नेभिगेशन
विश्व

ओपनएआईविरुद्ध एप्पलको चोरी आरोप, मुद्दा दायर

कपरटिनो, (एजेन्सी) । संसारभर नै ख्याति कमाएको आईफोन निर्माता एप्पल कम्पनीले शुक्रबार च्याटजिपिटीका निर्माता ओपनएआई र त्यसका एक उच्च पदस्थ अधिकारीविरुद्ध मुद्दा दायर गर्दै एआई कम्पनीले प्रतिस्पर्धी उपकरण विकास गर्ने प्रयासका क्रममा व्यापारिक गोप्य सूचना चोरेको आरोप लगाएको छ ।
क्यालिफोर्नियाको नर्थ डिस्ट्रिक्ट जिल्ला अदालतमा दायर गरिएको उक्त दिवानी मुद्दामा ओपनएआईका प्रमुख हार्डवेयर अधिकारी ट्याङ टान र प्राविधिक टोलीका सदस्य चाङ लिउले विभिन्न तरिकाबाट एप्पलका गोप्य जानकारी लिएको आरोप लगाइएको छ । दुवै जना एप्पलका पूर्वकर्मचारी हुन् । उनीहरू पछि ओपन एआईमा गएका थिए ।
यस मुद्दाले सन् २०२४ मा च्याटजीपीटीलाई एप्पलको सिरी च्याटबोटसँग जोड्ने सम्झौता गरेपछि दुई कम्पनीबीचको सम्बन्ध कसरी बिग्रिएको छ भन्ने देखाउँछ । यसै महिना सार्वजनिक गरिएको एप्पलको नयाँ सिरी एआई भने गुगलको जेमिनी प्रविधिबाट सञ्चालित छ ।
टानले ओपनएआईको आफ्नै उपकरण विकास गर्ने प्रयासको नेतृत्व गरिरहेका छन् । यो कम्पनीका लागि महŒवपूर्ण रणनीतिक प्रयास हो ताकि एप्पलको आईफोनजस्ता अन्य कम्पनीका उपकरणमा निर्भर नभई उपभोक्तासम्म सिधै पुग्न सकियोस् ।
मुद्दामा टानले एप्पलका आपूर्तिकर्तासम्बन्धी जानकारी आफैंलाई इमेल गरेको र अझै एप्पलमै काम गरिरहेका जागिरका उम्मेदवारलाई अन्तर्वार्तामा ओपनएआई टोलीका लागि ‘देखाउने र छलफल गर्ने’ उद्देश्यले एप्पलका ‘वास्तविक पार्टपुर्जा’ ल्याउन निर्देशन दिएको आरोप लगाइएको छ ।
ओपनएआईका एक प्रवक्ताले भने, ‘हामीलाई अन्य कम्पनीका व्यापारिक गोप्य सूचनामा कुनै रुचि छैन । हामी विश्वभरका मानिसलाई सशक्त बनाउने नवीन प्रविधि विकासमै केन्द्रित छौं ।’ 
एप्पलले लिउमाथि एक पूर्वसहकर्मीको कम्प्युटर प्रयोग गरेर एप्पलको नेटवर्कमा रहेका सूचना लिएको आरोप लगाएको छ । एप्पलका अनुसार लिउले ‘हार्डवेयरसँग सम्बन्धित एप्पलका दर्जनौं गोप्य फाइल’ डाउनलोड गरेका थिए ।
मुद्दाअनुसार, लिउले ओपनएआईमा भर्ना गर्न खोजिरहेका ती पूर्वसहकर्मीलाई गोप्य फाइल प्रतिलिपि गर्दा ‘सुरक्षा टोलीको नजरबाट कसरी बच्ने’ भन्नेबारे पनि सुझाव दिएका थिए ।
टानले एप्पलमा २४ वर्ष काम गरेका थिए र उत्पादन डिजाइन टोलीमा वरिष्ठ कार्यकारीसम्म पुगेका थिए । उनले एप्पलका औद्योगिक डिजाइन प्रमुख जोनी आइभसँग मिलेर काम गरेका थिए । पछि टानले एप्पल छोडेर आइभको एआई उपकरण स्टार्टअप ‘आयो प्रोडक्ट्स’मा प्रवेश गरेका थिए । यो कम्पनी पछि ओपनएआईमा गाभिएको थियो । मुद्दामा आइभको नाम भने उल्लेख गरिएको छैन ।
ओपनएआई अहिले अन्य कानुनी दाबीहरूको पनि सामना गरिरहेको छ । कानमा लगाउने, स्क्रिनविहीन र आवाजबाट सञ्चालन हुने उपकरण विकास गरिरहेको स्टार्टअप ‘आयो’ले पनि व्यापारिक गोप्य सूचना चोरीको मुद्दा दायर गरेको छ ।
उक्त कम्पनीले गत वर्ष आफ्ना एक पूर्वइन्जिनियरले कम्पनीका फाइल चोरेर त्यसबेला आयो प्रोडक्ट्ससँग आबद्ध वरिष्ठ अधिकारी रहेका टानलाई दिएको आरोप लगाएको थियो । ओपनएआईले ‘आयो’का कुनै पनि कन्सेप्ट चोरी नगरेको र आफ्नो उपकरण स्टार्टअपको उत्पादनभन्दा फरक भएको बताएको छ ।
यस वर्ष ओपनएआईले एप्पललाई सम्झौता उल्लङ्घनको सूचना पठाउने विषयमा पनि विचार गरेको थियो । यसमा एप्पलले सन् २०२४ को सम्झौताअनुसार सिरीभित्र च्याटजीपीटीलाई प्रवर्धन गर्ने सर्त पूरा नगरेको आरोप लगाउने तयारी गरिएको थियो । यो जानकारी घटनाबारे जानकार एक व्यक्तिले दिएका हुन् ।
गत महिना क्यालिफोर्नियाको एक संघीय न्यायाधीशले इलोन मस्कको एक्सएआईले दायर गरेको मुद्दा खारेज गरेका थिए । उक्त मुद्दामा ओपनएआईले एक पूर्वइन्जिनियरलाई भर्ती गरेर उनलाई कम्पनीको ग्रोक च्याटबोटसम्बन्धी जानकारी बाँड्न उक्साएको आरोप लगाइएको थियो ।
सन् २०२३ मा द न्यूयोर्क टाइम्सले माइक्रोसफ्ट र ओपनएआईविरुद्ध मुद्दा दायर गर्दै आफ्ना सामग्री अनुमति बिना प्रयोग गरेर एआई उत्पादन तयार पार्न र प्रशिक्षण दिन प्रयोग गरेको आरोप लगाएको थियो । यसै साता द न्यूयोर्क टाइम्स र अन्य प्रकाशकहरूले संघीय न्यायाधीशसँग ओपनएआईमाथि कारबाही गर्न माग गरेका छन् । उनीहरूको आरोप छ, कानुनी प्रक्रियाका क्रममा ओपनएआईले प्रमाण लुकाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्