नेभिगेशन
विश्व

भीषण गर्मीका कारण पेरिसका शवगृहमा भिड

पेरिसको एउटा शवगृहमा लगातार फोन आइरहेका छन् । फोन गर्नेहरूको एउटै प्रश्न हुन्छ, ‘शव राख्ने ठाउँ पाइन्छ ?’ जौहर एर्टेली दुःखी स्वरमा जवाफ दिन्छन्, ‘छैन ।’ उनी दिनमा धेरैपटक यही जवाफ दोहो¥याउन बाध्य छन् ।
एर्टेलीको कोल्ड रुममा ३२ वटा शव राख्ने क्षमता छ । उनी भन्छन्, ‘मलाई सयौं फोन आइरहेका छन् । हामी एउटा ठूलो त्रासदीको सामना गरिरहेका छौं ।’
एर्टेलीले आफ्नो पेशासँग सम्बन्धित अन्य व्यक्तिहरूसँग पनि कुरा गरेका छन् । उनीहरूका अनुसार ८० किलोमिटर टाढाबाट समेत शवहरू पेरिसका शवगृहमा ल्याइँदै छन् । थप ठाउँ बनाउन एर्टेलीले आफ्नो शवगृहबाहिर रेफ्रिजेरेटर राख्न प्रशासनसँग अनुमति मागेका छन् । पेरिस विमानस्थल नजिक रहेको उनको शवगृहले अतिरिक्त रेफ्रिजेरेटर राख्ने अनुमति अझै पाएको छैन ।
एर्टेली भन्छन्, ‘परिवारहरू पीडामा छन् । उनीहरूलाई राहत दिने कुनै समाधान हामीसँग छैन, किनकि अन्त्येष्टि गृहहरू भरिएका छन् । हाम्रो सम्पूर्ण सहानुभूति उनीहरूसँग छ, तर पनि हामी केही गर्न सक्दैनौं । हामी एउटा कठिन समस्यासँग जुधिरहेका छौं, अत्यन्त ठूलो समस्यासँग ।’
गत साता फ्रान्समा परेको भीषण गर्मीले हजारौं मानिसको ज्यान लियो । जुन २४ देखि २७ सम्म देशका धेरै भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।
पब्लिक हेल्थ फ्रान्सका अनुसार जुन २४ मा देशभर १,२०० भन्दा बढी मानिसको मृत्यु भयो । जुन २५ मा १,४०० जनाको मृत्यु भयो र जुन २६ मा पनि १,४०० जनाले ज्यान गुमाए ।
अधिकारीहरूका अनुसार भीषण गर्मी आउनुअघि अप्रिल र मे महिनामा औसतमा प्रतिदिन ९०० देखि १,००० जनाको मृत्यु हुने गरेको थियो । शवगृहको व्यवस्था पनि यही संख्यालाई आधार मानेर तयार गरिएको थियो ।
अन्त्येष्टि सेवा क्षेत्रमा काम गर्ने व्यवसायीहरूका अनुसार राजधानी पेरिसका शवगृहहरू पूर्ण रूपमा भरिएका छन् । सिटी हलका अनुसार २०–२० शव अट्ने दुईवटा अस्थायी भण्डारण एकाइ सञ्चालनमा ल्याइएका छन् । यसबाहेक, सहरका अस्पतालहरूमा थप ५० वटा शव राख्ने व्यवस्था गरिएको छ ।
बदलिँदो जलवायुको घातक असर
फ्रान्समा हालसम्म मृत्यु भएका व्यक्तिमध्ये करिब ८५ प्रतिशतको उमेर ६५ वर्षभन्दा माथिको छ । वृद्धवृद्धाको मृत्युका सबैभन्दा धेरै घटना राजधानी पेरिस र वरपरका क्षेत्रमा भएका छन् ।
जलवायु परिवर्तनका बढ्दो असरबीच जुन २०२६ को अन्त्यतिर परेको गर्मीले सन् २००३ को रेकर्डसमेत तोड्यो । सन् २००३ को गर्मीयाममा फ्रान्समा करिब १५ हजार जनाको मृत्यु भएको थियो । त्यसपछि वृद्धवृद्धाको हेरचाहका विषयमा देशमा धेरै प्रतिबद्धता र घोषणा गरिएका थिए । सन् २०२५ मा पनि असामान्य गर्मीका कारण ५,७०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
पेरिसको अन्त्येष्टि सेवा क्षेत्रमा कार्यरत वेरोनिक बेरत्राँका अनुसार मानिसहरूले विगतबाट सिकेको पाठ बिर्सिसकेका छन् ।
उनले भनिन्, ‘जसको मृत्यु भयो, तीमध्ये अधिकांश एक्लै बसिरहेका मानिस थिए । उनीहरूको अवस्था हेर्दा यी मृत्युहरू गर्मीकै कारण भएको जस्तो देखिन्छ ।’ 
उनले मानिसहरूलाई अझ बढी सचेत हुन आग्रह गरेकी छन् । उनका अनुसार छिमेकीहरूको ख्याल राख्नु आवश्यक छ र एक्लै बस्ने मानिसलाई समय–समयमा सहयोग गरिनुपर्छ ।
बेरत्राँ भन्छिन्, ‘समयसँगै हामीले सायद यो फेरि हुन सक्छ भन्ने कुरा बिर्सियौं र अवस्था अझ खराब पनि हुन सक्छ ।’
शवगृहहरूमा यति धेरै भीड किन?
एसिया र अफ्रिकाका धेरै देशहरूमा मृत्यु भएपछि अन्त्येष्टि छिट्टै गरिन्छ । तर युरोप र अमेरिकामा भने अन्त्येष्टि प्रायः केही दिन वा केही हप्तापछि मात्र गरिन्छ ।
यसअघि नोटरीसम्बन्धी कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । त्यसपछि मृतकका आफन्तहरूले समाधिस्थल (कब्रिस्तान) मा स्थानका लागि आवश्यक कागजी प्रक्रिया पूरा गर्छन्, स्मृति–शिलापट्ट तयार गराउँछन् र आफन्त तथा शुभेच्छुकहरूलाई जानकारी दिएर सबै जना सहभागी हुन सकून् भनेर अन्त्येष्टिको मिति केही हप्तापछि तय गरिन्छ ।
त्यतिन्जेलसम्म शवलाई शवगृह (मर्चुरी) मा राखिन्छ । अन्त्येष्टि सेवा उपलब्ध गराउने संस्थाहरूले अन्त्येष्टिका दिन शवलाई कफिनमा तयार गरी ल्याउँछन् र त्यसपछि अन्तिम श्रद्धाञ्जली तथा विदाइ गरिन्छ ।
युरोप कति तातियो ?
जुन २२ देखि २८ सम्म चलेको भीषण गर्मीका क्रममा फ्रान्स र जर्मनीका अधिकांश क्षेत्रमा तापक्रम औसतभन्दा १२.५ डिग्री सेल्सियस बढी मापन गरिएको थियो ।
बेलायतमा तापक्रम औसतभन्दा १० देखि १२.५ डिग्री सेल्सियस बढी थियो । त्यस्तै, इटालीका अधिकांश क्षेत्रमा तापक्रम औसतभन्दा ७.५ देखि १० डिग्री सेल्सियस माथि पुगेको थियो ।
जलवायु परिवर्तनको अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार सन् २०१५ देखि २०२५ को अवधिमा आधारभूत तापक्रम (बेसलाइन टेम्प्रेचर) सबैभन्दा धेरै आर्कटिक (१.१८ डिग्री सेल्सियस) र युरोप (०.८७ डिग्री सेल्सियस) मा बढेको छ ।
जर्मनी, चेक गणराज्य, पोल्यान्ड र हंगेरीमा जुन २७ का दिन अहिलेसम्मकै सबैभन्दा तातो दिनको रेकर्ड कायम भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्