नेभिगेशन
विश्व

सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौँको भीड,  बदलाको गर्जना

तेहरान (एपी) — इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि शनिबारदेखि औपचारिक रूपमा सुरु भएको छ । तेहरानमा आयोजित अन्त्येष्टि कार्यक्रममा सयौँ हजार शोकाकुल नागरिक सहभागी भएका छन् । राष्ट्रिय झन्डाले ढाकिएको खामेनीको शव राखिएको काँचको बाकसअगाडि उपस्थित मानिसहरूले छाती पिट्दै शोक व्यक्त गरेका छन् भने इजरायल र अमेरिकाविरुद्ध बदलाको नारा लगाएका छन् ।
फेब्रुअरी २८ मा इरान–इजरायल युद्ध सुरु हुने क्रममा भएको हवाई आक्रमणमा ८६ वर्षको उमेरमा खामेनीको मृत्यु भएको थियो । युद्धका कारण अन्त्येष्टि केही समयका लागि स्थगित गरिएको थियो ।
यो अन्त्येष्टि इरानको धार्मिक शासन व्यवस्था र नयाँ सर्वोच्च नेता बनेका उनका छोरा आयतोल्लाह मोज्तबा खामेनीका लागि जनसमर्थन जुटाउने अवसरका रूपमा पनि हेरिएको छ । यसैबीच, इरानले अमेरिकासँग युद्धको स्थायी अन्त्यबारे वार्ता गरिरहेकाले तथा इजरायलले पुनः आक्रमण गर्न सक्ने आशंका रहेकाले स्थिति अझ संवेदनशील बनेको छ ।
समारोहका क्रममा इरानका प्रमुख वार्ताकार काजेम घरिबाबादीले बेलायत र फ्रान्सलाई कडा चेतावनी दिएका छन् । दुवै देशले होर्मुज जलडमरूमध्यमा संयुक्त सैन्य गस्ती गर्न सक्ने संकेत दिएपछि उनले त्यसको परिणाम गम्भीर हुने बताएका हुन् । विश्वको करिब पाँचौँ भाग तेल तथा प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यसको रणनीतिक महŒव अत्यधिक छ ।
अन्त्येष्टिमा खामेनीसँगै सोही आक्रमणमा मारिएका उनका परिवारका सदस्यहरूको शव पनि राखिएको थियो । शोकाकुल भीडले “हाम्रो एउटै आवाज—बदला, बदला !” भन्दै नारा लगाएको थियो । धेरैले ब्यानर र झन्डा बोकेका थिए भने तेहरानभरि खामेनीका तस्बिर राखिएका थिए ।
शोक मनाउन आएकी मसुमेह मोहम्मदीले भनिन्, “इमाम खामेनी हाम्रो मुटु, हाम्रो पिता र हाम्रो सबैथोक हुनुहुन्थ्यो । उहाँलाई शहीद बनाइएको कुरा अझै विश्वास गर्न सकेकी छैन । उहाँको हत्याको बदला नलिएसम्म हामी चुप लाग्दैनौँ ।”
तेहरानको ग्रान्ड मुसल्लामा तयार गरिएको मञ्च खामेनीले विगतमा सम्बोधन गर्ने स्थानजस्तै बनाइएको थियो । मञ्चमा उनले प्रयोग गर्ने जस्तै कुर्सी, माइक्रोफोन र टेबुल राखिएको थियो भने माथि सन् १९८९ मा निधन भएका इरानका पहिलो सर्वोच्च नेता आयतोल्लाह रुहोल्लाह खोमेनीको तस्बिर झुन्ड्याइएको थियो ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानले दोस्रो पटक मात्र सर्वोच्च नेता गुमाएको हो । खोमेनीको अन्त्येष्टिमा लाखौँ मानिसको भीडका कारण निकै अव्यवस्थित अवस्था सिर्जना भएको थियो ।
शनिबारको कार्यक्रममा गर्मीका कारण स्वयंसेवकहरूले भीडमाथि चिसो पानी छर्केका थिए । सुरक्षाका लागि धातु पत्ता लगाउने उपकरण र शरीर जाँचपछि मात्र मानिसलाई भित्र प्रवेश दिइएको थियो । वरपरका सडकमा स्वचालित हतियारसहितका प्रहरी परिचालन गरिएका थिए । सार्वजनिक बिदाका कारण शहरका अधिकांश गतिविधि बन्द थिए ।
खामेनीको शवमाथि उनको कालो पगडी राखिएको थियो, जसले उनी पैगम्बर मोहम्मदका प्रत्यक्ष वंशज भएको जनाउँछ । आक्रमणमा मोज्तबा खामेनीकी पत्नीको पनि मृत्यु भएको थियो । मोज्तबा स्वयं घाइते भएको बताइए पनि युद्ध सुरु भएयता सार्वजनिक रूपमा देखिएका छैनन् ।
उत्तरपश्चिमी शहर तब्रिजबाट आएका अली काजेमीले भने, “हामी आफ्नो देश र धर्मको रक्षा गर्न प्रतिबद्ध छौँ भन्ने सन्देश दिन यहाँ आएका हौँ ।”
इरानले अमेरिकाको स्थापना भएको २५०औँ वार्षिकोत्सवकै दिन, अर्थात् जुलाई ४ मा अन्त्येष्टि सुरु गरेको छ । यद्यपि अधिकारीहरूले यसलाई संयोग मात्र भनेका छन् । कार्यक्रममा सहभागीहरूले “अमेरिकाको मृत्यु होस्” र “इजरायलको मृत्यु होस्” भन्दै नारा लगाएका थिए ।
त्यही समयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउथ डकोटाको माउन्ट रशमोरमा आयोजित कार्यक्रममा “हामीले इरानलाई नराम्ररी प्रहार ग¥यौँ । उनीहरू सम्झौता गर्न आतुर छन् । अन्त्येष्टिका लागि हामीले उनीहरूलाई एक साताको समय दिएका हौँ,” भने ।
तेहरानको भीडमा केही मानिसले “किल ट्रम्प” लेखिएको ठूलो ब्यानर पनि प्रदर्शन गरेका थिए ।
यसैबीच, घरिबाबादीले होर्मुज जलडमरूमध्यको सुरक्षा तटीय राष्ट्रहरूको जिम्मेवारी भएको उल्लेख गर्दै बाह्य शक्तिहरूको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन् । इरानले उक्त जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संकेतसमेत दिँदै आएको छ ।
खामेनीको शवलाई इरानका विभिन्न शहर तथा छिमेकी इराकमा पनि श्रद्धाञ्जलिका लागि लगिनेछ । शोक अवधि सकिएपछि आगामी बिहीबार उनको जन्मस्थान मशहदस्थित इमाम रेजा दरगाहमा अन्त्येष्टि गरिनेछ ।
आइतबार ग्रान्ड मुसल्लामा मृत आत्माको शान्तिका लागि विशेष प्रार्थना हुनेछ भने सोमबार खामेनी र उनका परिवारका सदस्यहरूको शव तेहरानका मुख्य सडक हुँदै शवयात्रामा निकालिने कार्यक्रम छ ।
२७ वर्षीया हनानेह मौसावी आँसु झार्दै भन्छिन्, “म आफ्ना प्रिय नेता अली खामेनीलाई अन्तिम बिदाइ दिन यहाँ आएकी हुँ । यस्तो दिन देख्नुपर्ला भन्ने कहिल्यै सोचेकी थिइनँ । यो दुःखद् घटना हेर्नुभन्दा पहिले नै म मरेकी भए हुन्थ्यो जस्तो लाग्छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्