नेभिगेशन
प्रदेश

दुर्घटनामा तीनको मृत्यु, सात घाइते

कर्णालीमा तीन जनाको शव भेटियो

महेन्द्रनगर । बझाङमा शनिबार भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त केदारस्यूँ–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ जाँदै गरेको गाडी  दुर्घटनामा परेको हो । 
जिल्ला प्रशासन कार्यालय बझाङकी सूचना अधिकारी सत्याकुमारी जोशीले घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण अवतरण हुन नसकेको फोनमा बताइन । स्थानीय र सुरक्षाकर्मी उद्धार गरेका थिए । 
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले दुर्घटनास्थलमा सदरमुकाम चैनपुरबाट चार वटा एम्बुलेन्स परिचालन भएको बताए । जीपमा १५ जना सवार रहेका  जानकारी प्राप्त भएको उनले जानकारी दिए । 
कर्णालीमा तीन जनाको शव भेटियो
यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली नदीमा गाडीसँगै खसेर बेपत्ता चारमध्ये हालसम्म तीन जनाको शव भेटिएको छ । दैलेखका प्रहरीप्रमुख श्रवणकुमार विकका अनुसार दुर्घटनाको नौ दिनपछि अछामको तुर्माखाँद–२ जमगडामा पर्ने कर्णाली किनारमा पञ्चपुरी–८ माझीगाउँ सुर्खेतका तुलाराम सुवेदीको शव भेटिएको हो । 
यसअघि पचालझरना–९, कालिकोटका ६२ वर्षीय मेखे तिरुवा, रास्कोट–२, खड्कागाउँ, कालिकोटकी १८ वर्षीया सिर्जना खड्काको शव भेटिएको थियो । कर्णालीमा खसेर हराएका सुवेदीका सहोदर भाइ तथा सहचालक रामप्रसाद सुवेदी र फोर्स गाडी अझै फेला परेका छैनन् । सुवेदी र गाडीको खोजीमा गोताखोर टोली, सशस्त्र, नेपाल प्रहरी र नेपाली सेना परिचालन भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्