूको सिफारिस अनुसार प्रतिनिधिसभा विघटन गर्नु भएको छ । उक्त निर्णय २०८२ साल भदौ २७ गते शुक्रबार राति ११:०० बजेदेखि लागू हुनेछ ।”

यससँगै संविधानको मर्म र प्रावधानअनुसार अब मुलुक नयाँ निर्वाचन प्रक्रियामा प्रवेश गर्ने औपचारिकता सुरु भएको छ । निर्वाचन मिति तोकिएसँगै आगामी दिनमा निर्वाचन आयोगले विस्तृत तालिका र आवश्यक तयारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार, प्रतिनिधिसभा विघटनसँगै वर्तमान सरकार निर्वाचनसम्म कायम रहनेछ र संवैधानिक दायराभित्र रहेर आवश्यक कार्यहरू सञ्चालन गर्नेछ । सरकारलाई निर्वाचन प्रक्रियाको लागि आवश्यक वातावरण सुनिश्चित गर्ने जिम्मेवारी पनि दिइएको छ ।

राजनीतिक वृत्तमा यस घटनालाई ऐतिहासिक मोडका रूपमा लिइएको छ । यस घटनासँगै मुलुकमा नयाँ राजनीतिक समीकरण बन्ने संकेत देखिएको छ । दलहरूबीच नयाँ सहकार्य वा प्रतिस्पर्धाका सम्भावना बढेका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा देशभर राजनीतिक चहलपहल बढ्ने अनुमान गरिएको छ ।

उपसचिव रुपेश जंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार, यो निर्णयले राष्ट्रिय हित, राजनीतिक स्थायित्व र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने दाबी गरिएको छ ।

Screenshot-2025-09-13-at-00.16.15-1757701903.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्