नेभिगेशन
दृष्टिकोण
पाठक मञ्च

युवा स्वदेश फर्काउने सरकारी दाबी गफमै सीमित

दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली युवाको आँसु र रगतको लाम लागेको बेला सरकार भने विदेशिएका युवा स्वदेश फर्काउँछौँ भन्दै गफ हाँकिरहेको छ । 
दैनिक हजारौँ ऊर्जाशील युवा देश छाड्न बाध्य भइरहेको तीतो यथार्थलाई ढाकछोप गर्दै बालेन सरकारले गरिरहेको यो दाबी पूर्ण रूपमा मिथ्या र नागरिकको आँखामा छारो हाल्ने दुष्प्रयासमात्र हो । देशमै बसेर गरिखान्छु भन्ने युवाका लागि यो देश कतिसम्म क्रूर र निष्सासिँदो बनेको छ भन्ने कुराको पछिल्लो सजीव र वीभत्स उदाहरण मुगुका २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाह हो ।
राहदानी विभागअगाडि राहदानी बनाउने र लोकसेवाको तयारी गर्दै राइड सेयरिङ गरेर दुई छाक टार्न संघर्ष गरिरहेका गणेश नेपालीले राज्यकै संयन्त्रको ज्यादती, जरिबाना र गरिखान नदिने प्रवृत्तिका कारण विवश भएर आफ्नै शरीरमा पेट्रोल छर्किएर ज्यान फाल्नुप¥यो । 
यो केवल एउटा आत्महत्या होइन, देशको थिचोमिचो र गरिबमारा नीतिको परिणति हो । एकातर्फ युवा फर्काउने भन्दै ठूला–ठूला भाषण दिने, अर्कोतिर देशमै केही गर्छु भनेर संघर्ष गर्ने गरिब मजदुर र युवामाथि निर्मम जरिबाना र प्रताडना थुपारेर मर्न बाध्य पार्ने, सरकारको यो कस्तो नियत हो ? यहाँ युवाहरू रहरले होइन, राज्यको चरम लाचारी, भ्रष्टाचार र चरम बेथितिका कारण बाध्य भएर खाडी र मरुभूमिमा आफ्नो श्रम बेच्न विवश छन् । 
देशभित्र साना उद्यमी र श्रमजीवी वर्गलाई कर र जरिवानाको बोझले थिचिएको छ । योग्यता र क्षमता भएका युवाहरू लोकसेवाको फारम भर्दा समेत राजनीतिक भागबन्डा र नातावादको सिकार हुनुपर्ने बाध्यता छ । देशलाई वृद्धवृद्धाको आश्रम, युवाको मरुभूमि र लासहरूको लाम बनाउने खेलमा हरेक सरकार लागेका छन् । 
तसर्थ, सरकारलाई चेतावनी छ कि सस्तो लोकप्रियताका लागि झुटा र खोक्रा आश्वासन बाँड्न तुरुन्त बन्द गरियोस् । युवाहरूलाई देशमै राख्ने र फर्काउने हो भने पहिले सरकारले देशभित्र गणेश नेपालीहरूले ढुक्कसँग गरिखान पाउने वातावरण, सम्मानजनक रोजगारी, लगानीमैत्री नीति र विधिको शासन कायम गरेर देखाओस् । अन्यथा, इतिहासले यो सत्ताको लाचारी र युवाप्रतिको गद्दारीलाई कहिल्यै माफ गर्ने छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्