नेभिगेशन
अर्थतन्त्र

गढीमाईका मेयरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को समनपुर घाटको बालुवा, गिट्टी र ग्राभेल उत्खनन तथा निकासी ठेक्कामा अनियमितता भएको ठहर गर्दै तत्कालीन नगरप्रमुख श्यामप्रसाद यादवसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 
गढीमाई नगरपालिकाले उक्त आव समनपुर नाकाको नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री तथा निकासीका लागि बोलपत्र आह्वान गर्दा  ठेक्का भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालिले ३ करोड २५ लाख रुपैयाँ कबोल गरी पाएको थियो । तर, सम्झौता गर्नुपर्ने सर्तअनुसार तोकिएको समयभित्र कबोलको सबै रकम दाखिला नगरेको आरोप छ । त्यसपछि पनि नियमविपरीत सम्झौता गरी उक्त कम्पनीलाई अस्थायी रूपमा उत्खनन तथा निकासीको अनुमति दिइएको दाबी आयोगले गरेको छ । अनुसन्धानबाट कम्पनीलाई एक महिनाका लागि १० हजार घनमिटर नदीजन्य पदार्थ उत्खननको अनुमति दिइएको भए पनि ५४ हजार ३५५ घनमिटर उत्खनन तथा निकासी गर्न दिइएको र त्यसबाट कम्पनीले ३ करोड ३२ लाख ६९ हजार ७८९ रुपैयाँ बराबरको लाभ लिएको आयोगले जनाएको छ ।
ठेक्काबापत बुझाउनुपर्ने रकममध्ये १ करोड ९ लाख ६३ हजार रुपैयाँ मात्र दाखिला गरिएको थियो । बाँकी २ करोड १५ लाख ३७ हजार रुपैयाँ तथा मूल्य अभिवृद्धि करबापत ४२ लाख २५ हजार रुपैयाँ गरी कुल २ करोड ५७ लाख ६२ हजार रुपैयाँ सरकारी राजस्वमा दाखिला नगरेएको पाइएको आयोगले जनाएको छ ।
यसबाट नेपाल सरकार तथा गढीमाई नगरपालिकालाई सोही बराबरको आर्थिक क्षति पुगेको आयोगको निष्कर्ष छ । यस प्रकरणमा नगरप्रमुख यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालि र कम्पनीका तर्फबाट कार्य गर्ने राधेश्याम साहलाई प्रतिवादी बनाइएको छ ।
आयोगले चारै प्रतिवादीविरुद्ध २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगो असुल, दोब्बर जरिवाना तथा सम्बन्धित कानुनी व्यवस्थाअनुसार थप सजायको माग गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा छ । विशेष अदालतमा मुद्दा दर्ता भएसँगै नगर प्रमुख यादव पदबाट निलम्बनमा परेका छन् । 
यसबारे नगर प्रमुख यादवले नगरपालिकाले निकालेको टेन्डरमा ठेकेदार राधेश्याम साहले १ करोड ३० लाख बराबरको धरौटी जम्मा गरेर काम सुरु गरेको र बाँकी रकम बैंक ग्यारेन्टी देखाएको बताए । पछि लेखाले जाँच गर्दा सो बैंक ग्यारेन्टी नक्कली देखिएकाले नगरपालिकाले नै प्रहरीमा उजुरी गरेर ठेकेदारलाई पक्राउ गरेको र कार्यपालिकाले धरौटी रकम जफत गरेर ठेक्का  पनि रद्द गरेको उनको दाबी छ । ‘गलत काम गर्ने ठेकेदारलाई हामीले कार्बाही गरेर थप राजस्व क्षति हुनबाट जोगायौं तर अहिले उल्टै हामीमाथि  अख्तियारले मुद्दा दर्ता गरेको छ,’ उनले भने, ‘कानुनी रूपमा हामीले कुनै गल्ती गरेका छैनौं । मुद्दा नै दर्ता भएपछि अब अदालतमा उपस्थित भएरै जवाफ दिन्छौं ।’ 

७८ लाख हिनामिनाको छुट्टै मुद्दा 
यसैगरी अख्तियारले गढीमाईकै लक्ष्मीपुर–धर्मपुरघाटको बालुवा, गिट्टी, ग्राभेलको आन्तरिक आय ठेक्कामा बुझाउनुपर्ने रकम नबुझाई राजस्व हिनामिना गरेको अर्को मुद्दा पनि विशेष अदालतमा दायर गरेको छ । दोस्रो मुद्दामा गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुर,  तत्कालीन लेखा प्रमुख कामेश्वर सहनी, भाग्यमणी कन्स्ट्रक्सन  कम्पनी प्रालि तथा उक्त कम्पनीका मुख्य व्यक्ति राधेश्याम साह प्रतिवादी बनाइएको छ । मुद्दामा जनही ७८ लाख १५ हजार बिगो, बिगोको दोब्बर जरिवाना र कैदको माग गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्