नेभिगेशन
विश्व

इरानसँगको युद्धविराम समाप्तः ट्रम्प

अंकारा, (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको बताएका छन् । अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दाबी सार्वजनिक भएका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।
    टर्कीको राजधानी अंकारामा जारी नाटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्धविराम अब आफ्नो दृष्टिमा समाप्त भइसकेको स्पष्ट पारे । उनले इरानी नेतृत्वमाथि कडा टिप्पणी गर्दै तेहरानसँग अब वार्ताको कुनै औचित्य नरहेको धारणा व्यक्त गरे ।
    ट्रम्पले इरानसँग थप सम्झौता गर्न चाहना नरहेको बताउँदै तेहरानले आणविक हतियार प्राप्त गरे त्यसको प्रयोग गर्न पछि नपर्ने आरोप पनि लगाए । उनले इरानी नेतृत्वलाई अविश्वसनीय र हिंसात्मक प्रवृत्तिको भएको आरोप लगाउँदै आफू अब उनीहरूसँगको वार्तालाई समयको बर्बादी ठान्ने बताए ।
    उनले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनर इरानसँग सम्पर्कमा रहे पनि वार्ता पुनः सुरु गर्ने कि नगर्ने निर्णय अब तेहरानकै हातमा रहेको उल्लेख गरे ।
    ट्रम्पले जुन १७ मा वासिङ्टन र तेहरानबीच भएको युद्धविरामसम्बन्धी सहमतिलाई इरानले पटक–पटक गलत रूपमा प्रस्तुत गरेको आरोपसमेत लगाए । उनका अनुसार दुवै पक्षबीच इरानले आणविक हतियार विकास नगर्ने विषयमा सहमति भए पनि इरानले त्यसलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएको छ ।
    ट्रम्पको युद्धविराम समाप्त भएको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले बढेको छ र यसले मध्यपूर्वको पछिल्लो तनावले विश्व ऊर्जा बजारमा समेत असर पार्न थालेको संकेत गरेको छ ।
तनावबीच नेटो शिखर सम्मेलन सुरु
मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकी कारबाहीका बीच नेटो सदस्य राष्ट्रका नेताहरू बुधबार अंकारामा उच्चस्तरीय वार्ताका लागि भेला भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य सदस्य राष्ट्रबीच रक्षा खर्च, गठबन्धनप्रतिको प्रतिबद्धता तथा युक्रेन युद्ध प्रमुख एजेन्डाका रूपमा रहेका छन् ।
    शिखर सम्मेलन सुरु हुनुअघि नाटो महासचिव मार्क रुटले अमेरिकाको गठबन्धनप्रतिको प्रतिबद्धता पूर्ण रहेको बताउँदै युरोपेली सदस्य राष्ट्र र क्यानडाले पनि रक्षा खर्च बढाएर आफ्नो दायित्व पूरा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनले अमेरिकी प्रशासनको यही प्रमुख अपेक्षा रहेको उल्लेख गरे ।
    वार्ता सुरु हुनुअघि अमेरिकी सेनाले हर्मुज जलघाँटीमा जहाजमाथिको आक्रमणपछि इरानमा व्यापक सैन्य कारबाही गरेकाले मध्यपूर्वको तनाव शिखर सम्मेलनमा पनि मुख्य चासोको विषय बनेको छ ।
    टर्की पुग्नासाथ राष्ट्रपति ट्रम्पले राष्ट्रपति रेसेप तैयप एर्दोगनसँगको सम्बन्धको खुलेर प्रशंसा गरे । त्यसको विपरीत उनले फेरि नेटोप्रति असन्तुष्टि जनाउँदै केही सहयोगी राष्ट्रले इरान संकटका क्रममा पर्याप्त साथ नदिएको गुनासोसमेत गरे ।
    सतहत्तर वर्ष पुरानो नेटो गठबन्धन ट्रम्पले सदस्य राष्ट्रमाथि रक्षा खर्च बढाउन निरन्तर दबाब दिइरहेका बेला शिखर सम्मेलन भइरहेको हो । नेटोले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार युरोपेली सदस्य राष्ट्रहरूको रक्षा खर्च सन् २०२६ मा ११ प्रतिशतले बढेर ६३४ अर्ब अमेरिकी डलर पुगेको छ । यो अघिल्लो वर्ष ५७१ अर्ब डलर थियो ।
    ट्रम्पसँगको मतभेद कम गर्न सदस्य राष्ट्रहरूले मंगलबार अर्बौं डलर बराबरका नयाँ हतियार खरिद सम्झौता सार्वजनिक गरेका छन् । महासचिव रुटले यसलाई सहयोगी राष्ट्रहरूले आफ्नो सुरक्षा जिम्मेवारी बढाउँदै गएको प्रमाण र अमेरिकी राष्ट्रपतिका लागि ठूलो उपलब्धिका रूपमा वर्णन गरे ।
    यसैबीच ट्रम्पले ग्रिनल्यान्ड अमेरिकाको नियन्त्रणमा हुनुपर्ने आफ्नो पुरानो धारणा पुनः दोहो¥याएका छन् । त्यसको जवाफमा डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रिनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पारिन् ।
    शिखर सम्मेलनको अर्को महŒवपूर्ण विषय युक्रेन युद्ध पनि बनेको छ । ट्रम्पले युद्धरत दुवै पक्ष वार्तामार्फत समाधान खोज्न इच्छुक रहेको विश्वास व्यक्त गरे । उनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेटवार्ता गर्ने तथा त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पुनः संवाद गर्ने योजना रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् । युरोपेली राष्ट्र र क्यानाडाले सन् २०२६ र २०२७ मा युक्रेनलाई वार्षिक ७० अर्ब युरो बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता पनि दोहो¥याएका छन् ।
    ट्रम्पले शिखर सम्मेलनका क्रममा सिरियाका राष्ट्रपति अहमद अल–सारासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । गृहयुद्धपछि अन्तर्राष्ट्रिय सम्बन्ध पुनःस्थापित गर्ने प्रयास गरिरहेको सिरियाका लागि यो भेटलाई महŒवपूर्ण मानिएको छ ।
    टर्कीसँगको रक्षा सहकार्यबारे पनि सकारात्मक संकेत दिँदै ट्रम्पले अंकारामाथि लगाइएका अमेरिकी प्रतिबन्ध हटाउने र एफ–३५ लडाकू विमान बिक्रीको सम्भावनाबारे विचार गर्ने बताए । सन् २०१९ मा रूसबाट रक्षा प्रणाली खरिद गरेपछि टर्की एफ–३५ कार्यक्रममा सहभागी हुनबाट रोकिएको थियो ।
    राष्ट्रपति एर्दोगनले दुई देशबीचको रक्षा विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्