नेभिगेशन
खेलकुद

खेल हारे पनि मन जित्दै बिदा भयो केप भर्डे

सन् २०२६ को फिफा विश्वकपबाट केप भर्डेको यात्रा समाप्त भएको छ । तर प्रतियोगितामा दोस्रो सबैभन्दा सानो राष्ट्रका रूपमा सहभागी भएको यो अफ्रिकी देशले प्रदर्शनमार्फत विश्वभरका फुटबल समर्थकको मन जित्न सफल भएको छ ।
लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एर्लिङ हालान्ड वा ह्यारी केनजस्ता सुपरस्टारभन्दा पनि विश्वकपमा पहिलोपटक सहभागी बनेको केप भर्डे यसपटक चर्चाको केन्द्रमा रह्यो ।
समूह चरणको पहिलो खेलमा गोलरक्षक ८८भोजिन्हा८८को उत्कृष्ट प्रदर्शनको मद्दतमा केप भर्डेले युरोपेली च्याम्पियन स्पेनसँग गोलरहित बराबरी खेल्दै विश्वकप इतिहासकै पहिलो अंक बटुल्यो । त्यसपछि उरुग्वेविरुद्ध उसले विश्वकपमा पहिलो गोल ग¥यो । अन्तिम ३२ को खेलमा भने ८८सिड्नी लोपेस काब्राल८८को शानदार गोलका कारण केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अन्तिम क्षणसम्म कडा चुनौती दियो ।
शुक्रबार राति मियामीमा अतिरिक्त समय सकिएसँगै अर्जेन्टिनाले ३–२ को कठिन जित निकाल्यो । हारसँगै केप भर्डेका खेलाडी मैदानमै भावुक बनेर रोए । तर उनीहरूले अमेरिकाबाट लाखौँ फुटबल समर्थकको सम्मान र माया जितेर फर्कने निश्चित भएको छ ।
पूर्व स्कटल्यान्ड अन्तर्राष्ट्रिय खेलाडी जेम्स म्याकफ्याडेनले भने, “केप भर्डे हार्यो, तर वास्तवमा जित्यो । उनीहरूले साहस, एकता, आत्मविश्वास र अदम्य विश्वास प्रस्तुत गरे । यस विश्वकपको सबैभन्दा सुन्दर कथा केप भर्डेकै हो ।”
विश्व वरीयताको ६७औँ स्थानमा रहेको केप भर्डेले समूह चरणका तीनै खेल बराबरी खेलेको थियो । पहिलो खेलमै स्पेनलाई रोक्दै उसले सबैको ध्यान तानेको थियो । त्यसपछि अन्तिम ३२ मा अर्जेन्टिनाविरुद्ध विश्वकप इतिहासकै ठूलो उलटफेरमध्ये एक गर्न उसले भरपुर प्रयास ग¥यो ।
मेस्सीको गोलबाट पछि परेको केप भर्डेले खेल १–१ को बराबरीमा ल्यायो र खेल अतिरिक्त समयमा धकेल्यो । अतिरिक्त समयमा फेरि पछि परे पनि काब्रालको आकर्षक गोलबाट पुनः बराबरी ग¥यो । तर खेल सकिन १० मिनेट बाँकी रहँदा क्रिस्टियन रोमेरोको हेडर डिफेन्डर डिनेय बोर्जेसमा लागेर गोल भएपछि अर्जेन्टिनाले कठिन जित निकाल्न सफल भयो ।
पूर्व इंग्ल्यान्ड डिफेन्डर ग्यारी नेभिलले यसलाई आफूले कुनै कमजोर टोलीबाट देखेको उत्कृष्ट प्रदर्शनमध्ये एक भएको बताए । उनले भने, “केप भर्डेका खेलाडीहरू घर फर्किनुपरेकोमा रोइरहेका छन् । उनीहरू अझै यही रहिरहन चाहन्थे । केही खेलाडीका लागि यस्तो अवसर जीवनमा फेरि नआउन पनि सक्छ । यो क्षण जादुमय पनि थियो र अत्यन्त भावुक पनि ।“
‘अब कसैले केप भर्डे कहाँ पर्छ भनेर सोध्दैन’
हारपछि पनि प्रशिक्षक बुबिस्ता आफ्नो टोलीप्रति अत्यन्त गर्वित देखिए । उनका अनुसार विश्व च्याम्पियन अर्जेन्टिनालाई पेनाल्टी सुटआउटसम्म धकेल्नबाट टोली केवल १० मिनेट टाढा थियो ।
उनले भने, “हामी सानो देश भए पनि संसारका उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने प्रमाणित गरेका छौँ । यो हाम्रो देशका लागि गौरवको विषय हो । विश्व च्याम्पियनविरुद्ध दुईपटक बराबरीमा फर्किनु अविश्वसनीय उपलब्धि हो ।”
केप भर्डेका डिफेन्डर रोबर्टो ’पिको’ लोपेसका अनुसार यस विश्वकपको सबैभन्दा ठूलो उपलब्धि भनेकै संसारले अब केप भर्डेलाई चिन्ने भएको हो । उनले भने, “पहिले मानिसहरू नक्सामा केप भर्डे कहाँ छ भनेर सोध्थे । अब त्यो प्रश्न सोध्ने छैनन् । हामीले आफ्नो देशलाई विश्व फुटबलको नक्सामा स्थापित गरेका छौँ । हामी सानो राष्ट्र हौँ, तर हाम्रो हृदय ठूलो छ । विश्वास भए असम्भव पनि सम्भव हुन्छ भन्ने हामीले देखाएका छौँ ।”
४८ टोलीको विश्वकपको औचित्य प्रमाणित
विश्वकपलाई ४८ टोलीमा विस्तार गर्ने निर्णयलाई लिएर प्रतियोगिताअघि धेरै बहस भएको थियो । तर ग्यारी नेभिलले अब आफू कहिल्यै त्यसको आलोचक नहुने बताए । पूर्व इंग्ल्यान्ड स्ट्राइकर इयान राइटले पनि फिफाले यस्ता साना राष्ट्रलाई अझ बढी अवसर दिनुपर्ने बताए ।
उनका अनुसार, “फिफाले प्राप्त गर्ने स्रोत–साधन सबै देशसम्म पुग्नुपर्छ । अवसर पाए साना देशहरूले पनि विश्व च्याम्पियनसँग बराबरीको प्रतिस्पर्धा गर्न सक्छन् भन्ने केप भर्डेले देखाएको छ । उनीहरूको प्रदर्शन साँच्चै असाधारण थियो ।”
विश्वकपका नयाँ नायक भोजिन्हा
समूह चरणमा स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि ४० वर्षीय गोलरक्षक भोजिन्हा विश्वभर चर्चित बने । खेलपछि आँसु झार्दै राष्ट्रिय झण्डा फहराइरहेको उनको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो ।
तर उनको लोकप्रियता केवल त्यो भावुक क्षणका कारण मात्र होइन, उत्कृष्ट खेलका कारण पनि हो । हाल कुनै क्लबसँग आबद्ध नरहेका भोजिन्हाको पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएको छ । ग्यारी नेभिलका अनुसार विश्वकपपछि भोजिन्हाले राम्रो क्लब पाउने निश्चित छ । उनले भने, “भोजिन्हाले यस विश्वकपपछि उत्कृष्ट क्लब पाउनेछन् । उनी शान्त, संयमित र उत्कृष्ट गोलरक्षक हुन् । यस्तो खेलाडीबारे हामीले पहिले किन थाहा पाएनौँ?” इयान राइटले पनि भोजिन्हालाई “साँचो नायक” बताएका छन् ।
मियामीमा अर्जेन्टिनाविरुद्ध उनले आठ उत्कृष्ट बचाउ गरेका थिए । यस विश्वकपमा उनको कुल १८ बचाउ रह्यो, जुन प्रतियोगितामा तेस्रो धेरै हो । उनीभन्दा अगाडि केवल कुरासाओका एलोय रुम (२०) र पाराग्वेका ओर्लान्डो गिल (१९) मात्र रहेका छन् ।
विश्वकपबाट केप भर्डेको यात्रा टुंगिए पनि साहस, संघर्ष र अदम्य आत्मविश्वासले भरिएको उसको प्रदर्शन लामो समयसम्म फुटबल समर्थकहरूको स्मृतिमा जीवित रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्