नेभिगेशन
प्रदेश

नवजात छोरीका नाममा १० हजारको मुद्दती खाता

पोखरा । बागलुङ नगरपालिकाले लैंगिक विभेद न्यूनीकरण र छोरीहरूको सुरक्षित भविष्यका लागि सञ्चालन गर्दै आएको ‘नगरकी छोरी’ कार्यक्रमको रकम आगामी आर्थिक वर्षदेखि शतप्रतिशत वृद्धि गरेको छ । सञ्चालनमा रहेको यो कार्यक्रमअन्तर्गत उपलब्ध गराइँदै आएको आर्थिक सहायतालाई आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत दोब्बर बनाउने निर्णय गरिएको हो । 
छोरीप्रतिको परम्परागत सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउन, भ्रुण हत्या नियन्त्रण गर्न र महिला सशक्तीकरणलाई जगैदेखि बलियो बनाउन नगरसभाबाट यो नीति पारित गरिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नवजात छोरीका नाममा अब नगरपालिकाले १० हजार रुपैयाँको मुद्दती खाता उपहारस्वरूप खोलिदिने छ । ५ हजार दिइँदै आएको कार्यक्रममा शतप्रतिशत वृद्धि गरिएको हो ।
नगरप्रमुख श्रेष्ठका अनुसार हालसम्म ३०० जना छोरीका नाममा ५÷५ हजार रुपैयाँका दरले १५ लाख रुपैयाँ जम्मा गरिएको छ । खातामा जम्मा गरिएको रकम खातावाल छोरीको उमेर २० वर्ष नपुगेसम्म निकाल्न पाइँदैन ।
१९ औं नगरसभामा प्रस्तुत गरिएको बजेट तथा कार्यक्रममा उक्त रकमलाई शतप्रतिशत वृद्धि गरी आगामी साउनदेखि प्रतिछोरी १० हजार रुपैयाँ पु¥याइएको हो । बजेट वक्तव्यमा यस कार्यक्रमको निरन्तरता र रकम वृद्धिको विषयलाई प्राथमिकताका साथ समेटिएको छ । सामाजिक विकास क्षेत्र अन्तर्गत विनियोजित यस कार्यक्रमले नगर क्षेत्रका विपन्न तथा लक्षित वर्गका छोरीहरूको शैक्षिक र सामाजिक सुरक्षामा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।
यसले बालविवाह न्यूनीकरण गर्न र छोरीहरूलाई उच्च शिक्षा हासिल गर्न आर्थिक रूपमा सक्षम बनाउने दीर्घकालीन लक्ष्य राखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्