नेभिगेशन
खेलकुद

अमेरिकामा फुटबलको आश्चर्यजनक रूपान्तरण

सन् २०२६ को फिफा विश्वकप अमेरिकामा भव्य देखिएको छ तर ३२ वर्षअघि, अर्थात् सन् १९९४ मा विश्वकप आयोजना गर्दाको अवस्था अहिलेको भन्दा बिल्कुलै फरक थियो । त्यतिबेला अमेरिकामा व्यावसायिक फुटबल लिग नै थिएन । राष्ट्रिय टोली पनि पूर्व–कलेज खेलाडी, अर्धव्यावसायिक तथा विभिन्न क्लबमा घुमन्ते खेलाडीहरूको भरमा बनेको थियो । विश्वकपका टिकट बिक्री हुने वा नहुने भन्ने विषय आयोजकहरूको सबैभन्दा ठूलो चिन्ता थियो ।
पूर्व अमेरिकी फुटबल महासंघ (यूएस सकर) का अध्यक्ष सुनिल गुलाटीका अनुसार सन् १९९४ अघि विश्वकप सफल हुन्छ भन्नेमा धेरैलाई विश्वास थिएन । तर प्रतियोगिताले सबै अनुमानलाई गलत सावित ग¥यो । करिब ३५ लाख दर्शकले रंगशालामा पुगेर खेल हेरे । यो त्यसबेलाको विश्वकप इतिहासकै सर्वाधिक उपस्थिति थियो । अमेरिका सन् १९३० पछि पहिलोपटक समूह चरण पार गर्दै अन्तिम १६ मा पुग्यो, जहाँ अन्ततः च्याम्पियन बनेको ब्राजिलसँग १–० ले पराजित भयो । यही विश्वकपले अमेरिकामा व्यावसायिक फुटबलको जग बसाल्यो र दुई वर्षपछि मेजर लिग सकर (एमएलएस) स्थापना भयो ।
आज अमेरिकाको फुटबल परिदृश्य पूर्ण रूपमा बदलिएको छ । एमएलएस अहिले ३० टोलीसम्म विस्तार भएको छ । लिगका २२ वटा फुटबल–विशेष रंगशाला छन् र प्रत्येक खेलमा औसत २० हजारभन्दा बढी दर्शक उपस्थित हुन्छन् । विश्वकप २०२६ का टिकटको माग उपलब्ध टिकटभन्दा निकै बढी छ, जसले फुटबलप्रतिको लोकप्रियता उल्लेखनीय रूपमा बढेको देखाउँछ ।
गुलाटीका अनुसार १९९४ मा यस्तो अवस्था आउला भन्ने कसैले कल्पना पनि गरेको थिएन । अहिले अमेरिकामा पुरुषका १०२ र महिलाका २५ गरी १२७ व्यावसायिक फुटबल टोली सञ्चालनमा छन् । महिलाको राष्ट्रिय लिग (एनडब्ल्युएसएल) पनि निरन्तर विस्तार भइरहेको छ । उनले विश्वका सबैभन्दा मूल्यवान ५० फुटबल क्लबमध्ये १८ वटा एमएलएस क्लब पर्नु आफैंमा असाधारण उपलब्धि भएको बताए । महिलाको फुटबलमा पनि ठूलो व्यावसायिक लगानी हुन थालेको छ ।
अमेरिकामा फुटबलको यो विकासमा तत्कालीन फिफा अध्यक्ष जोआओ हाभेलान्जेको भूमिका महत्त्वपूर्ण मानिन्छ । उनले विश्व फुटबलको दीर्घकालीन विकासका लागि अमेरिकी बजार अपरिहार्य रहेको बुझेर १९९४ को विश्वकप अमेरिकालाई दिएका थिए । त्यसको एउटा प्रमुख सर्त अमेरिकामा व्यावसायिक फुटबल लिग स्थापना गर्नु पनि थियो ।
यद्यपि अमेरिकामा फुटबलको इतिहास निकै पुरानो छ । सन् १८८४ मै अमेरिकन कप सुरु भएको थियो । तर त्यसपछि बनेका अधिकांश व्यावसायिक लिग टिक्न सकेनन् । सन् १९८४ मा नर्थ अमेरिकन सकर लिग (एनएएसएल) बन्द भएपछि अमेरिकामा फुटबलको भविष्य नै अन्योलमा परेको थियो । त्यही समयमा फिफाले हस्तक्षेप गर्दै विश्वकप आयोजना र नयाँ व्यावसायिक लिग स्थापना गर्ने योजना अघि बढाएको थियो ।
फ्लोरिडाका फुटबल प्रशासक तथा पूर्व खेलाडी फारुख कुरैशीका अनुसार फिफाले धेरै पहिल्यै विश्व फुटबलको दीर्घकालीन सफलता अमेरिकाको सफलतासँग जोडिएको बुझिसकेको थियो । उनका अनुसार अमेरिका ठूलो र सम्पन्न बजार भएकाले फुटबलको विस्तार समयको मात्र प्रश्न थियो । अहिले एनएफएल टोलीका मालिकहरू नै एमएलएस क्लबमा लगानी गरिरहेका छन् ।
सन् १९९६ मा एमएलएसको पहिलो खेल क्यालिफोर्नियाको सान होजेमा भएको थियो । त्यस खेलमा सान होजे क्ल्यासले डीसी युनाइटेडलाई १–० ले हराएको थियो । त्यसपछि अमेरिकाभर फुटबल–विशेष रंगशाला निर्माण हुन थाले । सन् १९९९ मा कोलम्बस क्रु स्टेडियम बनेपछि आधुनिक फुटबल पूर्वाधारको विस्तारले गति लियो । अहिले अधिकांश एमएलएस टोली आफ्नै आधुनिक रंगशालामा खेल्छन् ।
यद्यपि अमेरिकामा फुटबलको विकाससँगै केही चुनौती पनि छन् । सन् १९९४ को अमेरिकी टोलीका पूर्व स्ट्राइकर एरिक विनाल्डाका अनुसार एमएलएसले व्यावसायिक वातावरण त बनाएको छ, तर अमेरिकी खेलाडीको गुणस्तर अपेक्षाअनुसार उकास्न सकेको छैन । उनका अनुसार धेरै खेलाडी न्यूनतम तलबमा सीमित छन् र विदेशी खेलाडीको प्रभावका कारण स्थानीय प्रतिभाले पर्याप्त अवसर पाएका छैनन् ।
विनाल्डाले प्रतिस्पर्धात्मक संस्कृति कमजोर बन्दै गएको भन्दै युरोपेली शैलीको पदोन्नति–अवनति (प्रोमोशन एन्ड रिलिगेशन) प्रणाली लागू गर्नुपर्ने सुझाव दिएका छन् । उनका अनुसार रेलिगेसनको दबाबमा खेल्दा मात्र खेलाडीमा जित्ने मानसिकता र संघर्ष गर्ने बानी विकास हुन्छ ।
एमएलएस आर्थिक रूपमा सफल भए पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा यसको प्रदर्शन अझै मिश्रित छ । सन् २०२२ मा सिएटल साउन्डर्सले कोनकाकाफ च्याम्पियन्स लिग जित्दै २२ वर्षपछि कुनै एमएलएस क्लबलाई यो उपाधि दिलाएको थियो ।
पूर्व अमेरिकी राष्ट्रिय टोलीका डिफेन्डर एलेक्सी लालासका अनुसार १९९४ को विश्वकप र एमएलएसले अमेरिकामा फुटबललाई पूर्ण रूपमा नयाँ पहिचान दिएको छ । उनका अनुसार फुटबल अझै एनएफएल वा बेसबलजत्तिकै लोकप्रिय नभए पनि अहिले यो अमेरिकी खेल संस्कृतिको अभिन्न हिस्सा बनिसकेको छ । सडकमा फुटबल क्लबका जर्सी लगाउने युवाको संख्या, विश्वभरका खेलहरूको नियमित प्रसारण र लियोनेल मेस्सीजस्ता विश्वप्रसिद्ध खेलाडीको एमएलएस आगमनले यसको लोकप्रियता झन् बढाएको छ ।
लालासको विश्वास छ कि घरेलु समर्थकको साथले अमेरिका विश्वकप २०२६ मा क्वार्टरफाइनलसम्म पुग्न सक्छ । यता, गुलाटीले पनि विश्वकपपछि अमेरिकामा फुटबलको लोकप्रियता र व्यावसायिक विकास अझ तीव्र हुने अपेक्षा व्यक्त गरेका छन् । उनका अनुसार यही दीर्घकालीन विकासको लक्ष्य राखेर अमेरिकाले विश्वकप आयोजना गर्ने प्रयास गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्