नेभिगेशन
खेलकुद

४० वर्षपछि नकआउट जितको स्वाद

मेक्सिको सिटी (एपी) — विश्वकपको नकआउट चरणमा चार दशकदेखिको प्रतीक्षा अन्ततः समाप्त भएको छ । लामो समयदेखि नकआउट चरणमा हार बेहोर्दै आएको मेक्सिकोले यसपटक इतिहास बदल्दै इक्वेडरलाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।
मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले पहिलो हाफमै नौ मिनेटको अन्तरमा गोल गर्दै टोलीलाई जित दिलाए । क्विनोनेसले खेलको २२औं मिनेटमा गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए भने जिमेनेजले ३१औं मिनेटमा अग्रता दोब्बर बनाए ।
सन् १९८६ मा आफ्नै भूमिमा भएको विश्वकपमा बुल्गेरियालाई हराएपछि मेक्सिकोले नकआउट चरणको खेल जित्न सकेको थिएन । त्यसयता १९९४ देखि २०१८ सम्म लगातार सात विश्वकपमा मेक्सिको नकआउट चरणबाटै बाहिरिएको थियो । सन् २०२२ को विश्वकपमा भने टोली समूह चरणबाटै बाहिरिएको थियो ।
मेक्सिकोका प्रशिक्षक जाभियर अगुइरेले यो उपलब्धि आफ्नो लागि विशेष रहेको बताए । ‘नकआउट चरण पार गर्न नसक्नेहरूमध्ये म पनि एक थिएँ । अहिले हामी अन्तिम १६ मा छौं र समर्थकसँग हाम्रो सम्बन्ध झन् बलियो बनेको छ । हामी परिवारजस्तै भएका छौं,’ उनले भने ।
अगुइरे सन् १९८६ को विश्वकपमा मेक्सिकोको खेलाडी थिए । उनी सन् १९९४ मा सहायक प्रशिक्षक, २००२ र २०१० मा मुख्य प्रशिक्षकको भूमिकामा पनि विश्वकपसँग जोडिएका थिए । उनले अगाडि कठिन चुनौती रहेको बताउँदै खेलाडीलाई पुनः तयार पार्ने योजना रहेको उल्लेख गरे ।
विस्तारित ४८ टोली सहभागी विश्वकपमा यसपटक नकआउट चरणमा थप चरण थपिएको छ । समूह चरणपछि अन्तिम १६ अघि अन्तिम ३२ को चरण राखिएको छ ।
क्विनोनेसले जारी प्रतियोगितामा आफ्नो तेस्रो गोल गरेका छन् । उनी मेक्सिकोको विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा लुइस ‘माटाडोर’ हर्नान्डेज र जाभियर ‘चिचारिटो’ हर्नान्डेजपछि दोस्रो स्थानमा पुगेका छन् । दुवै हर्नान्डेजले विश्वकपमा चार–चार गोल गरेका छन् ।
साउदी प्रो–लिगको पछिल्लो सिजनका सर्वाधिक गोलकर्ता क्विनोनेसले मेक्सिकोको आक्रमणमा नयाँ ऊर्जा थपेका छन् । २९ वर्षीय यी युवक १७ वर्षको उमेरमा कोलम्बियाबाट मेक्सिको आएका थिए र २०२३ मा यहाँको नागरिकता पाएका थिए । यो उनको पहिलो विश्वकप हो ।
‘जीवन संघर्ष र लडाइँको नाम हो । आफूले पाएको अवसरको पूर्ण सदुपयोग गरिरहेको छु,’ क्विनोनेसले भने ।
जिमेनेजले प्रतियोगितामा आफ्नो दोस्रो गोल गरेका छन् । राष्ट्रिय टोलीका लागि उनको गोल संख्या ४७ पुगेको छ, जससँगै उनले जारेड बोर्गेट्टीलाई पछि पारेका छन् । उनी मेक्सिकोका सर्वाधिक गोलकर्ता बन्न ‘चिचारिटो’ को ५२ गोलको कीर्तिमानबाट पाँच गोल मात्र टाढा छन् ।
अब मेक्सिकोले आइतबार घरेलु मैदान एज्टेका रंगशालामा इङ्ल्यान्ड र कंगोबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एज्टेका रंगशालामा मेक्सिकोको विश्वकप यात्रा निकै बलियो देखिएको छ । टोलीले यहाँ खेलेका १० विश्वकप खेलमा अपराजित यात्रा कायम राखेको छ । आधिकारिक खेलमा यस मैदानमा मेक्सिकोको केवल दुई हार छन्, जसमा पछिल्लो हार सन् २०१३ मा विश्वकप छनोटमा होन्डुरससँग भएको थियो ।

यसपटक इक्वेडरमाथिको जितसँगै मेक्सिकोले आफ्नो अपराजित यात्रा १२ खेलसम्म पु¥याएको छ । टोलीले पछिल्लो पटक गत नोभेम्बरमा पाराग्वेसँग मैत्रीपूर्ण खेलमा हार व्यहोरेको थियो ।
यस जितसँगै मेक्सिको विश्वकपको नकआउट चरणमा दक्षिण अमेरिकी टोलीलाई पराजित गर्ने पहिलो उत्तर तथा मध्य अमेरिकी (कन्काकाफ) टोली बनेको छ । यसअघि दक्षिण अमेरिकी टोलीले यस्ता पाँचवटै भिडन्त जितेका थिए ।
खेल सुरु हुनुअघि आएको आँधीका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो खेल सुरु भएको थियो । यसअघि फ्रान्स र इराकबीचको खेल पनि खराब मौसमका कारण केही समय रोकिएको थियो ।
जितपछि मेक्सिकोभर उत्सवको माहोल छ । राजधानी मेक्सिको सिटीको रिफोर्मा एभिन्युमा हजारौं समर्थक भेला भएर राष्ट्रिय टोलीको सफलताको खुसी मनाए ।
हरियो, सेतो र रातो रंगका झिलिमिली बत्तीबीच समर्थकहरूले नाराबाजी गर्दै जितको उत्सव मनाएका थिए । २० वर्षीया डेनिसे इल्डेफोन्सोले ‘यो निकै रोमाञ्चक छ, हामीले ग¥यौं’ भन्दै खुसी व्यक्त गरिन् ।
देशभरका विभिन्न स्थानमा बार, पार्किङ क्षेत्र र स्थानीय फ्यान जोनहरू फुटबल समर्थकले भरिएका थिए । अपराजित राष्ट्रिय टोलीको सम्मानमा मेक्सिकन समर्थकहरूले ठूलो उत्सव मनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्