नेभिगेशन
प्रदेश

न्याय माग्दै झरीमा पैदल मार्च

रौतहट । झमझम दर्के झरी परिरहेका बेला मिटरब्याजबाट पीडितहरू न्यायको माग गर्दै पैदल यात्रामा छन् । जनकपुरबाट हिँडेका उनीहरूको जुलुस पाँचौं दिन रौतहटको चन्द्रनिगाहपुरबाट अगाडि बढेको छ । 
असार २५ गतेदेखि सुरु भएको ‘मिटरब्याजविरुद्ध न्याय मार्च’ काठमाडौंसम्म पुग्ने लक्ष्यसहित अघि बढिरहेको हो । जनकपुरको तिरहुतियागाछीबाट सुरु भएको यात्रा आइतबार साँझ चन्द्रनिगाहपुर पुगेको थियो । स्थानीय सन्तानेश्वर धर्मशालामा रात बिताएपछि यात्राका सहभागी सोमबार बिहान पुनः काठमाडौंतर्फको यात्रा अघि बढेका हुन् । धर्मशालामा रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजाल र सशस्त्रका एसपी रामहरि अधिकारीले पुगेर पीडितहरूसँग भेटघाट तथा छलफल गरेका थिए ।
प्रधानमन्त्री वालेन्द्र शाहले पहिलो पटक संसदीय राजनीतिमा आएपछि भाषण गरेको स्थानबाट सुरु भएको यात्रा उनलाई भेटेर टुंगिने छ । यात्रामा सहभागीहरूको चाहना प्रधानमन्त्री साहलाई भेटेर आफ्नो दुःख सुनाउने र न्यायको लागि पहल गरिदिन आग्रह गर्ने रहेको छ । 
पीडितहरूका अनुसार साहुले अत्यधिक ब्याज असुल्ने, फर्जी कागजात तयार गराउने तथा घरजग्गा कब्जा गर्नेजस्ता कार्यबाट सयौं परिवार विस्थापित भएका छन् । सरकारसमक्ष प्रत्यक्ष रूपमा आफ्ना समस्या राख्न पैदल यात्रा गरिरहेको सहभागीले बताएका छन् । विगतमा पटक–पटक आन्दोलन, वार्ता र सहमति भए पनि समस्या समाधान नभएको भन्दै यसपटक भने सरकारले  आवाज सुन्ने अपेक्षा उनीहरूले गरेका छन् ।
संयुक्त जनअधिकार मोर्चा नेपालका संयोजक निर्गन नवीनले सरकारले पीडितहरूको वास्तविक अवस्था बुझेर न्याय दिनुपर्ने बताए । ‘विगतमा भएका सहमति कार्यान्वयन नभएकाले यसपटक प्रत्यक्ष रूपमा काठमाडौं पुगेर सरकारलाई दबाब दिनुपर्ने अवस्था आएको हो,’ उनले भने ।
यात्रामा रौतहटसम्म आइपुग्दा करिब तीन सय जनाको सहभागिता रहेको आयोजकको भनाइ छ । मार्च जुन जिल्लाबाट गुज्रन्छ, त्यहीँका पीडितहरू पनि क्रमशः यात्रामा सहभागी हुँदै गएका छन् ।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले सरकारसमक्ष ६ वटा मुख्य माग राखिएको जानकारी दिए । उनका अनुसार मिटरब्याजसँग सम्बन्धित तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन (छिनुवा) पास, फर्जी चेकलगायत सबै प्रकारका शंकास्पद तथा जबर्जस्ती गराइएका लिखतलाई मन्त्रिपरिषद्को निर्णयबाट अवैध घोषणा गर्नुपर्ने प्रमुख माग छ । त्यस्तै पीडितलाई न्याय दिलाउन विशेष कानुनी तथा प्रशासनिक व्यवस्था गर्नुपर्ने पनि माग रहेको उनले बताए ।
सिरहाकी कुलसुम खातुन भन्छिन्, ‘बालेनले हामीलाई जनकपुरमा भाषण गर्दा मेयर हुँदा न्याय दिन नसकेको प्रधानमन्त्री भएपछि दिन्छु भनेका थिए । त्यहीं विश्वासमा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताएर उनलाई प्रधानमन्त्री बनायौं । तर आज उनले आफ्नो वाचा बिर्सिएजस्तो लाग्यो । त्यहीं सम्झाउन हामी पैदल काठमाडौं हिडेका हौं ।’
महोत्तरीका विजयकुमार राय पनि प्रधानमन्त्रीलाई प्रत्यक्ष भेटेर आफ्ना पीडा सुनाउने उद्देश्यले काठमाडौंसम्म पैदल यात्रा गर्नुपरेको बताए । उनले पटक–पटक आवाज उठाउँदा पनि राज्यले बेवास्ता गरेकाले अब अन्तिम आशा प्रधानमन्त्री शाहसँग मात्रै बाँकी रहेको बताउँदै सरकारले चाहे न्याय पाउने विश्वास व्यक्त गरे । 
रौतहटकी बोधकुमारी गिरीले विगतका सरकारले सम्झौताको नाममा झुक्याएको आरोप लगाउँदै नयाँ सरकारले पनि अहिलेसम्म कुनै ठोस पहल नगरेको बताइन । जनकपुरमा प्रधानमन्त्रीले ‘अधिकार खोज्न काठमाडौं धाउनुपर्दैन, पशुपति दर्शन गर्न मात्र आउनु’ भन्ने अभिव्यक्ति दिएको स्मरण गर्दै उनले व्यवहारमा त्यसअनुसार काम नभएकाले बाध्य भएर संघीय राजधानीसम्म पैदल हिँड्नुपरेको गुनासो गरिन् ।
यात्रामा सहभागी अधिकांशका समस्या उस्तै छ । आर्थिक अभावका कारण ऋण लिँदा वास्तविक रकमभन्दा धेरै गुणा बढी रकम उल्लेख गरेर तमसुक बनाइएको, त्यसपछि साहुकारले घरजग्गा कब्जा गरेको र वर्षौंसम्म ऋण तिर्दासमेत ऋणमुक्त हुन नसकेको उनीहरूको भनाइ छ । आफूहरूले लिएको ऋणभन्दा धेरै गुणा रकम तिरिसक्दा पनि अदालतसम्म मुद्दा पु¥याएर घरजग्गा खोसिएको पीडा उनीहरूसँग छ । 
जनकपुरदेखि काठमाडौंसम्मको करिब २५० किलोमिटरभन्दा लामो यात्रामा सहभागीहरू गर्मी, वर्षा र थकानसँग संघर्ष गर्दै अघि बढिरहेका छन् । लगातारको पैदल यात्राका कारण धेरैको खुट्टामा ठेला उठेको, खुट्टा सुन्निएको, छाला फुटेको तथा ज्वरो, टाउको दुख्नेलगायतका स्वास्थ्य समस्या देखिएको छ । यद्यपि न्याय प्राप्तिको आशाले उनीहरू यात्रा नरोक्ने अडानमा छन् ।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन धनुषाका जिल्ला अध्यक्ष शम्भुप्रसाद यादवले राज्यका निकायले पीडितलाई संरक्षण गर्नुको सट्टा साहुकारकै पक्षमा उभिएको आरोप लगाए । ऋण लिँदा बढी रकमको कागज गराउने र तिर्दा नगद बुझाउने प्रचलनका कारण अदालतमा प्रमाण जुटाउन कठिन हुने उनले बताए ।
९५ हजार ऋण लिएर ३ लाख ५० हजार तिरिसक्दा पनि साहुले घरखेत अदालतमा मुद्दा हालेर खाइदिएको पीडा बोकेर न्यायको खोजीमा हिँडिरहेकी सिरहा लक्ष्मीपुरकी कागतदेवी दासलाई यो न्याय मार्चले सरकारलाई जिम्मेवार बन्न बाध्य पार्ने विश्वास छ । उनले भनिन्, ‘विगतका सरकारबाट पटक–पटक धोका पायौं । यसपटक आस छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्