नेभिगेशन
प्रदेश

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

चितवन । ध्रुवे भनिने जंगली हात्तीको दाह्रा काटेर छोटो बनाइने भएको छ । दुई वर्षअघि पनि उक्त हात्तीको दाह्रा काटिएको थियो । हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए । 
ध्रुवेले मान्छेमाथि आक्रमण गर्दै विभिन्न समयमा पच्चीस जनाको ज्यान लिएको मानिन्छ । गत शनिबार राति एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । उक्त घटनासहित २५ जनाको सोही हात्तीका कारण मृत्यु भएको अधिकृत पुर्जा पुनले बताए । पछिल्लो घटनायता उक्त हात्तीका गतिविधि निकुञ्जले निरन्तर निगरानी गरिरहेको छ ।
ध्रुवेले मेघौलीको गोलाघाटस्थित सामुदायिक वनको गेटमा हिर्काएर सोमबार साँझ स्थानीय दुई घरको अन्न खाएको थियो । ‘हामी तयारी अवस्थामा छौं, भेटिनासाथ ‘डार्ट’ गर्छौं, त्यसपछि दाह्रा काट्ने र नयाँ रेडियो कलर लगाउने तयारी छ,’ पुर्जाले भने । यसअघि लगाइएको रेडियो कलरले समयमा सूचना दिन नसक्ने भएपछि नयाँ जडानको गरिने भएको हो ।
हात्तीलाई लगाउने रेडियो कलर निकुञ्जमा आइसकेको छ । उक्त उपकरण जडानपछि हात्ती बस्ती पसेको सूचना पाएसँगै स्थानीयलाई समेत खबर गरेर सतर्कता अपनाउन सहज हुनेछ ।
गत शनिबार राति ध्रुवेले भरतपुर–२३ मा २१ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो । राति अचानक जंगलबाट आएको ध्रुवेलाई धपाउन आशिकाका श्रीमानले आगो बाल्न खोज्दा घर नै जलेर नष्ट भएको थियो । आक्रमण गरी भागेको ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको थियो ।
विसं २०७४ मा नेपाली सेनाका एक सेनानीलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झन्डै नौ वर्षपछि ती दुई आमाछोराको ज्यान लिएको हो । चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रूपमा परिचित ध्रुवेले २०६८÷६९ सालताका दैनिकजसो मान्छेको ज्यान लिन थालेपछि मार्न आदेश दिइएको थियो ।
त्यस हात्ती २०६९ सालको कात्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चार जनाको ज्यान लिएपछि स्थानीय प्रशासनले मार्ने निर्णय गरेको थियो । २०६६ माघदेखि मान्छेलाई आक्रमण गरेर ज्यान लिन थालेको ध्रुवेले २०६९ सालसम्म आइपुग्दा १५ जनाको ज्यान लिसकेको थियो । ध्रुवेको घाँटीमा पटकपटक रेडियोकलर जडान गर्ने र दाह्रा काट्ने गरिँदै आएको छ ।

निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवेलगायत नाम दिइएका जंगली भाले हात्ती छन् । निकुञ्जका पोथी हात्ती यिनै भाले हात्तीबाट प्रजनन हुँदै आएका छन् । प्रमुख संरक्षण अधिकृत पुर्जा पुनका अनुसार निकुञ्जभित्र ४५ देखि ५० वटा जंगली हात्ती  छन् । अन्य हात्तीले त्यस क्षेत्रमा दुःख दिएका छैनन् । निकुञ्ज, विपद् व्यवस्थापन समितिलगायतका सरोकारवाला संघसंस्था मिलेर हात्तीले भत्काएपछि आगोसमेत लागेको घर पुनर्निर्माण गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्