नेभिगेशन
खेलकुद

केप भर्डेका लागि परिवर्तनको संकेत

विश्वकपबाट बाहिरिएपछि केप भर्डेको टोली मियामीस्थित आफ्नो होटलमा प्रवेश गर्दा लबीमा देखिएको दृश्यले उनीहरूलाई झन्डै विश्वास नै लागेन । त्यहाँ दर्जनौं मानिस उनीहरूका लागि ताली बजाउँदै र स्वागत गर्दै उभिएका थिए । त्यो पनि हारपछि ।
कम्तीमा निकट भविष्यका लागि टोलीका लागि धेरै कुरा फरक हुनेछन् भन्ने पहिलो संकेत यही थियो । पहिले उनीहरुलाई खासै चिनिँदैनथ्यो, अहिले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा लियोनेल मेसी र अर्जेन्टिनालाई लगभग प्रतियोगिताबाट बाहिर पठाउने अवस्थासम्म पु¥याएको थियो, यद्यपि अन्ततः अतिरिक्त समयमा ३–२ ले पराजित भयो ।
‘अब आराम गर्ने र भविष्यबारे सोच्ने समय आएको छ,’ केप भर्डेका गोलरक्षक भोजिन्हाले भने, ‘तर म टोलीको प्रदर्शनप्रति अत्यन्त गर्व गर्छु र भविष्यमा हामी अझ ठूला उपलब्धि हासिल गर्न सक्ने आशा गर्छु ।’
अर्को शब्दमा भन्नुपर्दा, उनको आशा छ, यो विश्वकपमा देखाइएको कौशलले केही बीउ रोपिएको छ । आफ्नो पहिलो विश्वकपमा केप भर्डेले चार खेलमा ० जित, १ हार र ३ बराबरीको नतिजा निकाल्यो, जुन कागजमा राम्रो देखिँदैन । यस प्रतियोगिताका ४८ टोलीमध्ये दुईतिहाइभन्दा बढीले कम्तीमा एउटा खेल जिते तर केप भर्डेले जित्न सकेन तर त्यो नतिजाले सबै कथा खुलाउँदैन ।
समूह चरणको पहिलो खेलमा उसले स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो, जसले नकआउट चरण पुग्ने सम्भावना वास्तविक बनाएको थियो । त्यसपछि उरुग्वेविरुद्ध २–२ को बराबरीले टोलीलाई अघिल्लो चरणको संघारमा पु¥यायो अनि साउदी अरेबियाविरुद्ध ०–० को बराबरीले अन्तिम–३२ मा स्थान सुरक्षित गरायो ।
अर्जेन्टिनाका खेलाडी र प्रशिक्षकहरूले पनि केप भर्डेविरुद्ध सहज जितको अपेक्षा नगरेको बताएका थिए । खेल सकिएपछि सर्वकालीन महान् खेलाडीमध्ये एक मानिने मेसीले पनि कमजोर मानिएको प्रतिद्वन्द्वीको खुलेर प्रशंसा गरे ।
‘कतिपयले यो खेल सजिलो हुने सोचेका थिए, तर वास्तविकता त्यस्तो थिएन,’ मेसीले शुक्रबारको खेलपछि भने, ‘उनीहरूले हामीमाथि निकै राम्रो दबाब बनाए । नकआउट फुटबलमा कसैलाई पनि सहज अवसर हुँदैन । उनीहरूले स्पेन र उरुग्वेविरुद्ध पनि राम्रो खेलेका थिए, त्यसैले यो कठिन हुने हामीलाई थाहा थियो ।’
अर्जेन्टिनाका लागि त्यो जित निकाल्न वास्तवमै कठिन भयो । केप भर्डेका लागि भने आफ्नो यात्रा यहीँ समाप्त भएको स्वीकार गर्न पनि त्यत्तिकै कठिन भयो तर जब उनीहरू होटलको लबीमा प्रवेश गरे, उनीहरूको स्वागत विजयी नायकहरूको जस्तै भयो । टोलीका प्रशिक्षक बुबिस्टाले खुसीमा आफ्नो मुठ्ठी उठाए । धेरै खेलाडी मुस्कुराउन छाड्न सकेनन् । भोजिन्हाले केहीसँग हात मिलाए र केही तस्बिर पनि खिचाए ।
उनीहरू चर्चित व्यक्तित्व बनिसकेका थिए । झण्डै रक स्टारजस्तै । स्कोरले खास अर्थ राखेन । तीन साताको त्यो यात्राले केप भर्डेलाई विश्व फुटबलको नक्सामा स्थापित गरेको तथ्यले भने अर्थ राख्यो ।
‘मैले हाम्रो टोलीलाई मैदानमा देखाएको अथक प्रयास र साहसका लागि धन्यवाद मात्र भन्न सक्छु,’ बुबिस्टाले भने, ‘र मलाई लाग्छ, उनीहरूले यस प्रतियोगिताका लागि जे गरे, त्यसका लागि सबैले उनीहरूलाई धन्यवाद दिनुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्