नेभिगेशन
विश्व

सुरक्षा चिन्ताले उपहार प्रयोग भएन

वासिङ्टन डीसी, (एजेन्सी) । राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीबाट अमेरिका फर्कंदा आफ्नो नयाँ विलासी विमान छोडेर पुरानो एयर फोर्स वन प्रयोग गर्नुपरेको थियो । यसको कारण नयाँ विमानमा केही महŒवपूर्ण प्रतिरक्षा (डिफेन्स) प्रणालीको अभाव रहेको र इजरायलले ट्रम्पको हत्या गर्ने सम्भावित योजनाबारे अमेरिकालाई दिएको गुप्तचर सूचनालाई मानिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
केही अधिकारीका अनुसार उक्त खतरा पूर्ण रूपमा विश्वसनीय भने ठानिएको थिएन । तर ट्रम्प त्यतिबेला इरान नजिकको क्षेत्रमा रहेका थिए र इरानसँगको तनाव फेरि चुलिँदै गएकाले सिक्रेट सर्भिस, ह्वाइट हाउसको सैन्य कार्यालय र केही राष्ट्रिय सुरक्षा अधिकारीहरूले कतार सरकारले उपहारस्वरूप दिएको तथा अमेरिकी वायुसेनाले परिमार्जन गरेको नयाँ विमान राष्ट्रपतिलाई सुरक्षित रूपमा स्वदेश फर्काउन पर्याप्त नभएको निष्कर्ष निकालेका थिए ।
यसै साता ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजहरूमा आक्रमण गरेपछि इरानविरुद्ध थप सैन्य कारबाहीको आदेश दिएका थिए । त्यसपछि तेहरानले अमेरिका वा उसका सहयोगीमाथि प्रतिशोध लिन सक्ने चिन्ता पनि बढेको थियो ।
ट्रम्प नयाँ परिमार्जित विमानमार्फत नेटोको शिखर सम्मेलनमा सहभागी हुन टर्कीको अंकारा पुगेका थिए । तर फर्किने क्रममा उनले विमान परिवर्तन गरे । उनी पुरानो एयर फोर्स वनबाट बेलायत पुगे र त्यहाँबाट पुनः नयाँ विमान चढेर वासिङ्टन फर्किए ।
बुधबार ट्रम्पले भने विमान परिवर्तन सुरक्षासम्बन्धी कारणले नभएको दाबी गरे । उनका अनुसार कतारबाट प्राप्त विमान बेलायतस्थित अमेरिकी सैनिकहरूले अवलोकन गर्न सकून् भनेर त्यहाँ लगिएको थियो ।
इरानबाट एयर फोर्स वनमाथि कुनै विश्वसनीय खतरा आएकोबारे सोधिएको प्रश्नमा ट्रम्पले आफूले ‘सधैं यस्ता धम्कीहरूको सामना गरिरहने’ र ‘इरानको निशानामा पहिलो नम्बरमा आफू नै रहेको’ बताए ।
ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले उक्त विलासी विमानमा राष्ट्रपतिको सुरक्षाका लागि ‘उच्चस्तरीय सुरक्षा प्रोटोकल’ जडान गरिएको बताएका छन् ।
द वाल स्ट्रिट जर्नलले बिहीबार इजरायलले ट्रम्पको हत्या गर्ने इरानी योजनासम्बन्धी नयाँ गुप्तचर सूचना अमेरिकालाई उपलब्ध गराएको जनाएको थियो । यसअघि द न्यूयोर्क टाइम्सले पनि सुरक्षा सावधानीका रूपमा ट्रम्प पुरानो एयर फोर्स वनबाट फर्किएको समाचार प्रकाशित गरेको थियो ।
यद्यपि केही अमेरिकी अधिकारीहरूले इजरायलले यस्तो सूचना अमेरिकालाई इरानविरुद्ध फेरि पूर्ण युद्धतर्फ फर्काउन प्रभाव पार्ने उद्देश्यले दिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनीहरूका अनुसार एउटा मात्र गुप्तचर सूचनाले सम्भावित खतराको आंशिक चित्र मात्र दिन्छ ।
ती अधिकारीहरूका अनुसार इरानले ट्रम्पलाई निशाना बनाए त्यसको प्रतिक्रिया स्वरूप अमेरिकाबाट अझ व्यापक सैन्य कारबाही हुन सक्ने कुरा राम्ररी बुझ्दछ ।
इजरायली दूतावासकी एक प्रवक्ताले भने अमेरिका–इजरायलबीचको घनिष्ठ साझेदारीका कारण मात्र गुप्तचर सूचना साझा गरिएको र त्यसमा कुनै लुकेको राजनीतिक उद्देश्य नभएको बताइन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
कतारको विमानलाई राष्ट्रपतिको सवारीका रूपमा रूपान्तरण गर्ने अमेरिकी सैन्य परियोजनाको नेतृत्व गरेका वायुसेना जनरल डेल ह्वाइटले यस वर्ष विमानको सुरक्षामा कुनै सम्झौता नगरिएको बताएका थिए । तर अमेरिकी वायुसेनाले जुन महिनामा सार्वजनिक गरेको विवरणमा सरकारले ‘कम प्रयोग हुने केही विशेष मिसन क्षमतामा केही सम्झौता (ट्रेड–अफ्स) गरिएको’ स्वीकार गरेको थियो ।
एयर फोर्स वनमा रहेका वास्तविक प्रतिरक्षा प्रणालीहरू भने गोप्य राखिएका छन् । ट्रम्पले राष्ट्रपति बनेपछि आफूले प्रयोग गर्नुपर्ने एयर फोर्स वनका विमानहरू धेरै पुराना र साना भएको गुनासो गरेपछि कतार सरकारले गत वर्ष यो बोइङ ७४७ विमान अमेरिकालाई उपहार दिएको थियो । पूर्व अधिकारीहरूका अनुसार सामान्य यात्रुवाहक विमानलाई उच्च जोखिमयुक्त वातावरणमा राष्ट्रपतिलाई सुरक्षित ढुवानी गर्न सक्ने स्तरमा रूपान्तरण गर्नु अत्यन्त जटिल इन्जिनियरिङ चुनौती हो ।
बाइडेन प्रशासनका समयमा अमेरिकी वायुसेना सचिव रहेका फ््र्यांक केन्डलका अनुसार एउटा बोइङ ७४७ लाई राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक सम्पूर्ण प्रतिरक्षा प्रणालीले सुसज्जित बनाउन तीनदेखि चार वर्षसम्म लाग्न सक्छ ।
उनले भने, ‘विमानमा धेरै ठूलो स्तरका संरचनात्मक परिवर्तन गर्नुपर्छ । यो सरल काम होइन । एउटा विमानलाई खाली खोल (बाकस) जस्तो मान्नुपर्छ, जसमा असंख्य विशेष प्रणालीहरू जडान गरेपछि मात्रै त्यो वास्तविक अर्थमा एयर फोर्स वन बन्छ ।’
हाल र पूर्वसरकारी अधिकारीहरूको अनुमान छ कि ट्रम्पले भविष्यमा विदेश भ्रमणका क्रममा कतारी विमानको प्रयोग सीमित गर्ने सम्भावना बढी छ । केन्डलले भने, ‘मलाई त यो विमान अमेरिकाभित्र मात्रै प्रयोग गरिने अपेक्षा थियो । त्यसैले यसलाई टर्कीसम्म लगिएको देख्दा म अलि आश्चर्यचकित भएँ ।’
अधिकारीहरूका अनुसार विमान परिवर्तन गर्ने निर्णयमा इरानबाट हुन सक्ने सम्भावित प्रतिशोधात्मक कारबाही र समग्र क्षेत्रीय द्वन्द्वको जोखिम पनि महŒवपूर्ण कारण बनेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्