नेभिगेशन
प्रदेश

आन्दोलनमा कोमल वलीको होटल पनि तारो

प्रख्यात गायिका तथा एमाले नेतृ कोमल वलीको दाङ, तुल्सीपुरस्थित ‘कोमल होटल’ जेनजी आन्दोलनको क्रममा तारो बन्न पुगेको छ । गएको विहीबार होटल आगजनीमा परेको छ । सेवामूलक सानो होटल सञ्चालन गरेर गाउँलाई रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने, सबैलाई सँगसँगै समृद्धिको बाटोमा अघि बढाउने सपनाले होटल खोलिएको वलीले बताइन् ।

आफूले जोरजाम गरेको रकम र ऋणबाट यो होटल सञ्चालन गरेको उनले बताइन् । ‘रेडियो नेपालमा समाचार वाचन र गीत गाएर कमाएको पारिश्रमिकसँगै ऋण गरेर होटल उभ्याएकी थिएँ,’ उनले भनिन्, ‘यो होटल आफू पाँचतारे होटल वा अन्यसँग प्रतिस्पर्धा गर्न नभई प्राकृतिक सौन्दर्यका लागि होटल खोलेकी थिएँ ।’

होटल स्थानीय गाउँको रगतपसिनासँग जोडिएको बताउँदै उनले खरानी बनाइँदा चित्त दुखेको बताइन् । ‘यस्तो दुःखले उभ्याएको होटलको यो अवस्था बनाउने अवस्था कहिल्यै भलो हुने छैन,’ उनले भनिन् । सामान्य तर इमान्दार परिवारबाट हुर्किएकी वली सानैदेखि प्रतिभाशाली खेलाडी तथा गायिका हुन् । गीत गाएरै छात्रवृत्ति पाएर १० सम्म पढिन् । रेडियोमा गाएर पुरस्कृत भइन् ।

उनले स्मरण गराउँदै भनिन्, ‘समाचार वाचनमा आदर्श बन्ने अवसर पाएँ । देशविदेशले मेरो स्वरमार्फत नेपाललाई चिने । १८ वर्ष रेडियो नेपालमा सेवा गरेर राजनीति रोजेकी हुँ ।’ उनले राजनीति रोज्दा पनि सेवामुखी जीवन बिताउने संकल्प रहेको बताइन् ।

२०७४ सालमा राष्ट्रिय सभामा सांसद निर्वाचित भई चार वर्षे कार्यकाल बिताएकी वलीले भनिन्, ‘मेरो जीवन इमान र निष्ठामा अडिएको छ । मैले कहिल्यै भ्रष्टाचार गरेकी छैन । उपचार खर्चका नाममा सुविधा लिइनँ । आर्थिक प्रलोभनमा परेको छैन । कसैलाई टिकट काट्न लगाएको, चिया खाएको छैन ।’

‘आफू नेकपा एमालेमा परिवर्तन सम्भव हुन्छ भन्ने आशामा आबद्ध भएको तर कुनै दलमा आबद्ध हुनु नै भ्रष्ट हुनु हो ?’ उनले प्रश्न गरिन् । २०७९ मा आम निर्वाचनमा उठेकी उनले ३० हजार मत ल्याए पनि जित्न सकिनन् । तर त्यो नै जीवनको सबैभन्दा ठूलो प्रेरणा मानेको बताइन् । जेनजी क्रान्ति र परिवर्तनको नाममा युवाको ऊर्जामाथि गर्व रहेको बताउँदै उनले सोही नाममा गरेको यो आगजनी आन्दोलनको हिस्सा हो त भन्दै प्रश्न गरेकी छन् । 

माओवादीहरूले २०६१ सालतिर यसरी नै घर लुटेको, बम हानेर जलाएको र सात वर्षसम्म जग्गा कब्जा गरेको स्मरण गर्दै उनले प्रश्न गरेकी छन्, ‘मेरो घर ध्वस्त पार्नु र होटलमा आगो लगाउनु जेनजीको क्रान्ति हो ? ४० जना स्थानीयले पाएको रोजगारी खोस्नु परिवर्तनको मार्ग हो ? पानीको सेवा दिइरहेका ट्रक र मिनी टाटा जलाउँदा हात काँपेनन् ?’ 

यो कामले न त तुलसीपुरको हित भयो न त भविष्य उज्यालो बन्यो । अरुको पसिना रगत लुटेर कहिल्यै प्रगति नहुने भन्दै योजनाबद्ध गरिएको यो आगजनी अपराध भएको उनले बताइन् । आगजनीकर्तालाई उनले फेसबुकमा लेखेकी छन्, ‘जब जब मेरो गीत ‘तुल्सीपुरमा म जाँदाखेरि’ बज्छ, तिम्रा लुट्ने हात काँप्नेछन् । तिमीहरू पश्चातापले चिरिनेछौ । यो देश बाँकी रहनेछ, कानूनी शासन चल्नेछ र तिमीहरू कानूनको कठघरामा उभिनुपर्नेछ, जवाफ दिनुपर्नेछ ।’

उनले भनेकी छन्, ‘मेरो निष्ठा, मेरो इमान र मेरो सेवाभावमाथि प्रश्न उठाउने जो कोहीलाई इतिहासले धिक्कार्नेछ । मेरो सपना खरानी बनाउन सकिन्छ तर मेरो आत्मसम्मान र देशप्रतिको माया खरानी बनाउन सकिँदैन ।’

घटनापछि प्रहरीमा उजुरी दिएको र प्रहरीले क्षतिको विवरण संकलनसँगै मुचुल्का उठाएको वलीले बताइन् । सिसिटीभी क्यामेरामा केही युवाको अनुहार देखेको तर पछि क्यामेरा उनीहरूले फुटाएको पनि बताइन् ।

लुटेराहरूले कुर्सीदेखि प्लेट, ग्लास, रक्सी, बियर, चल्ला, कुखुरा, टर्की उठाएर लगेको पनि उनले बताइन् । उनले भनिन्, ‘शुक्रबार त्यहाँ सानोतिनो कार्यक्रम थियो र त्यस कार्यक्रमका लागि काट्न भनेर ल्याइएको खसी पनि लुटेराले लगे ।’

लुटेराहरूले १० वटा सिलिन्डर बोकेर लगेको पनि उनले बताइन् । उनले भनिन्, ‘बोक्न नसक्ने सामान उठाएर लगे, नसक्नेमा चाहिँ आगो लगाए ।’ यस्तो कार्य जेनजीले गरेको नभई कुनै स्वार्थी समूह भएको उनले बताइन् । उनले भनिन्, ‘केही अनुहार देखेका छौं, चिनेका पनि छौँ ।’

घरमा ढुंगामुढा गरेको र कोमल वली फाउन्डेशनको कार्यालय तोडफोड गर्न खोजेको पनि उनले बताइन् । घरमा सामान्य क्षति पुगे पनि आफूले शुरु गरेको उद्यमको क्षतिले भने चिन्तित बनाएको उनले बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्