नेभिगेशन
नेपाल

बैंकमा एक अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं (संवाददाता) – नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा निक्षेप पठाउने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नुपरेकाले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा एक अर्ब ३० करोड रुपैयाँ पठाउन लागेको राष्ट्र बैंकले सूचना जारी गर्दै जनाएको छ ।

केन्द्रीय बैंकले तोकेका शर्तहरू बैंक तथा वित्तीय संस्थाले निक्षेप लिन सक्नेछन् । त्यसका लागि भदौ ३० गते साँझ ७ बजेभित्र ब्याजदर सहित प्रस्ताव पेश गर्न सक्नेछन् । राष्ट्र बैंकले आगामी असोज ५ देखि २०८३ असोज ५ गतेसम्मका लागि निक्षेप पाउनेछन् ।

तोकिएका शर्तहरू पूरा गरेका वाणिज्य बैंकहरूमा १ अर्ब ४ करोड रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकमा १९ करोड ५० लाख रुपैयाँ र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ निक्षेप राख्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा भएको, न्यूनतम कुल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा, कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ । 

यस्तै, खुद तरल सम्पत्ति अनुपात तोकिएबमोजिम कायम रहेको, कर्जा निक्षेप अनुपात सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको, कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको, कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, यदि भएको भए सो फुकुवा भएको ६ महिना पुरा भएको हुनुपर्छ । 

यस्तै निक्षेप लिनका लागि सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको बैंक तथा वित्तीय संस्था हुनुपर्ने पनि केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्