नेभिगेशन
खेलकुद

दर्शकको कीर्तिमान

विश्वकप फुटबलको नकआउट चरण सुरु भएसँगै मैदानबाहिरका दुई ठूला विजेता बनेका छन्, अमेरिकामा अंग्रेजी भाषामा प्रतियोगिता प्रसारण गरिरहेको फक्स स्पोट्र्स र स्पेनी भाषाको प्रसारक टेलिमुन्डो । यी दुवै नेटवर्कले समूह चरणमा विश्वकप प्रसारणका क्रममा नयाँ दर्शक कीर्तिमान बनाएका छन् । अमेरिकाको पुरुष राष्ट्रिय टोलीले बुधबार राति प्राइम टाइममा खेल्ने भएकाले आगामी दिनमा दर्शकसंख्या अझ बढ्ने उनीहरूको अपेक्षा छ ।
टेलिमुन्डोका अनुसार यसपटकको विश्वकप प्रसारणको दर्शकसंख्या सन् २०२२ को कतार विश्वकपको तुलनामा दुई गुणाभन्दा बढी हुने गतिमा छ । साथै, दर्शकहरूको संलग्नता पनि अहिलेसम्मकै उच्च स्तरमा पुगेको जनाएको छ । यता फक्स स्पोट्र्सले जुन २५ सम्म आफ्नो विश्वकप प्रसारण कम्तीमा एक मिनेट हेर्ने अमेरिकीको संख्या ८ करोड ४० लाख पुगेको जनाएको छ ।
यो तथ्याङ्क टेलिभिजन तथा स्ट्रिमिङ दर्शक मापन गर्ने संस्था निल्सेनको प्रणालीमा आधारित हो, जसले कम्तीमा एक मिनेट प्रसारण हेरेका दर्शकलाई गणना गर्छ । फक्सका इनसाइट्स तथा एनालिटिक्स प्रमुख माइकल मुल्भिहिलले समर्थकहरूको उत्साह झल्काउने अर्को रोचक तथ्य सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “निल्सेनका अनुसार ९,७२२ जनाले फक्स र एफएस–१ मा प्रसारित विश्वकपका पहिलो ४८ वटै खेल कम्तीमा एक मिनेट हेरेका छन् ।“
यस गर्मीमा विश्वकपका खेलहरूले अमेरिकामा एनएफएल (नेसनल फुटबल लिग) सरह दर्शक तान्नुका पछाडि धेरै कारण छन् । सबैभन्दा प्रमुख कारण प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनु हो । यसले अमेरिकीहरूमा विश्वकपप्रति थप चासो बढाएको छ र खेलहरू पनि दर्शकमैत्री समयमा प्रसारण भइरहेका छन् । यसपटक धेरै खेल पूर्वी अमेरिकी समयअनुसार राति ८ बजे प्रसारण भइरहेका छन्, जुन अधिकांश मानिस घरमा हुने समय हो । यसको विपरीत, कतार विश्वकपका धेरै खेल बिहान ८ बजे प्रसारण भएकाले धेरै दर्शकले प्रत्यक्ष हेर्न पाएका थिएनन् ।
त्यससँगै अमेरिकामा फुटबलको लोकप्रियता निरन्तर बढिरहेको छ । साथै, खेलकुद प्रतियोगिताहरू दर्शकले रेकर्ड गरेर पछि हेर्नुभन्दा प्रत्यक्ष हेर्न रुचाउने सामग्रीमध्ये पर्छन् । निल्सेनले अहिले बार, रेस्टुरेन्ट तथा अन्य सार्वजनिक स्थानमा बसेर खेल हेर्ने दर्शकलाई पनि अघिल्ला वर्षहरूको तुलनामा धेरै प्रभावकारी रूपमा गणना गर्न थालेको छ । यसले अधिकांश खेलकुद प्रतियोगिताको आधिकारिक दर्शकसंख्या बढाउन सहयोग गरेको छ ।
टेलिभिजन अधिकारीहरूका अनुसार ती दर्शकहरू पहिलेदेखि नै खेल हेरिरहेका थिए, तर अहिले मात्र उनीहरूलाई तथ्यांकमा समेट्न थालिएकाले वास्तविक दर्शकसंख्या अझ स्पष्ट देखिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा विश्वकपको दर्शकसंख्याबारे टिप्पणी गरेका थिए । उनले लेखेका थिए, “फिफाको दर्शक संख्या इतिहासकै कुनै पनि विश्वकपभन्दा धेरै छ । यो संयुक्त राज्य अमेरिकाप्रतिको ठूलो सम्मान हो । सबैलाई धन्यवाद !”
यद्यपि विभिन्न देशमा फरक–फरक टेलिभिजन च्यानल र डिजिटल प्लेटफर्ममार्फत विश्वकप प्रसारण हुने भएकाले विश्वव्यापी दर्शकसंख्या मापन गर्ने एउटै मानक प्रणाली भने छैन तर अमेरिकामा भने विश्वकपले उत्कृष्ट दर्शकसंख्या हासिल गरिरहेको छ । जुन १९ मा अमेरिका र अष्ट्रेलियाबीच भएको खेल औसत १ करोड ६२ लाख दर्शकले हेरेका थिए । फक्सका अनुसार त्यस दिन अमेरिकी इतिहासमै अंग्रेजी भाषामा प्रसारित पुरुष विश्वकपको सबैभन्दा धेरै हेरिएको दिन बनेको थियो ।

त्यसैगरी जुन २५ मा अमेरिका र टर्कीबीच भएको खेल औसत १ करोड ५८ लाख दर्शकले हेरे । अमेरिकाले त्यसअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको भए पनि दर्शकको उत्साह कम भएको थिएन । एनबीसीका खेल पत्रकार माइक फ्लोरियोले हालै लेखेका छन्, ‘अमेरिकामा अंग्रेजी भाषामा विश्वकप प्रसारण अधिकारका लागि फक्सले तिरेको ४८ करोड ५० लाख डलर सम्भवतः नेटवर्कले गरेको सबैभन्दा सफल लगानी हुन सक्छ ।’
द न्यूयोर्क टाइम्सका अनुसार ती प्रसारण अधिकारको मूल्य अहिले त्यसको झन्डै तीन गुणासम्म पुग्न सक्छ तर फक्सले सन् २०२६ को विश्वकप प्रसारण अधिकार भने करिब एक दशकअघि फिफासँग सम्भावित कानुनी विवाद टार्न गरिएको सम्झौताका कारण निकै सस्तो मूल्यमा प्राप्त गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्