नेभिगेशन
प्रदेश

हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

नारायणगढ । चितवनको भरतपुर–२३ बेलहट्टामा शनिबार राति जंगली हात्तीको आक्रमणमा परी आमा–छोराको मृत्यु भएको छ । घटनाले स्थानीयमा शोकसँगै आक्रोस छ । घटनापछि हात्ती आतंक नियन्त्रण र न्यायिक क्षतिपूर्तिको माग गर्दै आइतबार स्थानीयबासीले चितवन राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालयमा धर्ना दिएका थिए । 
निकुञ्ज प्रशासन र स्थानीयवासीबीच भएको वार्तामा चारबुँदे सहमति भएको छ । सरकारले तत्काल राहत, सुरक्षित आवास र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका दीर्घकालीन उपाय अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
स्थानीयका अनुसार पूर्ण बोटेका श्रीमती २५ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरतको ज्यान ‘धुर्बे’ भनिने जंगली भाले हात्तीले लिएको हो । उक्त मत्ता राति निकुञ्ज क्षेत्रबाट निस्केर बोटेको आँगनमा पुगेको थियो, कच्ची घरमा पसेर सुतिरहेका आमाछोरामाथि स्थानीय आक्रमण गरेको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
हात्ती धपाउने प्रयासमा पूर्ण बोटेले आगो बाल्दा घरसमेत जलेर नष्ट भएको थियो । इप्रका गीतानगरबाट पुगेको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाएको थियो ।
घटनापछि आक्रोशित स्थानीयवासीले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखेर धर्ना दिएका थिए । त्यसपछि भएको छलफलमा हात्तीलाई तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत उपलब्ध गराउने, जलेको घर पुनर्निर्माण गर्ने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने चारबुँदे सहमति भएको हो ।
घटनास्थल पुगेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै नियमअनुसार मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने र आवश्यक प्रक्रिया पूरा गरी असार २५ गतेभित्र रकम हस्तान्तरण गर्ने तयारी भइरहेको बताइन् । उनले निकुञ्ज आसपासका बस्तीमा कमजोर घर संरचनाका कारण मानवीय क्षति बढिरहेको उल्लेख गर्दै सुरक्षित आवास निर्माण, वन्यजन्तुको गतिविधि प्रविधिमार्फत निगरानी तथा स्थानीय तह, निकुञ्ज र संघीय सरकारबीच समन्वय गरेर दीर्घकालीन समाधान खोजिने प्रतिबद्धता जनाइन् ।
स्थानीयवासीका अनुसार ‘धुर्बे’ हात्तीले लामो समयदेखि चितवनका बस्तीमा आतंक मच्चाउँदै आएको छ । निकुञ्जका अनुसार यसले २०६६ सालदेखि बस्ती पसेर आक्रमण गरेका घटना छन् । उक्त मत्ताले हालसम्म कम्तीमा २५ जनाको ज्यान लिइसकेको छ । २०६९ सालमा यसलाई नियन्त्रणका क्रममा गोलीसमेत प्रहार गरिएको थियो । मार्ने आदेश पनि जारी भएको थियो । आदेश जारी भएर खोजी थालिँदा उक्त हात्ती केही वर्ष हराएको थियो । पछि पुनः देखापरेर २०७४ सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान लिएको थियो ।
यसपटकको घटनाले बोटे परिवारको पुरानो पीडा पुनः दोहोरिएको छ । मृतक आशिकाका ससुरा शनिचरा बोटेका बुबा बुद्धिराम र आमा झरलीको पनि २०६९ सालमा यही धुर्बे हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । त्यसपछि माडीबाट बसाइँ सरेर जगतपुर पुगेका शनिचराले १४ वर्षको अवधिमा उही हात्तीका कारण परिवारका चार सदस्य गुमाएका छन् । चितवन राष्ट्रिय निकुञ्जले धुर्बेलगायत आक्रामक हात्तीको गतिविधि निगरानी गर्न स्याटेलाइट कलर प्रयोग गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्