नेभिगेशन
विश्व

खामेनीको अन्त्येष्टिमा हजारौं सहभागी

तेहरान (एपी) — इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आइतबार राजधानी तेहरानमा उल्लेख्य संख्यामा शोकाकुल नागरिक सहभागी भएका छन् । अन्त्येष्टिमा इरानका शीर्ष अधिकारी तथा नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीका दाजुभाइ सार्वजनिक रूपमा देखिएपछि युद्धपछिको सुरक्षा अवस्थाप्रति सरकार विश्वस्त रहेको सन्देश गएको विश्लेषण गरिएको छ ।
तेहरानको ग्रान्ड मोसल्लामा आयोजित प्रार्थना सभामा सहभागी भीडले ‘अमेरिका मरी जाओस्’ र ‘इजरायल मरी जाओस्’ भन्दै नारा लगाउनुका साथै फेब्रुअरी २८ मा भएको आक्रमणको बदला लिनुपर्ने माग गरेका थिए । केही कट्टरपन्थी प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्नुपर्ने नारा समेत लगाएका थिए ।
९७ वर्षीय शिया धर्मगुरु अयातोल्लाह जाफर सोभानीले दिवंगत खामेनी तथा सोही आक्रमणमा मारिएका अन्य अधिकारीहरूको सम्झनामा अन्त्येष्टि प्रार्थनाको नेतृत्व गरेका थिए । कार्यक्रममा राष्ट्रपति मसुद पेजेशकियान, संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफ, कुद्स फोर्सका प्रमुख इस्माइल कानी तथा रिभोलुसनरी गार्डका प्रमुख जनरल अहमद वहिदीलगायत उच्च अधिकारी सहभागी थिए ।
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी भने अन्त्येष्टिमा सार्वजनिक भएका छैनन् । उनी आफ्ना पितामाथि भएको आक्रमणमा घाइते भएपछि सुरक्षाका कारण गोप्य स्थानमा रहेको विश्वास गरिएको छ ।
यसैबीच, युद्धको स्थायी अन्त्य, होर्मुज जलमार्ग पूर्ण रूपमा खुला राख्ने तथा इरानको विवादास्पद आणविक कार्यक्रम सीमित गर्ने विषयमा अमेरिका–इरानबीचको वार्ता अन्त्येष्टि सम्पन्न नभएसम्म स्थगित भएको छ ।

इरानले युद्धका क्रममा बन्द गरेको होर्मुजमाथि केही नियन्त्रणको माग दोहो¥याइरहेको छ भने अमेरिकाले त्यसलाई अस्वीकार गरेको छ । अमेरिकी नौसेनाको निगरानीमा रहेको बहुराष्ट्रिय समुद्री निकायका अनुसार पछिल्लो ७२ घण्टामा उक्त जलमार्गबाट ७० वटा जहाज सुरक्षित रूपमा आवतजावत गरेका छन् । यद्यपि युद्धअघिको तुलनामा आवागमन अझै कम रहेको र सुरक्षा जोखिम उच्च नै रहेको जनाइएको छ ।
अन्त्येष्टि कार्यक्रम बिहीबारसम्म सञ्चालन हुनेछ । त्यसपछि खामेनीको शव उनको जन्मस्थान मशहदस्थित इमाम रेजा दरगाहमा अन्तिम संस्कार गरिने कार्यक्रम छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्