नेभिगेशन
विश्व

रूसी तेल टर्मिनलमा यूक्रेनी आक्रमण

मस्को, (एएफपी) । यूक्रेनले रूसको सेन्ट पिटर्सबर्गमा रहेको तेल टर्मिनलमा ड्रोन आक्रमण गरेको छ । रूस र यूक्रेनबीच जारी युद्धमा यूक्रेनले शनिबार फेरि रूसको ऊर्जा पूर्वाधारलाई निशाना बनाएको छ । पछिल्लो यूक्रेनी ड्रोन हमलामा रूसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गको एक तेल टर्मिनलमा आक्रमण भएको रूसी अधिकारीहरूले पुष्टि गरेका छन् । आक्रमण शहरको किरोभ्स्की जिल्लाको बाल्टिक सागरको किनारमा रहेको तेल टर्मिनल रहेको स्थानमा भएको हो । 
सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्जेन्डर बेग्लोभका अनुसार रूसी हवाई रक्षा प्रणालीले शहर र आसपासका क्षेत्रमा ७२ वटा यूक्रेनी ड्रोन खसालिदिएको जनाएको छ । आक्रमणबाट तेल टर्मिनलमा क्षति पुगेको बताइए पनि अहिलेसम्म कुनै हताहत भएको जानकारी दिइएको छैन।
यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हमलालाई रूसविरुद्ध ‘लामो दूरीको कारबाही’ भनेका छन् । उनले यूक्रेनी सेनाले तेल टर्मिनल मात्र होइन, सेन्ट पीटर्सबर्ग नजिकैको क्रोनस्टाट टापुमा रहेको एउटा महत्वपूर्ण सैन्य अखडालाई पनि निशाना बनाएको बताए । जेलेन्स्कीले भने, “रूसको तेल पूर्वाधारबाट प्राप्त हुने पैसाले उसको युद्ध संयन्त्रलाई बलियो बनाउँछ, त्यसैले यस्ता ठाउँमा हमला गरिएको हो।”
यूक्रेनले विगतका धेरै महिनादेखि रूसका तेल डिपो, प्रशोधन केन्द्र र इन्धन भण्डारण केन्द्रहरूमाथि निरन्तर ड्रोन हमला गरिरहेको छ । यी हमलाका कारण रूसका विभिन्न भागमा इन्धन आपूर्ति प्रभावित भएको छ र सरकारमाथि दबाब बढेको छ । सेन्ट पीटर्सबर्गको यो क्षेत्रमा जुन महिनामा पनि हमला भएको थियो ।
यसका साथै रूसले कब्जा गरेको क्रिमियामा शनिबार यूक्रेनको हवाइ (ड्रोन) आक्रमणमा एक जनाको मृत्यु भएको छ भने १० वर्षीय बालकसहित दुई जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार, निरन्तर हमलाका कारण धेरै ठाउँमा आम नागरिकका लागि पेट्रोल बिक्री रोक्नुपरेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यूक्रेनका ऊर्जा अखडाहरूमाथि भइरहेका हमलालाई गम्भीर नमान्दै रूसले आफ्नो सैन्य अभियानलाई लक्ष्य पूरा नहुँदासम्म जारी राख्ने बताएका छन् । उनले भने, “यूक्रेन यस्ता हमला गरेर युद्ध मैदानमा आफ्नो कमजोर अवस्थाबाट ध्यान हटाउन खोजिरहेको छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्