नेभिगेशन
खेलकुद

बालोगुन प्रकरणले फिफामाथि गम्भीर प्रश्न

विश्वकप फुटबलको नकआउट चरण सुरु भएसँगै अमेरिकी फरवार्ड फोलारिन बालोगुनको रातो कार्ड निलम्बन अन्तिम समयमा हटाउने निर्णयले प्रतियोगिताको इतिहासमै दुर्लभ कानुनी र राजनीतिक विवाद जन्माएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष हस्तक्षेपपछि फिफाले बालोगुनलाई बेल्जियमविरुद्धको अन्तिम १६ को खेल खेल्न अनुमति दिएपछि बेल्जियम, यूईएफए तथा विभिन्न प्रशिक्षक र पूर्वखेलाडीहरूले निर्णयको कडा आलोचना गरेका छन् । 
बेल्जियम फुटबल संघले खेलअघि नै बालोगुनको योग्यतामाथि औपचारिक चुनौती दर्ता गर्दै प्रतियोगिताको निष्पक्षता र नियमको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ ।
२५ वर्षीय अमेरिकी स्टार बालोगुनले बोस्निया–हर्जेगोभिनाविरुद्ध २–० को जितमा विपक्षी डिफेन्डर तारिक मुहरेमोभिचको खुट्टामा स्टड लाग्ने गरी ट्याकल गरेपछि भिडियो समीक्षा पश्चात् रेड कार्ड पाएका थिए । विश्वकपको नियमअनुसार रेड कार्डपछि कम्तीमा एक खेलको स्वतः निलम्बन हुने व्यवस्था छ । त्यसैले उनी बेल्जियमविरुद्ध खेल्न नपाउने निश्चितजस्तै मानिएको थियो ।
तर खेल सकिएलगत्तै राष्ट्रपति ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर उक्त रातो कार्ड पुनरावलोकन गर्न आग्रह गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यसको केही दिनमै फिफाले अनुशासन समितिको निर्णय सार्वजनिक गर्दै बालोगुनको एक खेलको प्रतिबन्ध तत्काल लागू नगरी एक वर्षको ‘प्रोबेसन’मा राख्ने निर्णय ग¥यो । यदि उनले आगामी एक वर्षभित्र उस्तै प्रकृतिको गम्भीर उल्लंघन गरे मात्र पुरानो प्रतिबन्ध पनि लागू हुने फिफाले जनाएको छ ।
निर्णय सार्वजनिक भएपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत ‘ठूलो अन्याय सच्याएकोमा फिफालाई धन्यवाद’ भन्दै स्वागत गरे । अमेरिकी टोलीका प्रशिक्षक मौरिसियो पोचेटिनोले पनि टोलीले पहिले नै ३० मिनेट १० खेलाडीमा खेलेर पर्याप्त सजाय भोगिसकेको भन्दै फिफाले न्यायपूर्ण निर्णय गरेको प्रतिक्रिया दिए । उनका अनुसार बालोगुनको ट्याकलमा कुनै खराब नियत थिएन र रातो कार्ड अत्यधिक कठोर निर्णय थियो ।
अमेरिकी कप्तान क्रिश्चियन पुलिसिकले पनि प्रतियोगिताभर यसभन्दा गम्भीर चुनौतीहरू कारबाहीबिनै छुटेको उल्लेख गर्दै बालोगुनको घटनामा रातो कार्ड आवश्यक नरहेको बताए ।
यता बेल्जियमले भने फिफाको निर्णयलाई फुटबलको इतिहासमै खतरनाक नजिरको संज्ञा दिएको छ । बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले ‘आज जुलाई ५ होइन, अप्रिल १ जस्तो लागेको छ’ भन्दै व्यंग्य गरे । उनले राजनीतिक दबाबका आधारमा अनुशासनात्मक निर्णय परिवर्तन हुन थाले खेलको विश्वसनीयता समाप्त हुने चेतावनी दिए ।
बेल्जियम फुटबल संघले आफूलाई निर्णयको पूर्ण विवरणसमेत नदिइएको आरोप लगाएको छ । संघका अनुसार उनीहरूले फिफासँग निर्णयको प्रतिलिपि र कानुनी आधार माग्दा उल्टै त्यसलाई अपिलका रूपमा व्याख्या गरी केही घण्टाभित्र प्रक्रिया पूरा गर्न निर्देशन दिइयो । आवश्यक कागजात नदिई अपिल अस्वीकार हुने अवस्था सिर्जना गरिएको भन्दै संघले यसलाई पारदर्शिता विपरीतको व्यवहार भनेको छ । संघले खेलको नतिजा जे भए पनि प्रतियोगिताको नैतिकता र निष्पक्षताको रक्षाका लागि सबै कानुनी विकल्प प्रयोग गर्ने जनाएको छ ।
युरोपेली फुटबल महासंघ (यूईएफए)ले पनि फिफामाथि आक्रामक हुँदै ‘यस विषयमा नियम व्याख्याको विषय होइन’ भनेको छ । यूईएफएका अनुसार अनिवार्य एक खेलको प्रतिबन्ध प्रतियोगिताकै बीचमा हटाउनु खेलको अखण्डतामाथिको प्रहार हो । फिफाले नियमको निश्चितता कायम राख्न नसके प्रतियोगिताको विश्वसनीयता नै संकटमा पर्ने उसले चेतावनी दिएको छ ।
पूर्व फिफा अध्यक्ष सेप ब्लाटरले पनि सामाजिक सञ्जालमार्फत ‘रातो कार्ड राजनीतिक फोनबाट होइन, नियम र स्वतन्त्र न्यायिक निकायबाट मात्र उल्टिनुपर्छ’ भन्दै आलोचना गरेका छन् ।
यसैबीच युरोपेली आयोगका खेलसम्बन्धी आयुक्त ग्लेन मिकालेफले खेलसम्बन्धी निर्णय राजनीतिज्ञले होइन, खेल निकायले गर्नुपर्ने बताए । खेलमा राजनीतिक हस्तक्षेपले खेल संस्थाहरूको स्वतन्त्रता कमजोर बनाउने उनको टिप्पणी छ ।
फिफाले भने आफ्नो निर्णय अनुशासनात्मक नियमावलीको धारा २७ अनुसार गरिएको जनाएको छ । उक्त व्यवस्थाले न्यायिक निकायलाई कुनै सजाय पूर्ण वा आंशिक रूपमा स्थगित गरी दोषीलाई एकदेखि चार वर्षसम्मको प्रोबेसनमा राख्ने अधिकार दिएको उल्लेख छ । फिफाले यसअघि पनि क्रिस्टियानो रोनाल्डो, निकोलस ओटामेन्डी र मोइसेस काइसेडो लगायत केही खेलाडीको प्रतिबन्ध स्थगित गरिसकेको उदाहरण दिएको छ । यद्यपि ती निर्णयहरू विश्वकपको बीचमा अनिवार्य एक खेलको निलम्बन हटाउने स्तरका थिएनन् ।
नर्वेका प्रशिक्षक स्टोल सोलबाकेनले अब हरेक रातो कार्डपछि पुनरावलोकनको माग उठ्ने र नियम कार्यान्वयनमा असमानता बढ्ने चेतावनी दिएका छन् । इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले पनि अब पहेंलो कार्डसमेत विवादको विषय बन्ने हो भने त्यसको अन्त्य कहाँ हुने भन्ने प्रश्न उठाएका छन् ।
तीन गोलसहित प्रतियोगितामा अमेरिकाका सर्वाधिक सफल खेलाडी रहेका बालोगुन बेल्जियमविरुद्ध मैदान उत्रिए अमेरिकाले सन् २००२ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने लक्ष्य राखेको छ । तर खेल सुरु हुनुअघि नै उनको उपस्थितिभन्दा ठूलो बहस फिफाको निर्णय, राजनीतिक प्रभाव र विश्व फुटबलमा नियमको समान कार्यान्वयनको विषय बनेको छ । विवादको अन्तिम टुंगो अब फिफाको अपिल प्रक्रिया र आवश्यक परे कानुनी लडाइका लागि ‘कोर्ट अफ आर्टिब्युसन फर स्पोर्टसम्म पुग्ने सम्भावना देखिएको छ । (एजेन्सीहरु)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्