नेभिगेशन
दृष्टिकोण

सत्य बुझौं, सहकार्य गरौँ

नेपालमा राजनीतिक परिवर्तनको लामो यात्रा विद्रोह, बलिदान र संघर्षले सम्भव भएको हो । इतिहास वर्तमानको पुँजी हुन्छ । राणा शासनदेखि पञ्चायत, बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दा परिवर्तनका आन्दोलनसँगै नेता पनि जन्मिए । तर आजको दिनमा आउँदा हिजोका उपलब्धिहरू सुरक्षित छन् कि छैनन् भन्ने प्रश्न गम्भीर रूपमा उठिरहेको छ । यसबेला आवेगमा होइन विवेक र धैर्यतासहित नयाँ निकास दिन संवेदनशील हुन आवश्यक छ ।

एकाएक यो अवस्था कसरी आयो ? नेतृत्व कहाँ चुके भन्ने गम्भीर समीक्षा आवश्यक भइसक्यो । नेतृत्वको पुस्तान्तरण प्रतिको अनिच्छा, दलभित्र अस्वस्थ प्रतिस्पर्धा, भावी सम्भावनाबारे बेवास्ता र संस्थागत कार्यक्रमको अभाव समस्या बने । लोकतान्त्रिक पार्टीभित्रै प्रजातान्त्रिक अभ्यास कति भयो ? नेताहरू आफ्ना साथीलाई शत्रु ठान्ने, नयाँ पुस्तालाई आकर्षित गर्न असफल हुने र व्यक्तिकेन्द्रित बन्ने प्रवृत्तिले दलहरूलाई नै कमजोर बनाइदिएकै हो ।

विचारवान् नेतृत्वलाई पन्छाएर ‘ढोकाको पिल्लर’ जस्ता व्यक्तिलाई पार्टीको आधार बनाउने, हिजो पुजिएका तर आज परिस्थिति बदलिँदा गुमनाम हुने नेताको प्रवृत्ति आम जनतामा निराशा बढाउने खालको छ । राणादेखि राजतन्त्रसम्मका सम्पत्ति सरकारीकरण भए पनि पछिल्ला कालखण्डमा सार्वजनिक सम्पत्ति र स्रोतको दुरुपयोग खुलेआम हुँदै आएकै हो । आक्रोसित युवाहरूरुको एजेण्डामै नभएको ठूला सरकारी सम्पत्तिमाथि भएको आगजनी र तोडफोडका रहस्य र प्रवृत्ति सामान्य छैनन् ।

आज एकाएक नेतृत्वमाथि छानीछानी आक्रमण भएको छ र सबभन्दा धेरै प्रहार नेपाली कांग्रेस लक्षित भए पनि अरु पनि अछुतो रहेनन् । लोकतन्त्रका लागि महत्तवपूर्ण योगदान दिएकाहरूमाथि भएको आक्रमणले नैतिक प्रश्न मात्र खडा गरेको छैन, विगतका उपलब्धिलाई नै अस्वीकृत गर्ने वातावरण पनि बनाइरहेको छ । लगभग २२ खर्बको सम्पत्ति नष्ट भएको अनुमान हुँदा मुलुक कति वर्ष पछाडि धकेलियो प्रन्ने प्रश्न मुखरित भएको छ ।

अब मुलुकलाई निकास दिन सहमति र सहकार्य अपरिहार्य छ । लोकतान्त्रिक अभ्यासलाई प्रतिशोध होइन, संवाद र साझेदारीको बाटोबाट अघि बढाउनुपर्छ । सेना, प्रहरी, अनुसन्धान निकाय, मानव अधिकारकर्मी, पत्रकार, वुद्धिजीवी र नागरिक समाजले संकटमा देखाएको भूमिकाप्रति आभार प्रकट गर्नुपर्छ । समस्याको हल संविधान भित्रै खोज्नुपर्छ । यस घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, परिवारजन प्रति गहिरो समवेदना र घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्