नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की अब अन्तरिम प्रधानमन्त्री बनेकी छन् । पञ्चायतकालमै बोल्ड वकिलको छवि बनाइसकेकी कार्की न्यायालयमा रहँदा
समेत निर्भीक र इमानदार निर्णयका लागि चिनिन्थिन् ।
महाभियोगसम्मको विवादको सामना गरे पनि उनले आफ्नो छवि कायम राखेकी हुन् । २००९ सालमा विराटनगरको शंकरपुरमा जन्मिएकी कार्कीको बाल्यकालदेखि नै राजनीतिक वातावरणमा घुलमिल भयो । २००७ सालको क्रान्तिमा सक्रिय उनका पिता डिल्लीबहादुर कार्की र कोइराला परिवारबीच नजिक सम्बन्ध थियो ।
विराटनगरबाट २०२८ बीए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी उनले २०३४ मा त्रिविबाट कानुनमा स्नातक गरेपछि अधिवक्ताका रूपमा २०३५ चैत १६ देखि कानुन व्यवसाय सुरु गरेकी थिइन । २०४२ देखि तीन वर्ष धरानको महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापनसमेत गरेकी हुन् ।
कानुनव्यवसायीका रुपमा पूर्वमा पहिलो महिला वकिलका रूपमा उनले विशेष परिचय बनाइन् । कांग्रेस निकट विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक–सामाजिक संलग्नता पछि माओवादी निकट नागरिक समाजसम्म फैलियो । पति दुर्गा सुवेदीसँगको सहयात्रामा उनले पञ्चायतविरोधी आन्दोलन, विमान अपहरणदेखि स्वतन्त्र उम्मेदवारीसम्मको राजनीतिक गतिविधि प्रत्यक्ष देखिन् । यही अनुभवले उनलाई दृढ र निडर बनायो ।
२०६५ सालमा सर्वोच्चको न्यायाधीश बनेकी कार्की २०७३ सालमा पहिलो महिला प्रधानन्यायाधीश भइन् । उनले ठेक्का र नियुक्ति विवादलगायत संवेदनशील मुद्दामा निर्भीक फैसला दिइन् । यसै क्रममा तत्कालीन सरकारले महाभियोग दर्ता गरे पनि असफल भयो । यसले उनलाई ‘निडर न्यायाधीश’ को पहिचान दियो ।
जेनजी आन्दोलन उत्कर्षमा पुगेको र दलहरू असफल बनेको अवस्थामा, दुई दिने निर्णायक रस्साकस्सीपछि उनलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको हो । संसद विघटन वा अन्तरिम सरकार भन्ने बहसमा अन्ततः उनी देशको सर्वोच्च कार्यकारी बन्न सफल भइन् ।