नेभिगेशन
विश्व

मेयर जब बसिन् सुत्केरी बिदामा ...

के कुनै महिला नेताले सुत्केरी बिदा लिनु पनि ऐतिहासिक समाचार बन्न सक्छ ? जापानमा अहिले शोको क्वाटाले मातृत्व बिदा लिनु यस्तै एउटा ऐतिहासिक घटनाका रूपमा हेरिएको छ । जापानको यवाटा सहरकी ३५ वर्षीया शोको क्वाटा जापानकी सबैभन्दा कम उमेरकी मेयर हुन् र उनी हाल १६ साताको सुत्केरी बिदामा छिन् । उनको सन्तानको जन्म सेप्टेम्बरमा हुने अपेक्षा गरिएको छ । उनी यस्तो बिदा लिने जापानकी पहिलो मेयर तथा पहिलो महिला राजनीतिक नेता पनि हुन् ।
तर बिदामा गएपछि उनीसँग राजीनामाको माग हुन थालेको छ । उनका पुरुष सहकर्मी तथा राजनीतिक प्रतिद्वन्द्वीहरूले मेयर भएर यति लामो बिदा कसरी लिन सकिन्छ भनेर आलोचना गरेका छन् । राष्ट्रिय अखबारहरूको पहिलो पृष्ठमा उनको बिदाबारे समाचार छापियो, सामाजिक सञ्जालमा  ट्रोल भइन् र उनको निर्णयमाथि सञ्चारमाध्यमहरूले जनमत सर्वेक्षणसमेत गरे ।
शोकोले मे महिनामै आफू प्रसूतिका लागि छिट्टै बिदामा जाने घोषणा गरेकी थिइन् । उक्त घोषणाको करिब दुई महिना बितिसकेको छ । तर जापानी समाजमा अझै पनि शोकोले बिदा लिएर कति ठूलो ‘गल्ती’ गरिन् भन्ने बहस जारी छ ।
वास्तवमा जापानमा गर्भवती महिलालाई १४ साताको मातृत्व बिदा लिने अधिकार भए पनि महिला राजनीतिक नेताहरूलाई भने यस्तो अधिकार स्पष्ट रूपमा दिइएको छैन ।
कुनै पनि कानुनमा महिला नेता गर्भवती भएमा उनीहरूले बिदा लिन पाउने वा नपाउने भन्ने स्पष्ट व्यवस्था छैन । यसको एउटा कारण, कानुन बनाउँदा भविष्यमा युवा महिलाहरू पनि यस्ता राजनीतिक पदमा पुग्नेछन् भन्ने कल्पना नगरिनु हुन सक्छ ।
शोको यही सोच र यही कानुनी अवस्थालाई परिवर्तन गर्न चाहन्छिन् । सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘कानुनले महिला नेताहरूलाई सुत्केरी बिदाको अधिकार दिएको छैन, तर कतै पनि मेयरले यस्तो बिदा लिन पाउँदैन भनेर लेखिएको पनि छैन ।’ उनी यही कानुनी अवस्थालाई आधार बनाएर एउटा उदाहरण स्थापित गर्न चाहन्छिन् ।
शोको बिदामा गएपछि उनीमाथि एउटा मेयर, जो जनताको सेवक हो, उसले यति लामो बिदा लिनु करदाताको पैसाको दुरुपयोग भएको आरोप लगाइयो । यो त्यही देशमा भइरहेको छ जहाँ पहिलो पटक सनाए ताकाएची जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । यद्यपि ताकाएची वा उनको पार्टीले यस विषयमा अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
यो त्यही देश पनि हो जहाँ राजनीतिमा महिलाको सहभागिता केवल १५ देखि १६ प्रतिशतको बीचमा छ । यस्तो देश, जुन लगातार घट्दो जन्मदरको समस्यासँग जुधिरहेको छ, तर गर्भवती महिलाका आधारभूत अधिकारलाई समेत करदाताको पैसाको दुरुपयोगका रूपमा हेर्छ ।
शोकोमाथिको आलोचनाले त्यही परम्परावादी सोचलाई बल दिन्छ, जसले भन्छ—यदि कुनै महिलाले आमा बन्न चाहन्छ भने उसले आफ्नो करियरलाई पछाडि छोड्नुपर्छ ।
तर शोको त्यसो गर्न तयार छैनन् । उनी अन्य महिलाका लागि एउटा उदाहरण बन्न चाहन्छिन्, ताकि आवश्यक पर्दा उनीहरूले पनि आफ्ना अधिकार निसंकोच प्रयोग गर्न सकून् ।
जापान ती देशहरूमध्ये पर्छ जहाँ दोस्रो विश्वयुद्धपछि नै मातृत्व बिदा, महिनावारी बिदालगायत महिलाका धेरै अधिकार सुनिश्चित गरिएका थिए । तर अहिले पनि यी अधिकार प्रयोग गर्ने महिलाको संख्या निकै कम छ, किनभने यस्ता बिदासँग अझै पनि लाज र संकोच जोडिएको छ । विशेषगरी जापानमा कुनै पनि कर्मचारीले लामो बिदा लिनुलाई सामान्यतः उसको उत्पादकत्व कम भएको संकेतका रूपमा हेरिन्छ ।
त्यसो त, लगातार घटिरहेको जन्मदरलाई सम्बोधन गर्न सरकारले अहिले महिला र पुरुष दुवै कर्मचारीलाई अभिभावक बिदा (पेरेन्टल लिभ) लिन प्रोत्साहन गरिरहेको छ । तर पनि जापानमा पेरेन्टल लिभसम्बन्धी त्यही प्रवृत्ति देखिन्छ, जुन अन्य धेरै देशहरूमा पनि देखिने गर्छ । पेरेन्टल लिभ लिने महिलाको संख्या पुरुषको तुलनामा दोब्बर छ ।
जापानको तथ्यांकअनुसार सन् २०२२ मा करिब ८० प्रतिशत महिला कर्मचारीले सुत्केरी बिदा लिएका थिए । तर लैंगिक तथा आर्थिक विषयमा काम गर्ने विशेषज्ञहरूले यो तथ्यांकलाई फरक ढंगले हेर्छन् ।
आधिकारिक रूपमा मापन गरिने सुत्केरी बिदाको तथ्यांकमा ती महिलालाई मात्र समेटिने गरिएको छ, जसले जागिरमै रहँदा बच्चा जन्माए र त्यसपछि पेरेन्टल लिभ सुरु गरे । यसको अर्थ, बच्चा जन्माउने समयमा नै जागिर छोडेका महिलाहरू यस तथ्यांकबाट पूर्ण रूपमा बाहिर पर्छन् ।
यसबाहेक, महिलाका लागि उपलब्ध गराइएका यस्ता बिदा प्रयोग गर्नेहरूमा प्रायः संगठित वा सरकारी क्षेत्रमा कार्यरत महिलाहरू बढी हुन्छन् । त्यसैले असंगठित क्षेत्रमा काम गर्ने महिलाहरूको अवस्था यी तथ्यांकमा समेटिँदैन ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सन् २०२५ को प्रतिवेदनअनुसार, सन् २०२३ मा हेरचाहसम्बन्धी अवैतनिक जिम्मेवारीका कारण काम गर्ने उमेरका ७० करोड ८० लाख महिला श्रमशक्तिबाट बाहिर थिए । यसको तुलनामा यस्तै कारणले श्रमशक्तिबाट बाहिर रहेका पुरुषको संख्या केवल ४ करोड थियो ।
विश्वभरका १२१ देशले पितृत्व बिदा (प्याटरनिटी लिभ) को अधिकारलाई मान्यता दिएका छन् । तर तीमध्ये १०५ देशले मात्र तलबसहितको पितृत्व बिदा उपलब्ध गराउँछन् । पछिल्लो एक दशकमा केवल ३७ देशले पितृत्व बिदा सुरु गरेका छन् वा यसको अवधि बढाएका छन् ।
शोकोमाथि भएको ट्रोलिङ र आलोचनाको मूलमा सुत्केरी बिदालाई एउटा विशेष सुविधा (प्रिभिलेज) का रूपमा हेर्ने सोच छ । यही सोच परिवर्तन गर्नका लागि उनी निरन्तर संघर्ष गरिरहेकी छन् । (डीडब्लू)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्