नेभिगेशन
प्रदेश

सर्लाहीका सीमा क्षेत्र तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’

सर्लाही । सुरक्षा प्रणालीलाई छलेर पारिका सामान वारि र वारिका सामान पारि गर्ने चलन सर्लाहीमा नयाँ थिएन, यसपटक केही महिना यता अवैध ओसारपसार अझ बढेको छ । खुला सीमाको फाइदा उठाउँदै अवैध ओसारपसार तीव्र बन्दै गएको छ। सर्लाहीका सीमा क्षेत्रलाई तस्करले अवैध कारोबारको ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग गरिरहेको बरामदीका दुई ठुला घटनाले देखाएको छ । 
आइतबार हरिपूर्वा–३ धनकौलमा गरिएको छापामारीमा करिब एक करोड रुपैयाँ बराबरका अवैध कपडा बरामद भएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्लाही भन्सार कार्यालयको संयुक्त टोलीले धनकौलका व्यापारी सत्यनारायण साहको घरमा छापा मार्दा दुई भ्यान, एक पिकअप र ९७ लाख १९ हजार ६ सय ३० रुपैयाँ बराबरका विभिन्न प्रकारका कपडा नियन्त्रणमा लिएको हो । डीआईजी विष्णुप्रसाद भट्टका अनुसार भारतबाट तस्करी गरी भण्डारण गरिएको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा अवैध भण्डारन गरेको भेटिएको हो । 
सुरक्षा निकायका प्रमुख फेरिए पनि सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ । सीमा क्षेत्रबाट करिब सात किलोमिटर उत्तरमा रहेको धनकौल गाउँमा तस्करीका सामान भण्डारण हुनु नै तस्करहरूको सञ्जाल कति संगठित छ भन्ने संकेत मानिएको छ ।
सर्लाहीका विभिन्न नाकाबाट छड, सिमेन्ट, चिनी, तेल, चामल, मलखाद, धान, सवारीसाधनका स्पेयर पाट्र्स, कुखुराका चल्ला, अण्डा, कस्मेटिक तथा खेलकुद सामग्री भन्सार छलेर नेपाल भिœयाइने गरेको छ । त्यसैगरी नेपालबाट भारततर्फ सुपारी, मरिच, मदिरा, अलैंची तथा चिनियाँ इलेक्ट्रोनिक सामग्री अवैध रूपमा निकासी हुने गरेको बताइन्छ । सर्लाहीको सीमा सुरक्षाका लागि दुई वटा सीमा सुरक्षा गुल्म र नौ वटा बीओपी छन् । केही सुरक्षा अधिकारी र तस्करबीचको मिलेमतोका कारण अवैध कारोबार नियन्त्रण चुनौतीपूर्ण बनेको आरोप सुरक्षा स्रोतकै छ । यद्यपि डीआईजी भट्टले मधेश प्रदेशको जिम्मेवारी सम्हालेपछि तस्करी सञ्जालविरुद्ध विशेष अभियान सञ्चालन गरिएको दाबी गरिएको छ ।
यसअघि असार ११ मा बलरा–२ हथियौल नाकाबाट भारतीय नम्बर प्लेटका चार पिकअप र एउटा नेपाली ट्रकमा लोड गरिएका करिब एक करोड रुपैयाँ बराबरका २४९ बोरा तरबुजाको बीउ पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्