नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

आत्मदाहमा जोडिएको गम्भीर प्रश्न

नेपाली समाजमा पछिल्लो पटक बढ्दो निराशा, बेरोजगारी र गरिबीका कारण गम्भीर प्रकृतिका घटनाहरू घटिरहेको अवस्था छ । युवाहरूमा सबैभन्दा बढी निराशा देखिएको छ । युवाहरूमा मुलुक छाडेर जसरी पनि विदेश नै जाने मनसाय र अवस्था देखिएको छ, यो पक्कै पनि नेपाली समाजको गम्भीर अवस्था हो । मुलुकमा शासन सत्ताहरू फेरिए, शासक फेरिए तर शासन सत्ताले जनतामा आशा र विश्वास दिलाउन सकेनन् । युवाले देशभित्र रोजगारी र गरिब परिवारका युवाले काम गर्ने वातावरण देखेनन् । नेपाली समाजमा पछिल्लो पटक आत्मदाहको घटना डरलाग्दो समाचारका रूपमा सार्वजनिक भइरहेको छ । काम नपाएर बेरोजगारी र गरिबीका कारण युवाले ज्यान फ्याँक्ने अवस्था बढिरहेको छ । यो नेपाली समाजका लागि निकै नै चिन्ता र चासोको विषय हो ।
मुगुका २५ वर्षीय युवा गणेश नेपालीले आत्मदाह गरेर जीवन अर्पण गरे । पछिल्लो समय युवाहरू रोजगारीका लागि राइड सेयर गर्ने क्रम निकै बढेको छ । 
राहदानी विभागअगाडि राहदानी बनाउने र लोकसेवाको तयारी गर्दै राइड सेयरिङ गरेर दुई छाक टार्न संघर्ष गरिरहेका गणेश नेपालीले राज्यकै संयन्त्रको ज्यादती, जरिबाना र गरिखान नदिने प्रवृत्तिका कारण विवश भएर आफ्नै शरीरमा पेट्रोल छर्किएर ज्यान फाल्नुप¥यो । यो आजको अवस्थामा निकै पीडादायी र कारुणिक घटना हो । नेपाली समाजका लागि यो एउटा प्रतिनिधिमूलक घटना हो । गणेश जस्तै देशका विभिन्न क्षेत्रमा रहेका नेपाली युवाका आत्मदाहका घटनाहरू सार्वजनिक भइरहेका छन् । 
नयाँ सरकारले पनि विपन्न र गरिब परिवारलाई सम्बोधन गर्न सकेन । सरकारको नीति र बजेटमा गरिब लक्षित कार्यक्रम आउन सकेन । बेरोजगारीको अवस्थालाई सम्बोधन गर्ने कार्यक्रम र योजना आउन सकेन । विशेष गरी गरिब र उपेक्षित वर्ग र समुदाय लक्षित आउन सकेन । एकातर्फ युवा फर्काउने भन्दै ठूला–ठूला भाषण दिने, अर्कातिर देशमै केही गर्छु भनेर संघर्ष गर्ने गरिब मजदुर र युवामाथि निर्मम जरिबाना र प्रताडना थुपारेर मर्न बाध्य पार्ने अवस्था रहनु विडम्बना हो ? आज पनि युवाहरू रहरले होइन, राज्यको चरम लाचारी, भ्रष्टाचार र चरम बेथितिका कारण बाध्य भएर खाडी र युद्धग्रस्त देशहरूमा पनि काम गर्न जान बाध्य छन् ।  

राज्यप्रति जनताको विश्वास टुट्नु भनेको निकै नै डरलाग्दो अवस्था हो । त्यसमा पनि युवाहरू झन् बढी निराश देखिएको अवस्था छ । मुलुकमा रास्वपा नेतृत्वको नयाँ सरकार छ, उसले जनताको आशा र विश्वासलाई कायम राख्न सक्नुपर्छ । 
राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले पेस गरेको नीति र बजेटमा पनि गरिब र कमजोर वर्गलाई समेट्ने कार्यक्रम र योजना समेट्न सकेन भन्ने जनस्तरमा व्यापक गुनासो छ । सरकारले सुकुम्वासी बस्तीमा गरको व्यवहार र शैली र होल्डिङ सेन्टरमा भएको व्यवस्थापनका कारण गरिब जनताको मन बिथोलिएको छ । पक्कै पनि राज्यले कतिपय काम गर्दा त्यसले जनस्तरमा पार्ने दूरगामी मानवीय र सामाजिक अवस्थालाई बुझन जरुरी हुन्छ । महानगर प्रहरीले गर्ने व्यवहार र उसको शैलीले आज सडकदेखि सदनसम्म गम्भीर चासोका रूपमा उठेको छ । महानगर प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिए पछि उनले आफनो शरीरमा पेट्रोल छर्किएर आत्मदाहको विद्रोह गर्ने अवस्था किन बन्यो र कसरी यो अवस्था आयो, यो घटना राज्यसत्ता र नेपाली समाजका लागि गम्भीर प्रश्नका रूपमा रहेको छ । 
जेनजी आन्दोलन नेपाली युवाको विद्रोह र समाजमा बढेको बरोजगारी र युवामा बढेको निराशाको आक्रोस थियो । किशोर तथा युवाहरूले सरकारका विरुद्ध सडकमा उत्रिए । शासन सत्ता बदलियो र नयाँ सत्ता बन्यो । जेनजी विद्रोह भयो र मुृलुकमा नेपाली जनताले नयाँ दल र सरकार रोजे । नयाँ सरकारले जनताको भावनालाई बुझन सक्नुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्