नेभिगेशन
दृष्टिकोण
पाठक मञ्च

महँगीको मारमा आमनागरिक

बजारमा वर्तमान समयमा आमनागरिकले भोग्नुपरेको सबैभन्दा पीडादायी विषय अत्यासलाग्दो बजार महँगीतर्फ सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छु । पछिल्लो समय बजारमा खाद्यान्न, तरकारी, खानेतेल, औषधिदेखि लिएर दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि आकाशिएको छ । 
सर्वसाधारणको आम्दानीको स्रोत ठप्पप्रायः छ वा संकुचित हुँदै गइरहेको छ, तर बजारको मूल्यसूची भने दिनप्रतिदिन उकालो लागिरहेको अवस्था छ । बिहान–बेलुकाको छाक टार्न धौ–धौ पर्ने निम्न र मध्यम वर्गीय परिवारका लागि यो महँगी केवल आर्थिक भार मात्र होइन, यसले बाँच्न पाउने नैसर्गिक अधिकारमाथिको गम्भीर प्रहार भएको छ ।
बजारमा मूल्यवृद्धि हुनुको पछाडि अन्तर्राष्ट्रिय कारण वा इन्धनको मूल्यलाई मात्र दोष दिएर सरकार आफ्नो जिम्मेवारीबाट उम्किन कदापि मिल्दैन । वास्तविक समस्या बजारमा व्याप्त चरम कालोबजारी, कृत्रिम अभाव, बिचौलियाहरूको बिगबिगी र फितलो सरकारी निरीक्षण तथा अनुगमन नै हो । किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउने तर उपभोक्ताको भान्छासम्म आइपुग्दा त्यही वस्तुको मूल्य आकाशिने गरेको छ । यो विडम्बनापूर्ण अवस्था बिचौलियाहरूको सिन्डिकेट र एकाधिकारकै परिणाम हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग जस्ता नियामक निकायहरू मौसमी र चाडबाड केन्द्रित अनुगमनमा मात्र सीमित देखिन्छन् । 
उपभोक्ता मञ्चहरू केवल विज्ञप्ति निकाल्ने र गोष्ठी गर्ने कार्यमै अलमलिएका छन् । आमउपभोक्तालाई बजारको यो निर्मम लुटबाट जोगाउन राज्यले बाह्रै महिना प्रभावकारी, आकस्मिक र कडा कानुनी कारबाहीसहितको बजार अनुगमन संयन्त्र परिचालन गर्न आवश्यक छ ।  
दैनिक उपभोग्य वस्तुहरूको अधिकतम खुद्रा मूल्य निर्धारण र कार्यान्वयनमा कडाइ गरिनुपर्छ । कागजी तथ्यांकमा आर्थिक सूचकांकहरू जतिसुकै सकारात्मक देखिए पनि जबसम्म आमनागरिकले बजारमा सहुलियत र राहत महसुस गर्न सक्दैनन्, तबसम्म देशमा नागरिक सरकार भएको आभास हुँदैन । 
तसर्थ, सरकारले बेलैमा होस पु¥याई बिचौलियाहरूको सञ्जाल भत्काउन र बजार मूल्य नियन्त्रण गरी उपभोक्तालाई श्वास फेर्ने वातावरण बनाउन ढिला गर्नुहुँदैन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्