नेभिगेशन
विश्व

कतारी उपहार ट्रम्पको नयाँ ‘एयर फोर्स वन’

वासिङ्टन डिसी (एजेन्सी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार लामो समयदेखि प्रतीक्षामा रहेको आफ्नो नयाँ ‘एयर फोर्स वन’ विमानमा पहिलो पटक यात्रा गरे । कतार सरकारले अमेरिकालाई उपहारस्वरूप दिएको बोइङ ७४७–८ लक्जरी जेटलाई अत्याधुनिक सुरक्षा र सञ्चार प्रणालीसहित राष्ट्रपति प्रयोगका लागि तयार पारिएको हो ।
यस विमानमा नयाँ रङरोगन गरिएको छ । आरामदायी छालाका ‘लाई–फ्ल्याट’ सिट राखिएका छन् भने पुस्तकालयजस्तै देखिने बुकसेल्फहरू पनि सजाइएका छन् । द वाल स्ट्रिट जर्नलका एक पत्रकार पनि उक्त पहिलो उडानमा सहभागी थिए ।
राष्ट्रपतिको सुरक्षित सञ्चार सुनिश्चित गर्न नयाँ सञ्चार प्रणाली जडानसहित विमानमा करिब ४० करोड अमेरिकी डलर बराबरको परिमार्जन गरिएको छ । कतारी शाही परिवारले प्रयोग गर्दै आएको निजी विमानको भित्री सजावटमा पनि केही परिवर्तन गरिएको छ ।
ट्रम्पले विमानको बाहिरी रङरोगन आफैंले छनोट गरेका थिए । यसअघि ‘एयर फोर्स वन’ मा प्रयोग हुने सेतो र हल्का नीलो रङ हटाएर रातो, सेतो, गाढा नीलो र सुनौलो रङ प्रयोग गरिएको छ । यो ट्रम्पको निजी विमानको शैलीसँग मिल्दोजुल्दो छ ।
नयाँ विमानको प्रेस क्याबिन पुरानो ‘एयर फोर्स वन’ भन्दा ठूलो र फराकिलो बनाइएको छ । वरिष्ठ ह्वाइट हाउस कर्मचारी र सुरक्षा अधिकारीका लागि पनि छुट्टै बस्ने व्यवस्था गरिएको छ । बुधबारको उडानमा विमानभित्रका टेलिभिजनमा उपलब्ध एकमात्र च्यानल फक्स न्यूज थियो । यो ट्रम्पको मनपर्ने समाचार टीभी च्यानल पनि हो ।
ट्रम्प नर्थ डकोटा राज्यमा पूर्वराष्ट्रपति थियोडोर रुजवेल्टको राष्ट्रपति पुस्तकालय उद्घाटन कार्यक्रममा सहभागी हुन यही विमानमार्फत पुगेका थिए । उडानअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘यो सम्भवतः विश्वकै उत्कृष्ट व्यावसायिक विमानको पहिलो उडान हो ।’
यो विमान स्थायी रूपमा होइन, अस्थायी रूपमा प्रयोग गरिनेछ । बोइङले राष्ट्रपतिका लागि परिमार्जन गरिरहेका दुई नयाँ विमान अझै तयार नभएकाले ती उपलब्ध नभएसम्म यही विमान प्रयोग गरिनेछ । यो विमानले राष्ट्रपति जर्ज एच. डब्लु. बुशको कार्यकालदेखि प्रयोग हुँदै आएको बोइङ ७४७–२०० ‘एयर फोर्स वन’लाई अस्थायी रूपमा प्रतिस्थापन गरेको हो ।
गत वर्ष ट्रम्पले आफूले प्रयोग गर्ने राष्ट्रपति विमान धेरै पुरानो र सानो भएको गुनासो गरेपछि कतार सरकारले यो विमान अमेरिकालाई उपहार दिएको थियो । कतारबाट विमान स्वीकार गर्दा नैतिकता र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्न उठाउँदै डेमोक्रेट तथा रिपब्लिकन दुवै दलका नेताहरूले आलोचना गरेका थिए । तर ट्रम्पले ती आलोचनालाई अस्वीकार गर्दै भने, ‘यसलाई लुकाउन पनि सकिन्छ, देखाउन पनि सकिन्छ । मेरो विचारमा देशले यसमा गर्व गर्नुपर्छ ।’
ट्रम्पले पहिलो कार्यकालदेखि नै नयाँ राष्ट्रपति विमान चाहेका थिए । सन् २०१७ मा बोइङलाई दुईवटा ७४७ विमान परिमार्जन गर्ने जिम्मा दिइए पनि परियोजना बारम्बार ढिला भइरहेको छ । अमेरिकी वायुसेनाले पहिलो विमान सन् २०२८ को मध्यसम्म मात्र प्राप्त हुने अपेक्षा गरेको छ ।
सन् २०२४ को अन्त्यतिर, ट्रम्प पुनः निर्वाचित भएपछि अमेरिकी वायुसेनाले वैकल्पिक विमान खोज्न थालेको थियो । बोइङले सन् २०२३ मै ७४७ उत्पादन बन्द गरिसकेकाले नयाँ विमान किन्न सम्भव थिएन । त्यसपछि प्रयोग भइसकेका ७४७–८आई विमान खोज्ने काम सुरु भयो ।
त्यतिबेला विश्वभर करिब चार दर्जन मात्र ७४७–८आई यात्रुवाहक विमान सञ्चालनमा थिए । तीमध्ये १० वटा विशिष्ट व्यक्तिका निजी विमान थिए र कुनै पनि अमेरिकाभित्र थिएनन् । तीमध्ये एउटा विमान अहिले ट्रम्पले प्रयोग गरिरहेको कतारी विमान हो ।
ट्रम्पले फेब्रुअरी २०२५ मा फ्लोरिडाको पाम बिच अन्तर्राष्ट्रिय विमानस्थलमा यो विमानको निरीक्षण गरेका थिए । त्यसपछि २०२५ को वसन्तमा यसको स्वामित्व अमेरिकी वायुसेनालाई हस्तान्तरण गरियो । त्यसपछि टेक्सासस्थित एलइ ह्यारिस टेक्नोलजिजको केन्द्रमा लगेर राष्ट्रपतिले ह्वाइट हाउसमा बसेझैं सुरक्षित आवाज र भिडियो संवाद गर्न सक्ने विशेष सञ्चार प्रणाली जडान गरियो ।

सो टेक्नोलजिजका अध्यक्षहरूमध्ये एक जेसन ल्याम्बर्टका अनुसार अमेरिकाको २५०औं स्थापना दिवस समारोहअघि नै विमान सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । अमेरिकी वायुसेनाले जारी गरेको विज्ञप्तिमा विमान ‘राष्ट्रपतिको जिम्मेवारी पूरा गर्न आवश्यक पर्ने सबैभन्दा उन्नत प्रविधिसहित सुरक्षित र भरपर्दो’ रहेको उल्लेख गर्दै परिमार्जनमा ‘सौन्दर्यभन्दा मिसनलाई प्राथमिकता दिइएको’ जनाएको छ । त्यसैले पूर्व राष्ट्रप्रमुखका लागि बनाइएको भित्री संरचनामा धेरै परिवर्तन गरिएको छैन ।
भित्री सजावटमा अरबी भाषाका इमरजेन्सी एक्जिटका संकेत हटाइएको छ भने कतारी शाही परिवारले राखेका आधुनिक कलाकृति पनि निकालिएका छन् । यद्यपि विलासी छालाका सिट, सोफा र पुस्तकालयजस्ता देखिने कृत्रिम बुकसेल्फहरू भने यथावत् छन् । भित्तामा अमेरिकी राष्ट्रपतिको आधिकारिक छाप राखिएको छ भने ‘रिफ्लेक्टिङ पुल’मा पौडी खेलिरहेको हाँसको तस्वीरलगायत देशभक्तिपूर्ण कलाकृति पनि सजाइएका छन् ।
दुई तले विशाल बोइङ ७४७–८ राख्नका लागि अमेरिकी वायुसेनाले जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा करिब ३२ करोड अमेरिकी डलरको लागतमा चार लाख वर्गफुट क्षेत्रफलको विशेष ह्यांगर परिसरसमेत निर्माण गरेको द वाल स्ट्रिट जर्नलले लेखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्