नेभिगेशन
प्रदेश

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की । मोदी खोलाको बाढीले आइतबार तटीय क्षेत्रमा क्षति गरेको छ । कास्कीको अन्नपूर्ण–११ मा पर्ने किम्रुङ खोलामा  आएको बाढीले मोदी खोलाको सतह एक्कासि बढ्दा किनारका दुई घरमा क्षति पुगेको हो ।
बाढीले अन्नपूर्ण–८ र १० को सीमाना स्याउलीबजारमा रहेको दीलिप गुरुङको घर र होटल बगाएको छ । यसैगरी स्थानीय जगन पुनको रेष्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । उनका अनुसार मोदी खोलाको कटानका कारण नयाँपुल–घान्द्रुक सडक बन्द भएको छ । 
यसैगरी बाढीले किम्रुङ खोलामाथि रहेको झोलुंगे पुल पनि बगाएको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने उक्त पुल बगेसँगै स्थानीय बासिन्दा तथा स्वदेशी–विदेशी पर्यटकको आवतजावत प्रभावित भएको छ । गाउँपालिकाका अध्यक्ष केसीले किम्रुङ खोलामा लेदोसहितको बाढी आउँदा मोदी खोलामा पानीको सतह बढ्दा क्षति पुगेको बताए । 
स्थानीयका अनुसार नदीको माथिल्लो क्षेत्रमा पहिरो खसेर नदी थुनिएर एक्कासि खोलिँदा बाढी आएको अनुमान छ । स्थानीय प्रशासन तथा गाउँपालिकाले नदीको तटीय क्षेत्रका स्थानीयलाई अन्यत्र सुरक्षित स्थानमा स्थान्तरण गरेको छ । स्थानीय प्रशासनले विशेषगरी मोदीखोला आसपास र अन्य स्थानमा समेत बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान र आवश्यक परे सुरक्षित स्थानतर्फ जान अपिल गरेको छ ।
घटनापछि गाउँपालिका अध्यक्ष केसी, ११ नम्बरका वडाध्यक्ष हिमबहादुर गुरुङ, नेपाल प्रहरी, सशस्त्र तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को टोली घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन तथा आवश्यक व्यवस्थापनमा जुटेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । 
देशभर वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार दिउँसोदेखि रातिसम्म वर्षा भएको छ । वर्षासँगै काठमाडौंका वाग्मती, विष्णुमती, टुकुचा लगायतका नदी तथा खोलामा पानीको बहाव बढेको छ । लगातारको वर्षाका कारण दिउँसो नै राजधानीका विभिन्न सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित भएको थियो । केही स्थानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको भन्दै ट्राफिक प्रहरीले आवश्यक सतर्कता अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना छ । विभागले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहेको जनाएको छ ।
विभागले नदी तथा खोलाको आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुनसक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । अत्यावश्यक कामबाहेक जोखिमपूर्ण क्षेत्रमा आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न अनुरोध गरेको छ ।
भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडकमा समेत असर पर्न सक्ने भएकाले आवश्यक पूर्वसावधानी अपनाउन विभागले अपिल गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्