नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

रासायनिक मलको अभाव र सरकारको आश्वासन

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब २५ प्रतिशत रहेको छ । कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान २५ प्रतिशतको रहेको अवस्थामा पनि मुलुकको कृषि क्षेत्र उपेक्षित रहेको अवस्था छ । विडम्बना नेपाली किसान हरेक वर्ष धान रोपाइका समयमा रासायिनक मलको हाहाकारको समस्यामा पर्ने गर्छन् । आर्थिक सर्वेक्षणलाई आधार मान्दा पनि कृषिको योगदान धान खेतीको मात्र झण्डै ६७ प्रतिशत योगदान रहेको छ । नेपालमा ६७ लाख घर–परिवारमध्ये ४१ लाख घर–परिवार धान खेतीमा निर्भर रहेको अवस्था छ । मुलुकको अधिकांश कृषक धान खेतीमा आबद्ध रहेको अवस्था छ तर हरेक वर्ष कृषक धान खेतीका समयमा रासायनिक मलको अभावमा निकै सास्ती भोग्न बाध्य हुने गर्छन् । मुलुकको ठूलो जनसंख्या धान खेतीमा आबद्ध रहेको अवस्था छ । तर पनि सरकारले समयमै रासायनिक मलको आयात गर्न सकिरहेको छैन । रासायनिक मलको आयात र मल खरीद गर्ने विषयमा मल आयात कम्पनी, मल आयातमा संलग्न सरकारी कार्यालय, कृषि सामग्री केन्द्र, सरकारी तथा निजी कम्पनी पटक–पटक विवादमा मुछिएको अवस्था छ । यसपटक पनि सरकारले धान रोपाइका समयमा मल आयात गर्न सकेन । नेपाली कृषकलाई सरकारले वितरण गर्दै आएको सहुसलियतको रासायनिक मल प्राप्त गर्नबाट कृषक वञ्चित भए । 
हरेक वर्ष धान खेती लगाउने अर्थात् रोपाइका समयमा पनि कृषकलाई सरकारले सहुलियतपूर्ण तरिकाले रासायनिक मल उपलब्ध गराउन सकेको छैन । 
यो वर्ष पनि तराई, मधेश तथा देशभरका किसानले सहज रूपमा मल प्राप्त गर्न सकेका छैनन् । असार महिना सकिन लाग्दा पनि सरकारले सहज रूपमा मलको आयात गर्न नसक्दा किसान थप अन्योलमा परेका छन् । 
सरकारले किसान तथा सामान्य कृषि कर्म रहेका व्यक्तिहरूलाई रासायनिक मल समयमै उपलब्ध गराउन सकेन भने किसानको उत्पादन प्रभावित हुन सक्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी धोषणा कार्यक्रममा पनि कृषिको मुद्दालाई निकै प्राथमिकता दिएको देखियो । तर यतिबेला सरकारले समय–सीमाभित्र मलको आयात गर्ने अवस्था देखिएको छैन । समय–सीमाभित्र मलको आयात गर्न नसक्दा कृषि पेसामा आबद्ध किसान परिवार समस्यामा पर्न सक्ने अवस्था छ । किसानले खेती गर्ने समयमा सहज रूपमा रासायनिक मल प्राप्त गर्न नसक्दा समस्या थप जटिल बन्न सक्छ । 
सरकारले हरेक वर्ष कुल बजेटको ठूलो हिस्सा मलको आयातमा खर्चिने गर्दछ । तर मलको आयातलाई राज्यले व्यवस्थित गर्न नसक्दा कृषि क्षेत्रमा निराशा बढेको छ । सरकारले मुलुकको प्रमुख बाली धान उत्पादनलाई व्यवस्थिगत गर्न सकेको छैन । 
हाम्रो देशको प्रमुख बाली धान खेती नै हो । यो वर्ष पनि समयमा वर्षात नहुनु र किसानले रोपाइका समयमा रासायनिक मल प्राप्त गर्न नसक्ने अवस्था बनेकाले धान खेती प्रभावित हुने अवस्था छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस वर्ष किसानलाई मलको अभाव नहुने बताएकी थिइन् । तर जनताले सहज रूपमा रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । त्यसैगरी भारतसँगको खुला सिमानाबाट पनि कतिपय अवस्थामा मलको सहज आयात र आपूर्ति हुने अवस्था हुने गरेको देखिन्छ । अवैध नाकाबाट मलको आयात भइरहेका आवस्थामा सरकारले त्यस्तो अवस्थालाई नियन्त्रण गर्न कडा बाटो लिन सकेका देखिँदैन । सरकारले मलको आपूर्ति गर्न नसक्दा यो वर्ष पनि नेपाली किसानले भारतीय बजारबाट लुकीछिपी महँगोमा मल ल्याउन बाध्य छन् । सुरक्षाकर्मीका आँखा छलेर भारतीय बजारबाट मलको आयात गर्नु पक्कै पनि जोखिमपूर्ण कार्य हो । सरकारले खेतीका समयमा आफ्ना किसानलाई सहुलियतपूर्ण तरिकाबाट रासायनिक मलको वितरण गर्न सक्नुुपर्छ । आज रास्वपा नेतृत्वको सरकारले कृषि क्षेत्रको मुख्य बाली धान खेती अर्थात् रोपाइका लागि किसानको आवश्यकताअनुसार मलको आयात गर्न नसक्नु सरकारको कमजोरी हो । रासायनिक मलको व्यवस्थापन र वितरणका लागि सरकारले बलियो र सन्तुलित संयन्त्र निर्माण गर्न सक्नुपर्छ । किसानले आफ्नो देशमा मल नपाएर हो या भारतीय बजारबाट मल ल्याउनका लागि सक्रिय भएको अवस्थाप्रति सरकार गम्भीर हुन जरुरी छ । 
हरेक वर्ष रासायनिक मलको अभाव किन भइरहेको छ ? किन सरकारले समयमै रासायनिक मलको आयात गर्न सक्दैन । रासायनिक मलको आयात र व्यवस्थापनको विषयमा विभिन्न राजनीतिक दलहरूभित्र स्पष्ट नीति र योजना आवश्यक हुन्छ । रासायनिक मलको आयात र सहुलियतपूर्ण वितरणका लागि जिम्मेवार निकायहरू भने गम्भीर हुन सकेको देखिँदैन । रासायनिक मल खरिद गरी देशभर यसको वितारण गर्ने जिम्मा लिएका निकायहरू गम्भीर इमानदार नभएसम्म आम किसानले सहज रूपमा रासायनिक मल प्राप्त गर्ने वातावरण मिलाउन पहल गर्नुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्