नेभिगेशन
प्रदेश

पहाडी क्षेत्रमा वर्षा बढेसँगै सडकमा क्षति बढ्दो

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध बनेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा आज बिहानदेखि भइरहेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलामा पानीको बहाव बढेको हो ।
    बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र वडा नं १० को सिमाना सेउलीबजार नजिकै सडक कटान गर्दा घान्द्रुक जोड्ने सडक पूर्ण रूपमा बन्द भएको हो । यसैगरी सोही ठाउँमा रहेको स्थानीय दिपिल गुरुङको रेस्टुरेन्ट तथा घर पूर्ण रूपमा बगाएको छ भने जगन पुनको रेस्टुरेन्टमा पनि क्षति पुगेको छ ।
    कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत खोला किनारका स्थानीयका घरहरू बाढीको उच्च जोखिममा रहेका अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए । निरन्तर वर्षा भइरहेको र बाढी घट्ने सङ्केत नदेखिएको भन्दै उहाँले आवश्यक सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गरे । गुरुङको रेस्टुरेन्टबाट केही सामान स्थानीयको सक्रियतामा सुरक्षित स्थानमा सारिएको भन्दै उहाँले कुनै मानवीय क्षति भने नभएको जानकारी दिए ।
    सडक अवरुद्ध हुँदा पर्यटकीय गाउँ घान्द्रुक, लान्द्रुकलगायत ठाउँमा जाने सयौँ सवारीसाधन अलपत्र बनेका छन् । यसैगरी अन्नपूर्ण चक्रीय पदमार्गमा घुम्नका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित बनेका छन् । कतिपय यात्रु तथा पर्यटक पैदल हिँडेर गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ । तत्काल सडक खुलाउन सक्ने सम्भावना नरहेकाले केही समय आवागमन प्रभावित हुने प्रहरीले जनाएको छ ।
    मोदीखोलामा दिउँसो ३ बजेदेखि पानीको सतह बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत, जिल्ला प्रहरी कार्यालय पर्वत र मोदी गाउँपालिकाले तटीय क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मोदीखोला किनारमा बसोबास गर्नेहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरे । 
    यसैबीच खोलामा पानीको अत्यधिक बहाव बढ्दा मोदीखोलामा सञ्चालित चारवटै विद्युत् गृहले उत्पादन बन्द गरेका छन् ।मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी जलविद्युत् आयोजनाले उत्पादन बन्द गरेको तल्लो मोदी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेले जानकारी दिए । उनका अनुसार चारवटै विद्युत् गृहबाट उत्पादन बन्द हुँदा झन्डै ७४ मेगावाट विद्युत् प्रभावित बनेको छ । मोदीखोलाको पर्वत खण्डमा सुरक्षा सावधानी तथा आवश्यक जोखिम न्यूनीकरणका लागि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
बाढीले घर र रेष्टुराँ बगायो
यसैगरी कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित  किम्रुङ खोलामा हिजो आएको बाढीका कारण मोदी खोलाको पानीको सतह एक्कासि बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ ।
    बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा रहेको दीलिप गुरुङको घर र होटल पूर्ण रुपमा बगाएको छ । यसैगरी स्थानीय जगन पुनको रेष्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । उनका अनुसार मोदी खोलाको कटानका कारण नयाँपुल–घान्द्रुक सडक पूर्ण रुपमा बन्द भएको छ । 
    यसैगरी बाढीले किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुल समेत बगाएको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने उक्त पुल बगेसँगै स्थानीय बासिन्दा तथा स्वदेशी–विदेशी पर्यटकको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ । गाउँपालिकाका अध्यक्ष केसीले किम्रुङ खोलामा लेदोसहितको बाढी आउँदा मोदी खोलामा पानीको सतह बढ्दा क्षति पुगेको बताए । 
    “एक्कासि आएको बाढीका कारण मोदी खोलाले एउटा घर पूर्ण रुपमा बगाएको छ भने एउटा रेष्टुराँटमा क्षति पुगेको छ । पर्यटकीय गाउँ घान्द्रुक जाने सडक बगाएको छ,” अध्यक्ष केसीले बताए ।
    स्थानीयका अनुसार नदीको माथिल्लो क्षेत्रमा पहिरो खसेर नदी थुनिएर एक्कासि खोलिँदा बाढी आएको आँकलन गरिएको छ । स्थानीय प्रशासन तथा गाउँपालिकाले नदीको तटीय क्षेत्रका स्थानीयलाई अन्यत्र सुरक्षित स्थानमा स्थान्तरण गरेको छ । स्थानीय प्रशासनले विशेषगरी मोदीखोला आसपास र अन्य स्थानमा समेत बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान र आवश्यक परे सुरक्षित स्थानतर्फ जान अपिल गरेको छ ।
    घटनापछि गाउँपालिका अध्यक्ष केसी, वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को टोली घटनास्थलमा पुगेर क्षतिको विवरण सङ्कलन तथा आवश्यक व्यवस्थापनमा जुटेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्