नेभिगेशन
प्रदेश
प्रशासकीय अधिकृतमाथिको आक्रोस केन्द्र सरकारसँग

मौलापुरमा बालेनको पुत्ला दहन

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर बिजुली–पानीको भुक्तानी रोकेको आरोप लगाउँदै स्थानीयले प्रधानमन्त्री वालेन्द्र शाहको पुत्ला जलाएका छन् । बिहीबार उल्लेख्य संख्यामा सडकमा भेला भएका स्थानीयले सरकारले जानाजान प्रमुख प्रशासकीय अधिकृतलाई प्रयोग गरेर नगरवासीले वर्षौदेखि पाउँदै आएको सुविधा नदिएको भन्दै प्रदर्शन गरे । 
प्रदर्शनकारीले ‘बिजुली–पानीको भुक्तानी गर,’ ‘सर्वोच्च अदालतको आदेश पालन गर,’ ‘मौलापुरलाई हाकिमविहीन बनाउने मन्त्री प्रतिभा रावल राजीनामा गर,’ ‘नगरपालिकाको बजेट फ्रिज गराउन पाइँदैन’ लगायतका नारा लगाउँदै टायर बालेर दिनभर नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरे । 
प्रदर्शनकारीमध्येका ठागा दासले आफूहरूलाई मौलापुर नगरपालिकाले बत्तीपानीको पैसा भुक्तानी वर्षदेखि गर्दै आएको तर यसपटक प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले ‘दिन मिल्दैन’ भनेर रोकेर अन्याय गरेको बताए । स्थानीय तहबाट पाएको सुविधा केन्द्र सरकारको नियम बताएर रोक्क गरिएपछि आफूहरु आन्दोलित भएको उनको भनाइ छ ।
‘बालेन सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नआएर बाहिर बाहिरै बसिरहन्छ । उनी नआउँदा हाम्रो मौलापुरको सबै काम रोकेको छ । सरकारले अर्को हाकिम पनि पठाउँदैन र पठाएको हाकिम पनि अफिस आउँदैनन् । हामीमाथि बालेन सरकारले अन्याय गरिरहेको छ,’ उनको आरोप छ । 
अर्का प्रदर्शनकारी ऋषि साहले आफूहरूको माग पुरा नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिँदै प्रमुख प्रशासकीय अधिकृतले जनताको पैसा रोक्न नहुने बताए । 
मौलापुर नगरपालिकाका प्रमुख रीनाकुमारी साहले प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नआउँदा आर्थिक कारोबार सबै रोकएको बताउँछिन् । उनका अनुसार अधिकृत घिमिरे चैत १६ गतेदेखि नगरपालिकामा सरुवा भएर हाजिर भए पनि आजसम्म जम्मा २० दिन मात्र कार्यालयमा उपस्थित भएको रेकर्ड छ । 
असार ११ गतेदेखि घिमिरे कार्यालयमा नआएकाले नागरिकका सबै भुक्तानीहरु रोकिएको उनको भनाइ छ । ‘पुरानो प्रमुख प्रशासकीय अधिकृत नगरपालिका नै आउँदैनन् । त्यसैले बालेन सरकारलाई हामी पटक–पटक नयाँ अधिकृत पठाउन आग्रह ग¥यौं, तर सरकारले सुनेको छैन,’ उनले भनिन्, ‘जनताको सबै काम रोकिएको छ । बजेट फ्रिज हुने अवस्था सृजना भएको छ । यसको जिम्मा बालेन सरकारले लिनुपर्छ ।’
उनले घिमिरेले आफ्नो फोन पनि नउठाएको र नगरसभाले निर्णय गरेका भुक्तानी पनि स्वीकृत नगरेको जनाउँदै मौलापुर नगरपालिकालाई असफल बनाउन लागिपरेको आरोप लगाइन् । सर्वोच्च अदालतले मौलापुर नगरपालिकाका निःशुल्क विद्युत् र खानेपानीलगायत जनमुखी कार्यक्रमको भुक्तानी नरोक्न अन्तरिम आदेश दिए पनि प्रमुख प्रशासकीय अधिकृतको अभावमा भुक्तानी रोकिएकाले स्थानीय बालेन सरकार विरुद्ध आक्रोशित भएर पुत्ला जलाएको उनको भनाइ छ ।
बजेट ल्याउन ढिला गर्ने पालिकाको नेपाल सरकारले आजदेखि भुक्तानी बन्द गरिदिने भएकाले मौलापुर घानमा परेर धेरै बजेट फ्रिज हुने चिन्ता उनले व्यक्त गरिन् ।
उता प्रमुख प्रशासकीय अधिकृत घिमिरे सुशासनसम्बन्धी एउटा सार्वजनिक कार्यक्रममा आफूलाई नगरप्रमुखले अनावश्यक भुक्तानी गर्न दबाब दिने भएकाले नगरपालिकामा काम गर्न असहज भइरहेको गुनासो पोखेको भिडियो सामाजिक सञ्जालमा छ । कार्यक्रममा उनले दबाबमा परेर भुक्तानी गर्दा आफू अख्तियार लगायतको कारबाहीमा पर्ने चिन्ता राखेका छन् । उनले भने भने, ‘विधि विधान मिचेर भुक्तानी गर्न सकिँदैन ।’ नगर प्रमुख साह र उनका श्रीमान आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वितरणमुखी बजेटमा लगानी गर्ने र बिना कार्यविधि भुक्तानी गराउन दबाब दिने गरेको घिमिरेले गुनासो गर्दै आएको उनी निकट कर्मचारीले बताएका छन् ।
उपसचिव घिमिरे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत चैत १९ को सरुवा तथा पदस्थापन निर्णयअनुसार मौलापुरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा पुगेका थिए । उनी वैशाख ३ मा कार्यालय पुगेका थिए । नियममै नमिल्ने योजना र खर्चको भुक्तानीका विषयमा सतर्क देखिएका उनी हाजिर भएदेखि नै काम गर्न असहज भएको बताइरहेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्