नेभिगेशन
खेलकुद

खेल विज्ञान र प्रविधिले बढायो खेलाडीको आयु

धेरै खेलकुदका स्टारहरूले नाटकीय रूपमा खेलमा पुनरागमन गरेका छन्ः माइकल जोर्डनको बास्केटबलमा फिर्ती; टोकियो ओलम्पिकबाट बाहिरिएपछि पेरिस ओलम्पिकमा सिमोन बाइल्सले जितेको स्वर्ण पदक अनि गम्भीर चोटलाई जित्दै एन्डी मरेले युरोपियन ओपन जितेको क्षण । तर, विम्बल्डनमा सेरेना विलियम्सको पुनरागमनले जति उत्साह अरू कसैले जगाउन सकेको छैन ।

चार पटककी ओलम्पिक स्वर्ण पदक विजेता र २३ पटककी ग्र्यान्ड स्ल्याम उपाधि विजेता, हाल ४४ वर्षकी विलियम्सले गत हप्ता ‘वाइल्ड कार्ड’ स्वीकार गरिन् । यसको अर्थ चार वर्षको विश्रामपछि उनले अस्ट्रेलियाकी २० वर्षीया माया जोइन्टसँग खेलेर प्रशंसकको मन जितिन्  ।

उनले आफ्नो शारीरिक तयारीलाई ‘उकालो बाटोमा साइकल चलाए जस्तै’ भनी वर्णन गरेकी छिन् । आफ्नी ४६ वर्षीया दिदी भेनससँग डबल्समा पनि प्रतिस्पर्धा गरिरहेकी विलियम्स आफ्नो खेल जीवन लम्ब्याउने एक्लो खेलाडी भने होइनन्, ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो यस वर्षको विश्वकपमा सबैभन्दा बढी उमेरका आउटफिल्ड खेलाडी हुन् भने अर्जेन्टिनाका स्ट्राइकर ३९ वर्षीय लियोनेल मेस्सीले गत हप्ता यस प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने कीर्तिमान तोडेका छन् ।
‘विगत १५ देखि २० वर्षमा मानव जीवविज्ञान बदलिएको होइन, बरु विज्ञानको व्यवस्थित प्रयोग बढेको हो,’ ट्राइथलीटहरूका विशेषज्ञ तथा हाई–परफर्मेन्स कोच रस क्लार्क भन्छन् । उनका अनुसार, निद्राको गुणस्तरदेखि मुटुको धड्कनको उतारचढाव र ल्याक्टिक एसिडको स्तरसम्म सबै कुरा निगरानी गर्ने नयाँ प्रविधि र ट्र्याकिङ उपकरणहरूका कारण खेलाडीहरूले आफ्नो प्रदर्शनलाई उत्कृष्ट बनाउन र चोटपटकबाट बच्न सकेका छन्, जसले गर्दा उनीहरू पाको उमेरमा पनि खेललाई निरन्तरता दिन सक्षम भएका छन् ।
विलियम्सका लागि यो पुनरागमन निकै महŒवपूर्ण छ; उनले सातपटक विम्बल्डन सिंगल्सको उपाधि जितेकी छिन्, जसमा सबैभन्दा पछिल्लो उपाधि २०१६ मा थियो । त्यसपछि उनका दुई सन्तान भए— २०१७ मा एलेक्सिस ओलम्पिया र २०२३ मा अदिरा रिभर । एलेक्सिसको जन्मपछि, आकस्मिक सिजेरियन सेक्सनका कारण विलियम्स छ हप्तासम्म ओछ्यान परेकी थिइन् । विम्बल्डनको वाइल्डकार्ड निश्चित गर्नुअघि उनले ठट्टा गर्दै भनेकी थिइन्, “यदि म सिङ्गल्स खेल्न चाहन्छु भने सायद अलि बढी ट्रेनिङ गर्नुपर्नेछ ।”
सन् २००८ देखि २०२२ सम्म विलियम्ससँग काम गरेका खेल जीवन लम्ब्याउने विशेषज्ञ म्याकी शिल्स्टोनका अनुसार, त्यो ट्रेनिङ उनको फिटनेस स्तरको कडा परीक्षणबाट सुरु भएको हुनुपर्छ । उनी पाको उमेरका खेलाडीहरूसँग काम गर्दा सुरुमा ‘स्ट्रेस टेस्ट’ मार्फत उनीहरूको श्वासप्रश्वास र मुटुको प्रणाली परीक्षण गर्छन् । यस अन्तर्गत ट्रेडमिलमा दौडने वा विभिन्न अभ्यासहरू गराइन्छ । मैदान फर्कने वा पाको उमेरका खेलाडीहरूका लागि ‘थकाइको अवस्था महŒवपूर्ण हुन्छ,’ शिल्स्टोन भन्छन्, ‘यदि तपाईंले आफ्नो थकाइ सहन सक्ने क्षमता र प्रतिरोधी शक्ति बढाउनुभयो भने, तपाईंको तागत पनि बढ्छ ।’
यसपछि ‘डेक्सा स्क्यान’ गरिन्छ, जुन एउटा एक्स–रे हो जसले शरीरमा बोसो, हड्डी, पानी र मांसपेशीको मात्रा नाप्छ । यो स्क्यानबाट प्राप्त सही तथ्यांकले सामान्य तौल र बीएमआईको ठाउँ लिन्छ, जसले गर्दा प्रशिक्षक र पोषणविद्हरूलाई खेलाडीको शरीरको आवश्यकतानुसार क्यालोरी र म्याक्रोन्युट्रिएन्ट (प्रोटिन, कार्बोहाइड्रेट र बोसो) मिलाउन सजिलो हुन्छ ।
विलियम्सले जीएलपी–१ नामक तौल घटाउने औषधिको प्रयोग र प्रचार गरेर विवाद पनि निम्त्याएकी छिन् । फेब्रुअरीमा भएको सुपर बोलको विज्ञापनमा देखा पर्दै उनले दोस्रो सन्तानको जन्मपछि यो औषधिले आफूलाई १४ केजी तौल घटाउन मद्दत गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘म सधैं प्रतिस्पर्धामा रहने र आफ्नो पूरै जीवन अत्यन्तै स्वस्थ बिताएकी एक सर्वोत्कृष्ट खेलाडी थिएँ, तर म जति नै प्रयास गर्दा पनि आफ्नो पुरानो लयमा फर्कन सकिरहेकी थिइनँ ।’
गत महिना गरिएको एउटा अध्ययनले यस्ता औषधि प्रयोग गर्ने मानिसहरूको घट्ने तौलमध्ये एक तिहाइ हिस्सा मांसपेशी र हड्डीबाट जाने देखाएको छ । यसको असर कम गर्न ‘स्ट्रेंथ ट्रेनिङ (शारीरिक शक्ति बढाउने अभ्यास) कार्यक्रम एकदमै जरुरी हुन्छ, शिल्स्टोन भन्छन् ।
सन् २०२१ को युएस ओपन जित्दा एम्मा राडुकानुसँग काम गरेकी पोषणविद् केट शिल्यान्डका अनुसार खेलकुदमा मांसपेशी बनाउन र थकानबाट बच्न खानपान अत्यावश्यक छ । “तपाईंको शरीरमा ऊर्जाको कमी हुनु हुँदैन । कम खानेकुराले हड्डी, हर्मोन, रोग प्रतिरोधात्मक क्षमता र मांसपेशीलाई नष्ट गर्छ,’ उनी भन्छन् ।
टेनिस जस्ता बढी दबाब पर्ने खेलहरूमा चोटपटकको जोखिम बढी हुन्छ । त्यसैले पाको उमेरका खेलाडीहरूका लागि ट्रेनिङमा आराम गर्ने समय रणनीतिक रूपमा तय गरिन्छ, जसमा कम कडा अभ्यास हुने दिनहरू बढी राखिन्छन् ।
यी सबै कुरा नियन्त्रणमा भएपछि खेलाडीहरूले पुरानै स्तरमा खेलिरहन सक्छन् । तर, तीन दशकभन्दा लामो व्यावसायिक टेनिसको अनुभव भएकी विलियम्ससँग एउटा यस्तो क्षेत्र छ जहाँ उनलाई फाइदा पुग्न सक्छ । खेल मनोवैज्ञानिक पल म्याकार्थी भन्छन्, ‘अनुभवको अर्थ अक्सर राम्रो निर्णय लिने क्षमता, खेलको पूर्वानुमान गर्ने कौशल र भावनाहरूलाई नियन्त्रणमा राख्ने कला हो ।’ दबाबको समयमा विलियम्स जस्ता खेलाडीबाट ‘कम उमेरका खेलाडीहरूको तुलनामा धेरै बढी ध्यान, नियन्त्रण, तनाव व्यवस्थापन र भावनात्मक दृढताको अपेक्षा गर्न सकिन्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्