नेभिगेशन
प्रदेश

माइखोला बेलासेमा बेलीब्रिज

फिक्कल (इलाम) । इलाम सदमुकामबाट झापाको व्यापारिक केन्द्र विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजंघा सडक (मेची करिडोर) अन्तर्गत माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न भएको छ । इलाम गरपालिका–११ को सोयाक र माइ नगरपालिका–९ को चिसापानी जोड्ने माइखोला बेलासेमा चालु आर्थिक वर्षमा संघ सरकारको १ करोड ११ लाख २८ हजार ९२३ रुपैयाँको लागतमा बेलीब्रिज जडान सम्पन्न भएको हो ।
सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार माइखोला बेलासेको बेलीब्रिज जडानसँगै सवारी आवागमन सञ्चालनमा आइसकेको छ । १८० फिट लम्बाइ र १४ फिट चौडाइको उक्त बेलिब्रिज निर्माणको जिम्मा बिबी–मेरिस्का–मल्लिका–साइना जेभीले पाएको थियो । भारत सरकारबाट अनुदानस्वरुप प्राप्त भएको बेलिब्रिज निर्माणका सामग्री भारतीय प्राविधिक आएर जडा गरेका थिए । यहाँको पक्की पुल गत असोज १८ गतेको वर्षासँगै आएको बाढीले भाँचेपछि बेलीब्रिज जडान गरी आवागमन खुलाइएको प्रमुख भट्टराईले बताए । पुल भाँचिएपछि सडक डिभिजन कार्यालयले हिउँदयाममा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरेको थियो । 
बेलीब्रिज जडान भएपछि ताप्लेजुङ र पाँचथरका विभिन्न क्षेत्रबाट इलामको नेपालटार–मंगलबारे हुँदै झापा जान र झापाबाट पाँचथर र ताप्लेजुङ फर्कन यातायात व्यवसायी र यात्रीलाई सहज भएको छ । मेची राजमार्गअन्तर्गत इलाम–९ माइखोलास्थित राजदुवालीमा दैनिकजसो सडक अवरुद्ध हुन थालेपछि अधिकांश यातायात व्यवसायीले यो मार्ग प्रयोग गर्न थालेका छन् । 
पाँचथरको रविबाट झापाको विर्तामोड गाडी चलाउँदै आएका चालक सुमन रम्तेलले बेलिब्रिज जडानसँगै व्यवसायीलाई राहत मिलेको बताए । ‘मेची करिडोरको राजदुवाली एरियामा पानी पर्नासाथ बाटो छेकिन्छ । हैरानी खेप्नु परिरहेको थियो भने जोखिम पनि उत्तिकै छ,’ उनले भने, ‘यो सडक सञ्चालन भएपछि हामीलाई सहज भएको छ ।’
यस्तै, मेची कोरिडोरअन्तर्गत पुवाखोलामा पनि बेलीब्रिज राख्ने तयारी छ । इलाम–९ गोलाखर्क र वडा ११ सोयाक जोड्ने पुवाखोलामा बेलीब्रिज जडानका लागि भौतिक संरचनाहरू तयार भइसके जनाउँदै सडक डिभिजन कार्यालयका कार्यालयका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले निर्माणका सामग्री ढुवानी गरी जडान गर्न बाँकी रहेको जबनकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्